मोदीलाई केजरीवालको संदेश: ‘तपाईं माफियाको पक्षमा लागेपनि हामीलाई गरीबको सेवा गर्न दिनुस्’ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मोदीलाई केजरीवालको संदेश: ‘तपाईं माफियाको पक्षमा लागेपनि हामीलाई गरीबको सेवा गर्न दिनुस्’



एजेन्सी- अहिले भारतमा दिल्ली सरकार र केन्द्र सरकारबीच वाक युद्ध नै चलेको छ। दिल्लीमा ‘घर-घर राशन’ पुर्‍याउने अरविन्द केजरीवाल सरकारको योजनालाई नरेन्द्र मोदी नेतृत्वमा रहेको केन्द्र सरकारले रोक लगाएपछि दुबै पक्षबीच आरोप-प्रत्यारोपको बाढी नै चलेको हो ।

आइतबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक पत्रकार सम्मेलन गरी मोदी सरकारमाथि गम्भीर आरोप लगाएका छन् । हरेक घरमा राशन (अत्यावश्यक खाद्यान्न) पुर्‍याउने योजनालाई रोकेर केन्द्र सरकारले माफियाको मद्दत गर्न खोजेको उनको भनाइ छ । सरकारको कदम गलत भएको पनि केजरीवालले बताए ।

‘यदि तपाईं (मोदी) राशन माफियाको पक्षमा उभिनु भयो भने गरीबको साथ कसले दिन्छ ?’ केजरीवालले प्रश्न गरेका छन् । पिज्जा बर्गर र स्मार्टफोनको होम डेलिभरी हुन सक्ने तर राशनको होम डेलिभरी किन नहुने भन्दै उनले मोदी सरकारप्रति प्रश्न गरेका छन् ।

दिल्ली सरकारले आगामी हप्तादेखि घर-घर राशन पुर्‍याउने काम सुरु गर्न लागेको र यसका लागि सबै तयारी भइसकेको अवस्थामा केन्द्र सरकारले अचानक रोक्नु गलत रहेको केजरीवालको भनाइ छ । ‘पिएम सर, यो योजनाका लागि राज्य सरकार सक्षम छ र हामी केन्द्रसँग कुनै विवाद चाहदैनौं’, उनले भने, ‘हामीलाई गरीबका लागि काम गर्न दिनुहोस् ।’

मोदी सरकारले केन्द्र सरकारबाट अनुमति नलिएकाले उक्त योजना रोकेको बताएको छ । तर यसका लागि केन्द्रबाट ५ पटक अनुमति लिएको केजरीवालको भनाइ छ । उनले भने-‘हामीले यसको नाम मुख्यमन्त्री घर-घर राशन योजना राखेका थियौं । तपाईंले योजनामा मुख्यमन्त्री नाम राख्न नमिल्ने भनेपछि नाम समेत बदल्यौं । तर अहिले आएर केन्द्रबाट अनुमति नदिएको भन्दै खारेज गर्नुभयो । जबकी यो योजनाका लागि हामीले ५ पटक अनुमति लिइसकेका छौं ।’

कोरोना संकटका बेला केन्द्र सरकारले सबैसँग झगडा गरिरहेको पनि केजरीवालको भनाइ थियो ।

‘यतिबेला देश निकै ठूलो संकटबाट गुज्रिरहेको छ । यो समय एकअर्काले हातेमालो गरेर मद्दत गर्ने बेला हो’, उनले भने, ‘संकटको बेलामा पनि केन्द्र सरकार सबैसँग झगडा गरेर बसिरहेको छ भन्ने मानिसलाई लागेको छ ।’

‘तपाईं लक्षद्धीपका मानिससँग झगडा गरिरहनु भएको छ….. दिल्लीमा मानिससँग लडिरहनु भएको छ । किसानसँग झगडा गर्नुभएको छ । मानिसहरु यस्तो कुराबाट निकै दु:खी बनेका छन्’, केजरीवालले थपे, ‘यसरी देश कसरी चल्छ ? यस्तो अवस्थामा हामी एक आपसमा लड्यौं भने कोरोनालाई कसरी जित्न सकिन्छ ?’