यौन दुराचारको आरोपिका लागि एमालेको नेतृत्व र महिला नेतृले के भनेर भोट माग्लान ? - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

यौन दुराचारको आरोपिका लागि एमालेको नेतृत्व र महिला नेतृले के भनेर भोट माग्लान ?



काठमाडौं- काठमाडौं महानगरपालिकामा नेकपा एमालेले विवादित व्यक्ति केशव स्थापितलाई मेयर पदको उम्मेदवार बनाएपछि एमाले र एमालेमा भएका महिला नेतृहरूको चर्को आलोचना हुन थालेको छ । एमालेमा भएका महिला हिंसा र यौन दुराचारको बारेमा बोल्ने नेताहरूमाथि आक्रोश पोख्न थालिएको छ ।

काठमाडौँ महानगरपालिकाको मेयर हुँदा उनले दुई युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्दै आएका स्थापितले यसबारे सामान्य टिप्पणी गर्दै आरोप लगाउनेहरूलाई नै पागल भन्न थालेपछि उनी झनै विवादित बनेका छन् । उनले उम्मेदवारी दिएकै दिन यौन दुर्व्यबहार नगर्ने र विवादमा नपर्ने हो भने केशव स्थापित कसरी बनिएला भन्ने आशयको टिप्पणी दिएका थिए ।

यौन दुराचार्मा मुछिएका उनलाई एमालेले फेरि उम्मेदवार बनाइएको र एमालेभित्र महिला हिँसाको वकालत गर्नेहरूको मुखमा एमाले नेतृत्वले झापड हानेक भन्दै सामाजिक सञ्जाल देखि चोकहरूमा व्यापक आलोचना भइरहेको छ ।

स्थापितमाथि यौन दुर्व्यवहारको आरोप लगाउने दुई युवतीमध्ये एक जना महानगरपालिकाकै पूर्व कर्मचारी र अर्की युवती भने पत्रकार थिइन् । यी दुईले स्थापितले आफूहरुलाई यौन दुर्व्यवहारको प्रयास गरेको आरोप लगाएका थिए । त्यतिमात्र होइन ती मध्यकी एक युवतीले स्थापितबाट कैयौँ महिला हिंसाको पिडित भएको तर बोल्न नसकेको बताएकी छन् ।

​स्थापितलाई एमालेले काठमाडौंको मेयर पदको उम्मेदवार बनाएपछि धेरैले यसप्रति चर्को असन्तुष्टि व्यक्त गरेका थिए । त्यसमाथि स्थापितले आफूमाथि लागेको यौन उत्पीडनको आरोपलाई निकै हल्का रुपमा लिएपछि सामाजिक सञ्जालमा उनी तट्रोल नै बनेका छन् ।

सामाजिक सञ्जालमा उनीविरुद्ध अभियान नै चलेको छ । कतिपयले एमालेका महिला नेतृहरूले यस्तो तमासा हेर्न कसरी सकेको भन्दै आलोचना गरेका छन् ।

बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्री पदमा रहेकै बेला स्थापितलाई तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले पदीय जिम्मेवारी नसम्हाली अमर्यादित ढंगले संसद र मन्त्रिपरिषदको बैठकमा प्रस्तुत हुने गरेको, मन्त्री तथा माननीय सांसदहरुलाई मर्यादित व्यवहार नगरेको र अपशब्द प्रयोग गर्दै अमर्यादित व्यवहार गरेको भन्दै पदबाट बर्खास्त गरेका थिए ।

स्थापितको लागि काठमाडौं महानगरमा घरदैलो तथा मत माग्ने कार्यक्रममा मतदाताले यस्तो प्रश्न गरे भने एमालेका नेताहरू तथा महिला नेतृहरूले के भनेर मत माग्लान यो पनि निकै रोचक हुने देखिएको छ ।

‘एमालेका महिला नेतृहरु कता लाग्नु भयो नि ? केशव स्थापितलाई अगाडि सारेको तमासा कसरी हेर्न सक्नुहुन्छ ?’ ट्वीटर प्रयोगकर्ता हिमाले भनेकी छन् ।‘एक राजनीतिज्ञ जसमाथि सार्वजनिक रुपमा यौन उत्पीडनको आरोप लागेको छ, उनी नेपालको राजधानी काठमाडौँको मेयर पदको उम्मेदवारको रुपमा कसरी उठ्न सक्छन् ? एक महिलावादी अभियानकर्ताले आरोपित उम्मेदवारलाई कसरी समर्थन गर्न सक्छिन् र कसरी उनी अन्तर्गत काम गर्छिन् ?’नेहा नामकी प्रयोगकर्ताले लेखेकी छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘राजनीतिज्ञद्वारा गरिएको यस्तो गम्भीर विषयलाई साधारण ठानिएकोमा अधिकारकर्मी र पीडितहरु अन्योलमा परेका छन् ।’सेमन्त दाहाल नाममा रहेको ट्वीटर ह्यान्डलबाट लेखेको छ, ‘केशव स्थापित : कृपया मलाई भोट गर्नुहोस् । सुनिता डंगोल : मि टु ?’

भनेकी छन्, ‘नेपालमा पनि सत्ता र शक्तिको दुरुपयोग गर्ने धेरै छन् । उनीहरुलाई नङ्ग्याउने यो नै सही समय हो : राजनीतिज्ञ, अभिनेता, मिडियाकर्मी, लेखक, व्यापारी…. तिनीहरु जताततै छन्,’ उनले लेखेकी छन्, ‘मैले गत वर्ष रातोपाटी र वर्ल्डपल्समा काठमाडौंका पूर्व मेयरले ममाथिको यौन उत्पीडनको प्रयासबारे एउटा लेख लेखेकी थिएँ । ती व्यक्तिले ममाथि यौन उत्पीडन गर्न नपाएपछि मलाई जागिरबाट निकालियो । तिनै व्यक्तिले एक महिला पत्रकारलाई पनि यौन उत्पीडन गरेको खबर सुनेँ । ममाथि यो घटना घटित भएको १५ वर्षभन्दा बढी भइसकेको छ र उनले अझै महिलामाथि यौनहिंसा गर्न छोडेका छैनन् ।’

स्थापितद्वारा उत्पीडनमा परेका लगभग दर्जनभन्दा बढी महिलालाई आफूले चिनेको दाबी पनि उनले गरेकी छन् । ‘तीमध्ये कोही त मसँग फेसबुकमा साथी पनि छन् । हामी आवाजबिहीन होइनौँ । हामीले अब हाम्रो आवाज बुलन्द र स्पष्ट रुपमा प्रस्तुत गर्न सक्छौँ,’ उनले लेखेकी छन्, ‘हामीले अब यसलाई रोक्न सक्छौँ र पूर्व मेयर तथा प्रदेश ३ का तत्कालीन भौतिक पूर्वाधार मन्त्री एक यौन दुराचारी हुन् भनेर संसारलाई जानकारी दिनुपर्छ ।’

उनले अर्को पोस्टमा लेखेकी छिन्, ‘एमालेले काठमाडौंमा मेयर हुने कोही योग्य व्यक्ति नपाएर एक यौन दुराचारीलाई उठाएको छ र पद पाउने भएपछि खुबै महिलाको वकालत गर्ने एक युवा महिला तिनै दुराचारीको मतियार बन्न तयार भए । छि, कति दुर्गन्धित राजनीति !’

यसका साथै अर्की ट्वीटर प्रयोगकर्ता भन्छिन्, ‘मिटुका आरोपित अनुभवीलाई साथ कहिल्यै दिन्नँ मचाहिँ सुनिता डंगोलजी । तपाईं स्वतन्त्र उठ्न लाग्दा गज्जब भनेकी थिएँ । मिटुका आरोपितको साथ लिएर राजनीति सुरु गर्नुभयो । युवाबाट मैलेचाहिँ यो अपेक्षा राखेकी थिइनँ । दुःखद् ।’

स्थापितमाथि यस्ता थुप्रै आक्रोश पोखिएको छ । कतिपयले त काठमाडौं महानगर यस्ता व्यक्तिको हातमा गएको खण्डमा के होला भन्दै अड्कलबाजी गरिरहेका छन् । खासमा एमाले नेतृत्व र यौन दुराचारको विषयमा बोल्नेहरूले यसबारे जवाफ दिने बेला आएको छ ।