कोरोनाका कारण सबैभन्दा जोखिममा खाडीका लाखौँ नेपाली: अवस्था चिन्ताजनक - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

कोरोनाका कारण सबैभन्दा जोखिममा खाडीका लाखौँ नेपाली: अवस्था चिन्ताजनक



काठमाडौँ – लाखौंको संख्यामा खाडी मूलुकमा रहेका नेपालीहरूको अवस्था चिन्ताजनक बनेको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण दर बढ्न थालेपछि उनीहरूको अवस्था चिन्ताजनक बनेको हो ।

कोरोना महामारी फैलिएपछि रोजगारीका लागि बिदेशिएका नेपालीहरूमध्ये खाडीमा सबैभन्दा जोखिमको स्थिति देखिएको छ। साउदी अरबमा दुई जना महिला सहित ३४ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

नेपाली महावाणिज्य दूतावास साउदीको कार्यालयकाअनुसार उनीहरुको इर्फान, जेद्दा नेशनल, किङ फाद, किङ अब्दुल्ला मेडिकल कम्पलेक्स अस्पतालमा उपचार भइरहेको छ ।

साउदीको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमित बिरामीको राष्ट्रियता नखुलाए पनि महावाणिज्य दूतावासको सम्पर्कमा ३४ जना नेपाली रहेको महावाणिज्य दूतावासले बतायो ।

बिरामी, कम्पनीको आधिकारिक प्रतिनिधि (पिआरओ) र चिकित्सकसँग नियमित सम्पर्कमा रहेको बताइएको छ । बिरामीमध्ये ५० वर्षीय एक कामदारलाई भने विशेष निगरानीका लागि आईसीयुमा राखिएको छ । अन्यलाई अस्पतालको सामान्य कक्षमा उपचार भइरहेको छ ।

३४ मध्ये २ जना निको भइसकेको छ । १८ जना अस्पतालमा छन् । १५ जना पनि निको हुने चरणमा रहेकोले अस्पतालबाट क्‍वारेन्टाइनमा सारिएको छ । संक्रमितमध्ये तीनवटा सप्लाई कम्पनीमा २१ जना, एउटा चक्लेट कम्पनीमा ९ र एउटा सुपरमार्केटमा ४ जना कार्यरत छन् ।

साउदीमा यसबाहेक पनि नेपाली संक्रमित छन् । राजधानी रियादस्थित नेपाली दूतावासको क्षेत्रधिकार पर्ने रियाद, दमाम, जुवेल, खोवरमा संक्रमित नेपालीको सख्या खुलाइएको छैन ।

हालसम्म साउदीमा संक्रमितको संख्या २५ हजार ४ सय ५९ जना पुगेको छ । जसमध्ये ३७ सय ६५ जनालाई निको भएको छ । एक सय ७६ जनाको मृत्यु भएको छ ।

त्यस्तै कुवेतमा शनिबार थप ३ नेपाली संक्रमित भएका छन् । योसँगै कुवेतमा संक्रमित नेपालीको संख्या ७७ पुगेको छ । कुवेतका जिलिप र महावुल्ला क्षेत्रमा बस्ने नेपाली बढी संक्रमित भइरहेको छ ।

‘संक्रमितको रिपोर्ट आएको चार दिन भयो । मलाई अस्पतालमा राखिएको छ’, एक नेपालीले भने,‘म कामदार ओसार्ने गाडी चलाउँदै आएको थियो । कसरी संक्रमित भए भनेर बुझेकै छैन ।’

अहिलेसम्म सबैभन्दा बढी बहराइनमा नेपालीको संक्रमितको सख्या १२६ जना पुगेको छ । मलेसियामा भने ३ संक्रमित छन् । कतारले भने अहिलेसम्म राष्ट्रियता खुलाएको छैन । कतारमा शनिबार ७ सय ७६ जना कोभिड–१९ का संक्रमित भएका छन् ।

कतारमा अहिलेसम्म एक लाख एक हजार ७ सय २८ जनाको कोरोना जाँच भएको छ । कतारमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

यता सरकारले अति समस्यामा परेकालाई नेपाल ल्याउन सकिने बताएपनि त्यसबारे पछिल्लो समय कुनै निर्णय भएका छैनन् । खाडी मुलुकमा नेपालीको संख्या धेरै भएकाले सबैको उद्दार गर्न तत्काल नसकिने परराष्ट्र मन्त्रालयले जानेको छ ।