खै गणतन्त्र ? महसुसै भएन ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

खै गणतन्त्र ? महसुसै भएन !



दिपक घिमिरे

गणतन्त्र भन्ने बित्तिकै हामी रास्ट्रपती शासनलाई बुझ्दछौ । राजाको ठाउमा राष्ट्रपती हुने ब्यबस्थालाई गणतान्त्रीक शासन ब्यबस्था भन्ने बुझियो । अनि लागियो राजा हटायर गणतन्त्र ल्याउने आन्दोलन तिर । त्यति बेला बिरेन्द्रको बंश नाश हुने गरि गरिएको हत्या अनि ज्ञानेन्द्रले चालेको तानाशाही कदमका बिरुद्ध पनि हामिले गणतन्त्रको पक्षमा आवाज उठायौ ।

राजतन्त्र फालेर गणतन्त्र ल्याउनु पर्छ भनेर भाषण गर्ने माओबादीका भाषणले जुरुक्क उठाउथ्यो अनि मुठ्ठी कसेर राजा बिरुद्ध एक्याबद्धता जनाउन मन लाग्दथ्यो । तर वास्तविक गणतन्त्र भन्या के हो भन्ने थाहा थिएन । मात्र राजा नहुने शासन नै गणतन्त्र हो भन्ने थियो ।
देश बिकासका लागि राजा हुनु या राष्ट्रपती हुनु बाधक हैन भन्ने बुद्धिजिबिहरु बाट धेरै पटक सुन्दथे । बेलायतमा राजसंस्था छ तर पनि चरम बिकाश छ , युरोपका धेरै देशहरुमा राजसंस्था छ तर पनि राम्रो बिकास छ । तर धेरै त्यस्ता देशहरु छन जहाँ गणतान्त्रीक शासन ब्यबस्था छ तर पनि पुरै भोकमरी , पुरै अशिक्षाले ग्रस्त ।

मेरो सामान्य बुझाईमा के थियो भने गणतन्त्र आएपछी हाम्रो देशले बिकाशको गति लिनेछ । हामी बिकसित राष्ट्रको तुलनामा जानेछौ । हामीपनि विश्वमा बिकसित राष्ट्रका नागरिकमा गनिनेछौ । लाग्थ्यो ! देश बिकाशको बाधक भनेको राजसंस्था हो ।

गणतन्त्र ल्याउन अन्धो भैयो , आन्दोलनमा प्रतक्ष्य या अप्रतक्ष्य रुपमा सहभागी हुने हरेकले बुझे कि अब राजा फालियो भने हामी नयाँ नेपाल श्रीजना गर्नेछौ । हामी आफ्नो छुट्टै अस्तित्व र पहिचान बनायर अगाडि बढनेछौ ।

देश बिकासको लागि राजसंस्था या गणतन्त्रले केही असर गर्दैन भन्ने थाहा हुदा हुँदै पनी नेपालको बिकासमा बाधक राजालाई देखियो । अनि आन्दोलन गरियो । जन(आन्दोलनको मुख्य उपलब्धीकै रुपमा गणतन्त्रलाई स्थापित गरियो । एउटा राजा फालेको दिनलाई हामिले गणतन्त्र दिवसको रुपमा मनाउन थाल्यो ।

हो आज त्यही दिनको बारेमा लेख्ने जाँगर चल्यो । गणतन्त्र आएपछी हामिले महसुस गरेको नयाँ नेपालको बारेमा कल्पना गर्न मन लाग्यो । एउटा राजा फालेर सयौ राजा पाल्न परेको ब्यथा सम्झिन मन लाग्यो । प्रत्यक पाँच बर्षमा फेरिने नयाँ राजाको बारेमा सोच्न मन लाग्यो । समग्रमा भन्दा एउटा राजा फालेर के पायौ त भन्ने कुरा आफैले आफैलाई सोध्न मन लाग्यो ।

उ बेलाको याद आउँछ ! काठमाण्डौं उपत्यका भित्र राजाको सवारी हुदा अथवा राजपरिवारका सदस्यको सवारी हुदा जनताले भोग्ने पीडा मैले प्रतक्ष्य देखेको छु , अझ भनौ भोगेको पनि छु । पुतली सडक बाट प्रदर्शनीमार्ग तर्फ जाँदै गरेका युबराज पारशको बाटो क्लियर गर्न ट्राफिकले गरेको जाममा म आफै पनि आधाघण्टा फसेको छु । एयरपोर्ट बाट निस्केकि महारानी कोमलको बाटो क्लियर पार्दै बसेको ट्राफिकले रोकेर एक घण्टा ट्राफिक जाममा म फसेको छु । त्यो देख्दा गणतन्त्रको पक्षधर भैइयो । बुझेरै या नबुझेरै ।

अहिले उस्तै ब्यबस्था । राष्ट्रपती हिडने बाटो राजाको सवारी भन्दा क्लियर हुन्छ । उप(राष्ट्रपती हिडदा पनि उस्तै । अझ मन्त्रीहरुको पनी माग उस्तै होला । गणतन्त्र भन्ने ब्यबस्था त सबैले आफुलाई राजा ठान्ने ब्यबस्था पो रहेछ भन्ने लाग्यो । सर्बसाधारणको लागि जुनसुकै ब्यबस्था आएपनी कागलाई बेल पाके जस्तै भयो । जनताको बलमा गणतन्त्र ल्याउनेहरु अहिले राजा बनेर हिडेको देख्दा लाग्छ “ किन मनाउने गणतन्त्र दिवस ? “

मैले गणतन्त्रको अपब्याख्या गर्न खोजेको पक्कै होईन । र गणतन्त्र र राजतन्त्र बिच तुलना गरेर आफुलाई ठुलै बिष्लेषक बनाउन खोजेको पनि हैन । तर राजाको अधिकार खोसेर जनतालाई बाडिने गणतान्त्रीक ब्यबस्थामा किन सिमित ब्यक्तीलाई अझै पनि अघोषित राजा बनाईन्छ ? किन राजकिय सम्मान दिइन्छ ?

हो ! हामिले राजा फाल्यौ , एउटा सर्बसाधारण ब्यक्ती देशको अगुवा बन्ने अबसर पायो तर त्यसलाई राजा जस्तै जनताले मान्नु पर्ने किन ? जनता बाटै असुरक्षाको महसुस गर्छन भने तिन्लाई जनताको लिडर मान्नु पर्ने किन ? एउटा राजालाई फालेर सयौ राजा जनताले मान्नु पर्छ भने किन बगाईयो गणतन्त्रका लागि रगत ? यहि प्रश्न आफैले आफैलाई गर्छु । समाजमा गरियो भने राजाबादी भैन्छ , अराजक भैन्छ । त्यसैले म आफुलाई प्रश्न गर्छु “ खै गणतन्त्र ? किन महसुस हुदैन मलाई ? “

गणतन्त्र दिवस मनाईरहदा गणतन्त्रका लागि प्राण त्याग्ने , रगत बगाउनेहरु आफ्नै परिबेसमा दुख सँग बसेका छन । आफ्नै आखाले देखेको छु , गणतन्त्रका लागि जन(आन्दोलनमा ज्यानको बाजि लगायर होमियकाहरु अहिले गुमनाम छन तर तिनकै रगत सँग साटेर आएको गणतन्त्रलाई भजाएर सत्ता र पदमा बसेकाहरु आफुलाई नयाँ नेपालको नयाँ राजा घोषणा गर्न मात्र बाकी राखेका छन । बाकी हैसियत राजा भन्दा कम ठान्दैनन ।

राजतन्त्र फालेर गणतन्त्र ल्याउन रगत बगाएकाहरु पनि आजभोली भन्दैछन “ राजा आउ ! देश बचाउ । “ यस्तो अबस्था आउनुमा गणतन्त्रको सहि सदुपयोग नहुनु नै ठान्दछु । हैन भने मृत्यु सँग नडरायर ल्याएको गणतन्त्रबाट किन सन्तुष्ट छैनन नेपाली ? किन चाह्न्छन फेरि राजतन्त्र ?

गणतान्त्रीक शासन ब्यबस्था भएका मुलुकका रास्ट्रपती , प्रधानमन्त्रीहरु साईकल चढेर या हिडेरै आफ्नो कार्यालय आएका खबर हामी संचार माध्यममा पढन पाउछौ तर हाम्रो देशमा अगाडि पछाडी सुरक्षा फौजका लावालस्कर अनि बिचमा राष्ट्रपती अनि प्रधानमन्त्री । हेर्दा ठ्याक्कै नयाँ राजाको ढाचामा । अनि कसरी भन्न सक्छौ “ गणतन्त्र जिन्दाबाद ! “

हामीले कल्पना गरेको गणतन्त्रमा राजाको रुप हैन , जनताको रुपमा राष्ट्रपतीलाई देखेका थियौ । आफ्नै सहयात्री जस्तो लाग्ने प्रधानमन्त्री कल्पना गरेका थियौ । आफ्नै दोस्ती हस्ता मन्त्री कल्पना गरेका थियौ । आफ्नै दाजुभाई जस्ता सांसद कल्पना गरेका थियौ । तर उनिहरु हामी जस्ता अथवा हामिले कल्पना गरे जस्ता कहिले भएनन । बरु ठ्याक्कै राजा जस्ता भैदिए , ठ्याक्कै पारस जस्ता भैदिए , अनि ठ्याक्कै राजपरिवार जस्ता बन्दिए ।

हामी निराश भयौ , गणतन्त्रका पक्षधर हामीहरु फेरि राजा आउ देश बचाउको नारामा रमाउन थाल्यौ । हामीले रक्तपात पुर्ण ईतिहास रचेर ल्याएको गणतन्त्रलाई धोकाको रुपमा बुझ्न थाल्यौ अनि आफैले आफैलाई प्रश्न गर्न थाल्यौ “ खै गणतन्त्र ? महसुसै भएन त ! “

महसुस हुनको लागि बर्षको एक पटक गणतन्त्र दिवस मनाउनै पर्दैन , गणतन्त्र दिवसमा सार्बजनिक बिदा दिनै पर्दैन मात्र सोचमा परिवर्तन भैदिए पुग्छ । उच्च ओहोदामा बसेकाहरुले आफुलाई जनताको सेवक ठान्दिए भने गणतन्त्रले सार्थकता पाउने छ । हैन भने बेलायतको ईतिहास जस्तै एक पटक फालिएको राजसंस्था फेरि स्थापित नहोला भन्न सकिन्न । गणतन्त्रले यसैगरी नयाँ राजा निर्माण गर्दै गयो भने एक दिन सबैले भन्ने छन “ खै गणतन्त्र ? महसुसै भएन ! “