क्वारेन्टाइनमा खाजा खुवाउन जुटे युवा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

क्वारेन्टाइनमा खाजा खुवाउन जुटे युवा



विशाल पाण्डेय / सुखड,कैलाली ।

कोरोना भाइरसको संक्रमण तत्काल रोकथाम हुने अवस्था नआएपछि रोजगारी तथा अध्ययनका लागि भारत गएका नेपालीहरु ठूलो संख्यामा स्वदेश फर्किरहेका छन् ।

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि घोडाघोडी नगरपालिकाले पनि क्वारेन्टाइन निर्माण गरि आश्रय दिइरहेको छ । नगरपालिकाले क्वारेन्टाइनमा राखेपनी खाजा तथा खानाको व्यवस्था गर्न नसकेपछि घोडाघोडी नगरपालिकाका युवा तथा व्यवसायीहरु खाना तथा नास्ताको लागि जुटिरहेका छन् ।

युवा तथा व्यवसायीहरुले नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बसेकाहरुलाई खाजा खुवाएर ठूलो सहयोग गरेको स्थानीयहरुले बताएका छन् । यसै क्रममा दैनिक जस्तो घोडाघोडी क्लबका युवाहरुले नगरका विभिन्न क्वारेन्टाइनमा पुगेर खाजा सहयोग गरेका छन् । देश तथा विदेशमा बस्ने नगरबासीहरुले पठाएको सहयोग रकमले समन्वय गरि क्लबले बाडीरहेको क्लबका सदस्य कृष्ण खत्रीले बताए । आज पनि वडा नं २ मा रहेको दशरथ मावी साडेपानी ,चौड्याल आधारभुत साडेपानी र वडा नं १ मा रहेको जनज्योति मावीमा गरि करिब २ सय १० जना मानिसहरुलाई खाजा वितरण गरिएको खत्रीले बताए ।

यस्तै घोडाघोडी नगरपालिका–४ का स्थानीय युवाहरु जुटेर क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई खाजा खुवाएका छन् । रामपुरमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयमा बसेका करिब ८० जना मानिसहरुलाई नि:शुल्क खाजा खुवाएको स्थानीय युवा करन रोकायाले जानकारी दिए । युवाहरु मिलेर आर्थिक संकलल गरी क्वारेन्टाइनमा बसेकाहरुलाई खाजा खुवाएको बताउदै रोकायाले सबैले आ–आफ्नो ठाउँमा सक्ने सहयोग गर्न आग्रह समेत गरेका छन् । करन सहित स्थानीय लक्ष्मण जोशी र कृष्ण रोकायाले पनि संयुक्तरुपमा खाजा स्वरुप चना,चाउमिन र अण्डा वितरण गरेका छन् ।

यस्तै सुखडका व्यवसायी श्याम आचार्य , कृष्ण ढकाल,लक्ष्मण न्युरे र गोपाल चापागाईंद्बारा संयुक्तरूपमा घोडाघोडी नगरपालिका- ५ को श्री दरख माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसोबास गर्ने करिब १४५ जना मानिसलाई खाजा वितरण गरेका छन् । घोडाघोडी नगरपालिकामा ६४ वटा क्वारेन्टाइन रहेको छ भने त्यसमा करिब ३९ सय ६१ जना मानिसहरूले आश्रय लिइरहेका छन् ।