बालकृष्ण खाँणलाई गृहमन्त्रीबाट हटाउने तयारी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बालकृष्ण खाँणलाई गृहमन्त्रीबाट हटाउने तयारी



काठमाडौँ- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बालकृष्ण खाँणलाई गृहमन्त्रीबाट हटाउने तयारी गरेका छन् । पार्टीमा समीकरण मिलाउनकै लागि प्रधानमन्त्री देउवाले केहि मन्त्रालयहरू हेरफेरको तयारी गरेको बताइएको छ ।

गृहबाट हटाएर खाँणलाई रक्षामन्त्रालयको जिम्मेवारी दिने तयारी भएको स्रोतले बताएको छ । कांग्रेस नेता मिनेन्द्र रिजालले महाधिवेशनमा महामन्त्रीको चुनाव हारेपछि नैतिकताको आधारमा रक्षामन्त्रालयबाट राजीनामा दिएपछि उक्त मन्त्रालय खाली छ । सुरुमा रक्षा मन्त्रालयको जिम्मेवारी प्रकाशमान सिंहलाई दिने तयारी गरिए पनि सिंहले गृहमन्त्रीमा जोड गरेपछि खाँणलाई हटाउने तयारी गरिएको हो ।

रक्षा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अहिले खाली रहेको अवस्थामा देउवाले मन्त्रिपरिषद हेरफेर तथा पूर्णता दिनको लागि छलफल सुरु गरेपछि खाँणलाई हटाउन लागेको तथ्य बाहिर आएको हो । मंसिर अन्तिम साता भएको पार्टीको महाधिवेशनमा सभापतिका प्रत्यासी देउवालाई नेता सिंहले दोस्रो चरणमा सहयोग गरेर निर्वाचित गराउन सहयोग गराएका थिए । त्यतिखेर भएको सहमति अनुसार सिंहलाई उपप्रधानमन्त्री सहित रक्षामन्त्री बनाउन देउवाले तयारी गरेपछि उनले भने गृह नै मागेको स्रोतले दाबी गरेको छ ।

हालका गृहमन्त्री खाँणसँग प्रधानमन्त्री देउवा पछिल्लो समय रुष्ट बनेको चर्चा सेलाउन नपाउँदै उनलाई गृहबाट हटाउन थालिएको छ । खाँणले सुदुरपश्चिमका नेता र प्रहरीहरूलाई चिढाएको आरोप समेत लाग्ने गरेको छ । केहि समय अघि एआईजी हरि पाल लगायतले गृहमन्त्रीले आफूहरूलाई पूर्वाग्रही व्यावहार गरेको भन्दै देउवासँग ब्रिफिङ गरेपछि देउवा खाँणसँग चिढिएको बताइएको छ ।

कांग्रेसको महाधिवेशनमा आफूलाई पछि हट्न लगाएर आफूभन्दा कनिष्ठ नेताहरूलाई अगाडी बढाएको भन्दै खाँणले देउवासँग असन्तुष्टि पोखेका थिए । त्यसयता खाँणले देउवालाई सहयोग गर्न छाडेको समेत कांग्रेसभित्र चर्चा छ ।