खाँणको राजनीतिक भविष्य धरापमा, उनले हार्दा कांग्रेसकै नेता बढी खुसी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

खाँणको राजनीतिक भविष्य धरापमा, उनले हार्दा कांग्रेसकै नेता बढी खुसी



काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र बालकृष्ण खाँणको राजनीतिक भविष्यमै कालो बादल लागेको छ । रुपन्देहीबाट प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन हारेपछि उनको राजनीतिक भविष्य नै धरापमा परेको हो ।

आफै गृहमन्त्री बहाल रहेको बेला चुनाव हारेपछि उनी पार्टीमै संकटमा परेका छन् । जनमत नभएपनि देउवाको निकट बनेर सधै आफू र आफ्नालाई अवसर दिने गरेका खाँणलाई यो पटक नराम्रो ढक्क लागेको छ ।

यसअघि देउवाको विश्वास जित्नकै लागि पार्टीमा युवाहरूलाई निषेध गर्न लागि पर्ने गरेका उनलाई गृहजिल्लाले साइजमा ल्याएको कांग्रेसकै नेताहरू बताउँछन् । उनले चुनाव हार्दा अन्य दलका भन्दा बढी आफ्नै पार्टीका नेताहरू खुसी भएका छन् ।

निर्वाचन जित्नकै लागि रुपन्देहीमा पार्टीको राजनीति सखाप पारेको आरोप लागेका खाँण विवादित समेत बनेका थिए । बहुविवाहदेखि एमाले नेतालाई मेयर बनाउने सहमति गरेको भन्दै कांग्रेस नेताहरू रुष्ट बनेका छन् । आफूले चुनाव जित्नकै एमालेसँग मिलेर रुपन्देहीका अन्य कांग्रेस उम्मेदवारलाई हराएको आरोप पनि उनीमाथि छ ।

रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले उनलाई पराजित गरेका हुन् । उनले बहालवाला गृहमन्त्रीलाई पराजित गरेका हुन् ।

बोहरालो ३६ हजार ७१७ मत पाउँदा खाँणले ३४ हजार ३६ मत प्राप्त गरे । उनीहरुबीचको मतान्तर २ हजार ६८१ छ ।