कांग्रेसले सहज बहुमत ल्याउछ ः नेता खाँण - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कांग्रेसले सहज बहुमत ल्याउछ ः नेता खाँण



रुपन्देही, ६ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचन २०७४ को केन्द्रीय परिचालन समितिका संयोजक बालकृष्ण खाँणले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले सहज बहुमत ल्याउने दावी गर्नुभएको छ ।
नेपाली कांग्रेसले गठन गरेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७४ केन्द्रीय निर्वाचन परिचालन समितिको आयोजनामा बुधबारकाठमाण्डौको होटल समिटमा आयोजित “नेपाली कांग्रेसको घोषणापत्रका आर्थिक पक्ष”का बारेमा अर्थ विज्ञ र सञ्चारकर्मीहरुको अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै उहाँले सो दावी गर्नुभएको हो ।
उहाँले २०४८ सालको निर्वाचनमा पनि नेपाली कांग्रेसले खसेको मतको ३८ प्रतिशत प्राप्त गरेको र २०५६ सालको निर्वाचनमा ३७ प्रतिशत मत प्राप्त गरेको उल्लेख गर्दै भन्नुभयो,“ गत स्थानीय निर्वाचनमा हामीले झण्डै ३३ प्रतिशत(३२दशमलव ८ प्रतिशत) मत हासिल गरेका छौ, यो निर्वाचनमा हाम्रो निकै राम्रो सुधार भएको छ । हामीले ४० प्रतिशतको हाराहारीमा मत पाउने स्थिति छ । त्यसैले यो निर्वाचनमा नेपाली कांग्रेसको विजय सुनिश्चित छ ।”
उहाँले यो निर्वाचनमा नेपाली कांग्रेसले प्रतिनिधिसभाका १ सय ६५ सीट मध्ये १ सय ५३ मा आफ्ना उम्मेदवार उठाएको र प्रदेश सभाका ३ सय ३० मध्ये ३ सय २० सीटमा आफ्ना उम्मेदवार उठाएको बताउदै प्रतिप्रश्न गर्नुभयो,“जुन पार्टीहरुले जम्मा ६० प्रतिशत र ४० प्रतिशत सीटमा उम्मेदवारी दिएका छन, तिनले कसरी बहुमत ल्याउन सक्छन ?”
“कम्युनिष्ट पार्टीहरुको गठबन्धन घोषणाका दिन मुठ्ठी उठाएर दुई तिहाई मतको दुहाई दिने नेताहरु अहिले बहुमतको कुरा गर्दैछन् तर उनीहरुको बहुमत पनि आउनेवाला छैन” नेता खाँणले भन्नुभयो ।
उहाँले यो निर्वाचनमा कम्युनिष्ट गठबन्धनको विरुद्धमा नेपाली कांग्रेस एकजुट भएको उल्लेख गर्दै निर्वाचन परिचालनलाई पनि सुब्यवस्थित गरिएको बताउनुभयो ।
उहाँले कम्युनिष्ट नेताहरुले असंगतिपूर्ण अभिव्यक्ति दिएको उल्लेख गर्दै भन्नुभयो,“उहाँहरुका अभिव्यक्तिले उहाँहरुकै परम्परागत मतदाता पनि दिग्भ्रमित भएका छन् । चुनाव ५ बर्षका लागि भैरहेको छ , उहाँहरु यसपटक जनादेश लिएर ५० बर्ष शासन गर्ने कुरा गरिरहनु भएको छ ।”