भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँण र अख्तियार प्रमुख राई पनि तानिए - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँण र अख्तियार प्रमुख राई पनि तानिए



नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा नेतादेखि कर्मचारीका उच्चपदस्थ पक्राउ पर्न थालेपछि यो प्रकरण उत्कर्षमा पुगेको छ ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई मंगलबार पक्राउ परेपछि एकाएक यो प्रकरणले नयन रुप लिन थालेको छ। उच्चपदस्थहरू पक्राउ पर्न थालेपछि सामाजिक सञ्जालसमेत तातेको छ ।

राईलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरिएपछि लहरो तान्दा पहरो खस्ने डर देखिएको छ । प्रहरी स्रोतका अनुसार हालसम्म ८१ जना विरुद्ध किटानी जाहेरी दर्ता भएको छ।

प्रहरीले गरिरहेको अनुसन्धानमा एकपछि अर्को नेता र कर्मचारीको संलग्नता भेटिन थालेको छ । उक्त प्रकरणमा बुधबार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन्।

त्यस्तै तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो ।

बुधबार पक्राउ परेका तत्कालीन गृहसचिव पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको बुझिएको छ। रायमाझीका छोरा भने बुधबार राति बुटवलबाट पक्राउ परेका छन् ।

प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै १० देखि ५० लाख रुपैयाँसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको संलग्नता खुल्न थालेको छ । प्रहरी स्रोतले बादलपछि गृहमन्त्री बनेका बालकृष्ण खाँण संलग्न भएको नभएको अनुसन्धान गरिरहेको छ ।

खाँणको पालामा पनि चलखेल गरेर अनुसन्धान प्रभावित पार्ने प्रयास गरिएको थियो। केहि आरोपीले खाँणको नाम लिएपछि प्रहरीले संलग्नताको आधार र प्रमाणको अध्ययन गरिरहेको बताइन्छ । यस प्रकरणमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाका सहयोगी नै मुख्य पात्र भएको खुलेपछि खाँण पनि शंकाको घेरामा परेका हुन् ।

त्यस्तै प्रकरणमा आफ्नो नाम पनि जोडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले राष्ट्रपति र उपराष्ट्रपतिसँग भेटेका छन्। तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाकार इन्द्रजित राईले बयानका क्रममा प्रेम राईको पनि नाम लिएपछि राईले बुधबार राष्ट्रपति र उपराष्ट्रपतिसँग भेट गरेको बुझिएको छ ।