खाँणलाई सिध्याउने मुख्य कारण- श्रीमती, बहुविवाह र आफ्नै काण्ड - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

खाँणलाई सिध्याउने मुख्य कारण- श्रीमती, बहुविवाह र आफ्नै काण्ड



काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र बालकृष्ण खाँणको राजनीतिक भविष्यमै कालो बादल लागेको छ । रुपन्देहीबाट प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन हारेपछि उनको राजनीतिक भविष्य नै धरापमा परेको हो ।

आफै गृहमन्त्री बहाल रहेको बेला चुनाव हारेपछि उनी पार्टीमै संकटमा परेका छन् । जनमत नभएपनि देउवाको निकट बनेर सधै आफू र आफ्नालाई अवसर दिने गरेका खाँणलाई यो पटक नराम्रो ढक्क लागेको छ ।

खाँण पछिल्लो समय विवादित बन्दै गएका थिए । उनले पार्टीको महाधिवेशनमा खेलेका भूमिका र आफ्नै पार्टीभित्रका सम्भावना बोकेका केहि युवाहरूलाई चुनावमा रोक्न प्रयास गरेपछि पार्टीको एउटा तप्काबाट अलोकप्रिय बनेका थिए । गृहमन्त्री बनेपछि पनि उनले अपेक्षित काम गर्न सकेनन ।

त्यसमाथि उनले कांग्रेसको समानुपातिक सूचीमा आफ्नी श्रीमती मन्जु खाँणलाई प्रार्थमिकतामा राखेपछि चर्को आलोचना भएको थियो । विपक्षीदेखि आफ्नै पार्टीका नेताहरूले यो विषय जोडतोडले उठाए । नयाँ अनुहार खोजेका युवाहरूका लागि उनले लिएको कदम प्रत्युत्पादक बन्यो ।

त्यतिमात्र होइन चुनावकै मुखमा खाँणले अहिलेसम्म गुपचुप राखेको बहुविवाह काण्ड बाहिर आयो । देशको गृहमन्त्री जस्तो व्यक्ति बहुविवाहमा संलग्न भएको भन्दै सामाजिक संजालमा ट्रोल बने ।

माहोल आफ्नो अनुकू नदेखिएपछि चुनाव जित्नकै लागि खाँणले गरेका अनेक हत्कण्डा बाहिर आए । रुपन्देहीभित्रै केहि एमाले उम्मेदवारसँग साँठगाँठ गरेर आफू सुरक्षित बन्ने लाइनमा उनी लाग्दा कांग्रेसकै शक्तिशाली उम्मेदवारहरूले हार्नु पर्ने अवस्था बन्यो । भैरहवाका एक व्यापारीलाई मेयर बनाउने सर्तमा आफूलाई सघाउने सम्झौता गरेको पत्र नै बाहिरियो ।

चुनाव हार्नुमा यी कारणहरू मुख्य भएपनि उनको आफ्नै चुनावी टोलीमा केहि व्यक्ति उनलाई हराउन लागिपरेका थिए । खाँणको चुनावी अभियानमा हिंडेको एउटा समूहले भित्रभित्रै उनलाई सिध्याउने अभियान चलाएको थियो ।

यसअघि देउवाको विश्वास जित्नकै लागि पार्टीमा युवाहरूलाई निषेध गर्न लागि पर्ने गरेका उनलाई गृहजिल्लाले साइजमा ल्याएको कांग्रेसकै नेताहरू बताउँछन् । उनले चुनाव हार्दा अन्य दलका भन्दा बढी आफ्नै पार्टीका नेताहरू खुसी भएका छन् ।

रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले उनलाई पराजित गरेका हुन् । उनले बहालवाला गृहमन्त्रीलाई पराजित गरेका हुन् ।

बोहरालो ३६ हजार ७१७ मत पाउँदा खाँणले ३४ हजार ३६ मत प्राप्त गरे । उनीहरुबीचको मतान्तर २ हजार ६८१ छ ।