उम्मेदवारको खर्चमा होड - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

उम्मेदवारको खर्चमा होड



जनकपुर/ महोत्तरी/ लहान :

जनकपुरको एउटा रेस्टुराँमा वेटर राजु साह एमालेको चुनाव चिह्नअंकित सूर्य छाप टिसर्ट लगाएको भेटिए। चुनाव प्रचारका क्रममा उनले विभिन्न दलको गरेर झन्डै ६ वटा टिसर्ट बटुलेका छन्। ‘प्रचारमा सहभागी भएपछि टिसर्ट पाइने भएकाले ज-जसले दिए, लिएँ’, शुक्रबार अन्नपूर्णसँग उनले भने, ‘टिसर्ट सबैको लिने, भोट इच्छा लागेको ठाउँमा हाल्ने।’

चुनाव प्रचारको अन्तिम दिन राजपाले जनकपुर उपमहानगरपालिकामा निकालेको र्‍यालीमा १९ वर्षीय निरज महतो भेटिए। ‘र्‍यालीमा आएपछि खाजा र खानाको व्यवस्था हुन्छ। रमाइलो पनि हुन्छ। त्यसैले आएको’, उनले भने। जनकपुरमै रहेको एउटा पेट्रोल पम्पमा कांग्रेसको झन्डा बोकेको एउटा ठूलो हुल मोटरसाइकलमा पेट्रोल भर्दै थियो। ‘चुनावभरि गाडीमा तेल, गोजीमा रजनीगन्धा, पानमसला र खानामा मासुभातको पूर्ण व्यवस्था उम्मेदवारको तर्फबाट भएको छ’, हुलभित्रै कार्यकर्ता गफिँदै थिए।

शुक्रबार जनकपुरमा देखिएका यी दृश्य प्रदेश २ का आठै जिल्लामा चुनाव अवधिभर सरीबरी देखिए। चुनावमा ‘पैसाको खोलो’ बगेको बाक्लै चर्चा घरदेखि चियापसलसम्म प्रशस्त सुन्न पाइन्छ। ‘मनोनयन हुँदादेखि नै पैसाको व्यापक चलखेल भएको छ’, नेपाल पत्रकार महासंघ धनुषा जिल्ला अध्यक्ष अनिल मि श्र भन्छन्, ‘प्रचारप्रसारमा उत्तिकै भयो। अब मौन अवधिमा मतदाता प्रभावित पार्न खोजिन्छ।’

जनकपुर उपमहानगरपालिकामा कांग्रेस मेयरका प्रत्याशी मनोज साहले रामानन्द चोकस्थित सीता प्यालेस आफ्ना प्रचारकका लागि बुकिङ गरेका छन्। उनको कुवारामपुरस्थित घरमा पनि दैनिक २ सय भन्दा बढीको भोज हुने गरेको छ। राजपाका तर्फबाट मेयर प्रत्याशी लालकिशोर साहले जनकपुरका युवा क्लबलाई समातिरहेका छन्। ‘विगतमा सञ्जय साहले ती क्लब प्रयोग गरेका थिए’, एक जानकार दाबी गर्छन्।

जनकपुरमा जस्तै वीरगन्ज, कलैया, गौर, चन्द्रनिगाहपुर, मलंगवा, बर्दीवास, जलेश्वर, लहान, राजविराज आदि ठाउँमा पनि उम्मेदवारबीच पैसा खर्च गर्ने होड नै चलेको छ। प्रचारको अन्तिम दिन शुक्रबार सिरहाको कर्जन्हा नगरपालिकाका माओवादी केन्द्रका मेयर उम्मेदवार गंगा पासवानले ३ सय मोटरसाइकल र्‍याली निकाले।

प्रत्येक मोटरसाइकलमा ५ लिटर पेट्रोल बाँडे। करिब ५ सय व्यक्तिलाई मासुभात खुवाए। पासवान नजिकका एक कार्यकर्ताका अनुसार यसक्रमा ५ लाखभन्दा बढी खर्च भयो। ‘चुनाव प्रचारमा सहभागी हुँदा खानासँगै ५ सय हात पर्‍यो’, र्‍यालीमा सहभागी एकजनाले बताए। सिरहा धनगढीमाई नगरपालिका-११ का रामचन्द्र मरिक भन्छन्, ‘अब गरिबले राजनीति गर्ने दिन गए। खाजा त के एकदिनको पानीको खर्च पनि व्यहोर्न मुस्किल छ।’

लहान नगरपालिकामा एमालेका मुनि साह र कांग्रेसका अचमितलाल चौधरीबीच चुनावी प्रतिस्पर्धा मात्रै होइन, खर्च गर्ने प्रतिस्पर्धा पनि छ। संघीय समाजवादी फोरमका उम्मेदवार वैद्यनाथ साह पनि खर्च गर्ने होडमै भएको स्थानीय बताउँछन्। एक स्थानीय भन्छन्, ‘गोलबजार नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार धनाढ्य देवनाथ साहले खर्च गर्न सबैलाई उछिनेका छन्।’ सिरहा नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार डा. शुभाषचन्द्र यादवसँगै सबै पार्टीका उम्मेदवारको दैनिक भोज चलिरहेको छ।

‘पहिले-पहिले संगठनको बलमा चुनाव लडिन्थ्यो। नेताको छविको बलमा मत मागिन्थ्यो। दलले पनि नथुनी सिंह दनुवार र आनन्द पोखरेलजस्ता गरिबलाई टिकट दिँदा पनि जित्थे’, गोलबजार नगरपालिकाका सेवानिवृत शिक्षक गंगाप्रसाद साह भन्छन्, ‘अब त धनाढ्य खोजेर टिकट दिइन्छ।’ महोत्तरीको बर्दीवासस्थित एक पेट्रोल पम्प व्यवसायीका अनुसार अहिले दैनिक ५ सय लिटर पेट्रोल निर्वाचन प्रचार प्रयोजनका लागि बिक्री हुन्छ। पेट्रोल पम्पले पार्टीको कुपन हेरेर तेल दिन्छ। हरेक मेयरका उम्मेदवारले प्रतिदिन ४० देखि ५० वटा गाडी प्रचारप्रसारका लागि प्रयोग गरिरहेका छन्। जसको भाडा दैनिक ३५ सयदेखि ४५ सयसम्म हुने गर्छ।

चुनाव प्रचारमा हिँड्ने कार्यकर्तालाई उम्मेदवारले कम्तीमा २ सय जनालाई खाजा र खाना खुवाउनुपर्ने हुँदा दैनिक ४ लाखसम्म खर्च भइरहेको एक नेताले बताए। माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य राजु खड्का भन्छन्, ‘उम्मेदवार हारे कंगाल बन्ने र जिते भ्रष्टाचारी हुने निश्चितप्रायः छ।’ निर्वाचन आचारसंहिताअनुसार महानगरपालिकाको प्रमुख र उपप्रमुखले ७ लाख ५० हजार, वडाध्यक्ष र सदस्यले ३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था छ।

उपमहानगरको मेयर र उपमेयरले ५ लाख ५० हजार तथा वडाध्यक्ष र सदस्यले २ लाख ५० हजारसम्म खर्च गर्न पाउँछन्। त्यसैगरी, नगरपालिकाको मेयर÷उपमेयरले ४ लाख ५० हजार वडाध्यक्ष÷सदस्यले २ लाख र गाउँपालिकाको मेयर÷उपमेयरले ३ लाख ५० हजार तथा वडाध्यक्ष÷सदस्यले १ लाख ५० हजारसम्म खर्च गर्न पाउने व्यवस्था छ। दलका उम्मेदवारको दैनिक खर्च लाखौ‌‌‌ पुगेका बेला निर्वाचन आयोगको यो मापदण्ड अर्थहीन देखिएको छ।
जनकपुर उपमहानगरपालिकामा सञ्चालित करिब २० वटा अफसेट प्रेसले मात्रै ५० लाख हराहारीमा निर्वाचन सामग्री छापेको देखिन्छ। प्रेस सञ्चालकलाई मागअनुसार सामग्री उपलब्ध गराउन गाह्रो भइरहेको उनीहरू बताउँछन्।

जनकपुरको युनियन अफसेट प्रेसमा अहिले दैनिक १० हजारसम्म झन्डा र सोही अनुपातमा पर्चा-पम्प्लेट छपाइ गर्ने काम भइरहेको सञ्चालक प्रमोद साह बताउँछन्। न्यू गोपाल कला कुञ्जका सञ्चालक सुरेश श्रेष्ठ अहिले भोक, निद्रा बिर्सेर झन्डा बनाउन व्यस्त छन्। आफूले अहिलेसम्म २० हजारजति झन्डा बनाएर बेचिसकेको र अहिले पनि एक लाख प्रति अर्डर रहेको उनले बताए।

निर्वाचन प्रचारप्रसार सामग्री छाप्न काठमाडौंबाट समेत पेन्टर आएको उनले बताए। उनले भने, ‘करिब १० लाख बराबरको कपडा, प्रचार सामग्री लिएर आएका किरण श्रेष्ठले २० लाखजति मुनाफा कमाए।’

आजको अन्नपुर्ण पोस्टमा खबर छ