ओलीले नियुक्त गरेका सिलवाल, ढुंगेल र रोकालाई बर्खास्त गर्ने तयारी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ओलीले नियुक्त गरेका सिलवाल, ढुंगेल र रोकालाई बर्खास्त गर्ने तयारी



काठमाडौं- तत्कालिन केपी ओली सरकारका पालामा राजनीतिक नियुक्ति पाएकाहरू अहिलेको सरकारले भटाभट हटाउन थालेको छ । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेलगत्तै सत्ता गठबन्धनको सहमतिमै ओलीले नियुक्ति गरेकाहरूमाथि कैँची चलाउन सुरू गरिएको हो ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने प्रक्रियालाई सरकारले तीव्र पारेको देखिएको छ । सुरुवातमा भूमि आयोग खारेजी गरेपछि लगातार खारेजीको अभियान नै चलेको छ ।

हालै नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेजी गरिएको छ भने त्यसपछि पनि सरकारले कतिपय समिति नै खारेजी र कतिपय व्यक्ति हटाउनेगरी तयारी गरेको बताइएको छ । सरकारले पछिल्लो समय राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोकालाई हटाउने प्रक्रिया थालेको छ ।

यी तिनै जनालाई हटाउन सरकारले प्रक्रिया थालेको छ । स्पष्टीकरण सोधेर सफाइको मौका नदिई हटाउँदा अदालतबाट पुनर्वहाली भएर आउने भएकाले तीनै जनालाई स्पष्टीकरण सोधिएको छ । स्रोतका अनुसार उनीहरुलाई हटाउन कानूनी प्रक्रिया अन्तिम अवस्थामा छ ।

तीनै जनासँग काम चित्त बुझ्दो नभएको, सरकारको नीति निर्देशन नमानेको लगायतका कारण देखाउँदै लिखित स्पष्टीकरण मागिएको स्रोतले जनाएको छ । मन्त्रालयबाट उठाइएको फाइल मन्त्रिपरिषद बैठक हुँदै फेरि मन्त्रालयमा फर्किएको छ । सफाइको मौका दिने ऐनको प्राबधानको प्रक्रिया टुंगो लगाएर अर्को मन्त्रिपरिषद बैठकबाट तीनै जनालाई हटाउने गरि प्रस्ताव उठाउन लागिएको छ ।

मन्त्रिपरिषदको निर्णयबाट नियुक्त भएकाले उनीहरुसँग स्पष्टीकरण पनि मन्त्रिपरिषदबाटै सोधिएको छ । तीनैजनाले स्पष्टीकरणको पत्र भने बुझिसकेका छैनन् । युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल एमाले केन्द्रीय सदस्य समेत हुन् । खेलकुद परिषदका सदस्य सचिव सिलवाल पनि दोस्रोपटक नियुक्त भएका हुन् ।