अमेरिकामा नेपालीको दैलो-दैलोमा कर्मकाण्डको पुरै प्याकेज - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

अमेरिकामा नेपालीको दैलो-दैलोमा कर्मकाण्डको पुरै प्याकेज



न्युयोर्क- अमेरिकामा बसोबास गर्ने नेपालीलाई लक्षित गरी नेपाली संस्कारका कर्मकाण्डका लागि आवश्यक सामग्रीको प्याकेज बिक्री शुरु गरिएको छ । महिला उद्यमी सम्झना खनालले कर्मकाण्डको पुरै प्याकेज समेटिएको सिंगो बट्टा नै घर घरमा पुर्याउने नवीन व्यवसाय अमेरिकाबाट सुरु गरेकी हुन् ।

खरखरे डट कम नामक अनलाइन बेवसाइटबाट सामान अर्डर गरेसँगै अमेरिकामा घरघरमा पूजा सामग्रीको प्याकेज पुर्‍याउन शुरु गरेको खनालले बताएकी छिन् ।

खरखरेमार्फत कर्मकाण्डका लागि आवश्यक जनै, सुपारी, दुना, टपरी आँप, चाँफ पिपलको पातदेखी गाईको गोबरसम्म प्याकेजमा राखेको कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

देश छाडेर परदेश बसाइ सरेपछी नेपालीहरुमा हाम्रा धर्म र संकृतिप्रति अझ धेरै मोह बढेसँगै संस्कृति रक्षामा समेत यो अभियान सफल हुने उनको विश्वास रहेको छ ।

घरमा आयोजना गरिने हरेक प्रकारका पूजा पाठका लागि पण्डितले दिने सूचीका आधारमा सामान घरमै पठाइने भएको छ । यसले अमेरिकामा पूजा सामग्री जुटाउन पसलपसल भौतारिनु नपर्ने उनको भनाइृ छ ।

पूजाप्याकेज अन्तर्गत रुदि्र पूजा, सन्तानको अन्न प्रशान, न्वारन, श्राद्ध गृह प्रबेशलगायत हिन्दु परम्पराका विभिन्न पूजाआजाका लागि चाहिने सामग्री एउटै प्याकेजमा खरिद गर्न सकिने भएको हो । एउटा प्याकेजको मूल्य हाललाई ५९.९९ अमेरिकी डलर राखिएको छ ।

खरखरेमा कर्मकाण्डको प्याकेजसहित नेपाली हस्तकला, नेपाली गहना, चुरा धागो पोते नेपाली लोक बाजागाजा, खाना, नेपाली प्रचलनका भाँडाकुँडा लत्ता कपडा समेत अर्डर गर्न सकिने भएको छ ।

लोक बाजागाजा अन्तर्गत मादल, बाँसुरी, झ्याली, झ्याम्टालगायत बिक्रीमा राखिएको छ । भाँडाकुँडा अन्तर्गत तामाको खड्कुँडो, गाग्री, चरेसको थाल, कचौरा, कलश, चाँदीको पूजा थाली लगायत राखिएको कम्पनीले जनाएको छ ।