रामहरि खतिवडालाई बास्कोटाले भने - चोर्नुभन्दा चौकीदारी गर्नु राम्रो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

रामहरि खतिवडालाई बास्कोटाले भने – चोर्नुभन्दा चौकीदारी गर्नु राम्रो



काठमाडौं – सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले काँग्रेस नेता रामहरि खतिवडाले आफूलाई ‘केपी ओलीका घर कुर्ने चौकीदार’ भनेकामा आपत्ति जनाएका छन् ।

गृहजिल्ला काभ्रेमा शनिबार आयोजित कार्यक्रममा बाँस्कोटाले खतिवडातर्फ लक्षित गर्दै चोरी डकैतीभन्दा चौकीदारी राम्रो भएको जवाफ फर्काए । खतिवडाले केही समय अघि बाँस्कोटालाई ओलीका घर कुर्ने चौकीदार भएको टिप्पणी गरेका थिए । बाँसकोटा मन्त्री भएदेखि बालकोटस्थित प्रधानमन्त्री ओली निवासमा बस्दै आएका छन् ।

‘एक जना (रामहरि) ले मलाई प्रधानमन्त्री केपी ओलीको घर कुर्ने चौकीदार भन्नुभएछ’, बाँस्कोटाले भने, ‘मेरो विचारमा चोरी, डकैती र भ्रष्टाचारी हुनुभन्दा चौकीदार हुनु धेरै राम्रो हो ।’ खतिवडामाथि करिब दुई वर्षअघि एक होटलको क्लबमा महंगो घडी चोरीको आरोप लागेको थियो । तर, घडी धनीले नै खतिवडाले चोरेको नभई उनलाई बदनाम गराउने नियतले कसैले आफ्नो घडी खतिवडाको खल्तीमा राखिदिएको भन्दै वक्तव्य जारी गरेका थिए ।
यस्तै उनले नेपाल बारका पूर्वअध्यक्ष शम्भु थामाथि पनि हमला गरे । थापाले सार्वजनिक कार्यक्रममा बाँस्कोटाको आवाज सुन्ने बित्तिकै मानिसलाई ‘इरिटेटिङ’ हुने भन्दै उनको हुलिया नै खराब रहेको टिप्पणी गरेका थिए । थापातर्फ लक्षित गर्र्दै बाँस्कोटाले बौद्धिक र सम्मानित व्यक्तिहरुले आफ्नो हुलिया खोजदै हिंडेको भन्दै हुलिया हाजिर रहेको टिप्पणी गरे । थापाले मिडिया काउञ्सिल विधेयकले स्वतन्त्र प्रेसको घाँटी निमोठ्न खोजेको भन्दै बाँस्कोटाको चर्को आलोचना गरेका थिए ।