बैंकहरुलाई भटाभट कारबाही गर्ने खतिवडाको चेतावनी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बैंकहरुलाई भटाभट कारबाही गर्ने खतिवडाको चेतावनी



काठमाण्डाै- अर्थमन्त्री डा. युवराज खतिवडाले वस्तु आयातमा मूल्य घटाएर एलसी खोल्ने बैंकहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

बैंकहरुले १ सय रुपैयाँको वस्तुको ४० रुपैयाँ मूल्य निर्धारण गरेर एलसी खोल्ने गरेकोले विकृति बढेको बताए ।

सोमबार नेपाल चेम्बर अफ कमर्सको ६९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले बैंकहरुलाई अन्तर्राष्ट्रिय बजारमा भएका वस्तुहरुको मूल्य सूचि सरकारले उपलब्ध गराउने र त्यही मूल्य अनुसार एलसी नखोले कारबाही गर्ने बताए ।

अर्थमन्त्री खतिवडाले कानूनको डर गल्ती गर्ने तथा अपराध गर्नेहरुलाई मात्र हुने भएकोले सम्पत्ती शुद्धिकरण तथा राजश्व अनुसन्धानको डर नमान्न व्यवसायीहरुलाई आग्रह गरे ।

सरकारले आन्तरिक उत्पादन बढाई निर्यात गर्ने व्यवसायीलाई कच्चापदार्थ, प्रविधि, उत्पादनको प्रकृया, प्याकेजिङ, ब्राण्डिङ तथा निकासी अनुदान लगायतमा सहयोग गरेकाले त्यसको फाइदा लिन पनि आग्रह गरे ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले वस्तु तथा सेवाको निकासीमा सरकारले दिने अनुदान सहज प्राप्त नहुने भएकोले नेपालको उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न नसकेको बताए । त्यसका लागि सरकारले बिना सर्त सहयोग गर्नुपर्ने बताए ।

अध्यक्ष श्रेष्ठले सरकारका नीति र व्यवहारका कारण अझै पनि व्यवसायिक वातावरण बिग्रिएको बताए ।

अर्थमन्त्री खतिवडाले भने सरकारले संस्थागत आयकरको दर बढाएको छैन, मूल्य अभिवृद्धि कर पनि बढाएको छैन तर कसरी व्यवसायीक वातावरण बिग्रियो भन्दै प्रश्न गरे । उनले व्यवसायीलाई निरुत्साहित गरेर सुशासन कायम गर्न नसकिने समेत बताए ।