नेपाल एसिया कपको लागि छनोट, मलेसियालाई हराउँदै फाइनलमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेपाल एसिया कपको लागि छनोट, मलेसियालाई हराउँदै फाइनलमा



भदौ ३१ – नेपाल उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटका लागि छनौट भएको छ । नेपाल एसिया कप क्रिकेट (पूर्वी क्षेत्र) छनौट प्रतियोगिताको फाइनलमा पनि प्रवेश गरेको छ । मलेसियासँग शनिबार भएको सेमिफाइनलमा १० विकेटको शानदार जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

घरेलु टोली मलेसियाले प्रस्तुत गरेको एक सय २२ रनको लक्ष्य नेपालले २३ ओभर एक बलमा बिना विकेटको क्षतिमा भेट्टाएको हो । ओपनरहरु सन्दिप सुनार र आशिफ शेखले अर्धशतक बनाउँदै नेपाललाई सहज जित दिलाए ।  उनीहरुको उत्कृष्ट प्रदर्शनमा नेपालले २३ ओभर १ बलमा १ सय २५ रन बनाउन कुनै विकेट गुमाउनु परेन । सन्दिपले ७७ बलमा ८ चौका हाने भने आशिफले ६५ बलमा ८ चौका र एक छक्का सहित अर्ध शतक पूरा गरे ।

नेपालले उपाधिका लागि सिंगापुर र हङ्गकङ्गमध्ये एक टिमसँग खेल्नेछ । दोश्रो सेमिफाइनलमा यी दुई टीम पनि अहिले खेलिरहेका छन् । पराजित भएपनि आयोजकका रुपमा मलेशिया एसिया कप खेल्न पाउनेछ ।

यसअघि टस जितेपछि पहिले घरेलु टोलीलाई ब्याटिङका लागि बोलाएको नेपालले ४२ ओभरमा मलेसियालाई एक सय २० रनमा आउट गरेको हो । मलेसियालाई सामान्य लक्ष्यमा सीमित गर्न नेपालका कप्तान दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । उनले ५ विकेट लिए । पवन सर्राफले २ तथा, रोहितकुमार पौडेल, साहव आलम र सन्दिप लामिछानेले एक एक विकेट लिए ।

८ ओभर बलिङ गर्दा दिपेन्द्रले २९ रन खर्चिए । १० ओभर बलिङ्ग गरको साहवले २ विकेट लिन ३८ रन खर्चिए । सन्दिपले १० ओभरमा १३ रन मात्र दिएर किफायति बलिङ गरेपनि विकेट भने एक भन्दा बढी लिन सकेनन् ।

मलेसियाले १५ रन बनाएको अवस्थामा नेपालका लागि रोहितकुमार पौडेलले पहिलो विकेट लिँदै शानदार सुरुवात गराएपनि दोश्रो विकेटका लागि बलरले धेरै पसिना बगाउनुपर्‍यो ।

थप ४९ रन खर्चिएपछि बल्ल नेपालले मलेसियाको दोश्रो विकेट लिन सक्यो । बलर थिए साहव आलम । त्यसपछि बलिङ गर्न आएका कप्तान दिपेन्द्रसिंह ऐरीले लगालग ४ विकेट लिएका छन् । दिपेन्द्रले तेश्रो, चौथो, पाँचौ र छैटाैं विकेट लिँदै मलेसियाको इनिङलाई तनावमा र खेलाडीलाई दबाबमा पारे ।