खुमलटार भेला: कुनै हालतमा बैठक नरोक्ने, अब निर्णय त्यहींबाट गर्ने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

खुमलटार भेला: कुनै हालतमा बैठक नरोक्ने, अब निर्णय त्यहींबाट गर्ने



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा जारी स्थायी कमिटि बैठक कसरी अगाडी बढाउने भनेर छलफल भएको छ ।

सोमबार बिहान बोलाइएको प्रचण्ड-नेपाल पक्षीय भेलामा मंगलबार बोलाइएको स्थायी कमिटीको बैठकबारे छलफल भएको र भोलिका लागि बोलाइएको बैठक नरोक्ने निष्कर्षमा समेत पुगेको बताइएको छ ।

पटक-पटक स्थगित हुँदै आएको स्थायी कमिटीको बैठकमा कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको र अब बैठक कुनैपनि हालतमा नरोक्ने निर्णय गरिएको स्रोतले बताएको छ ।

पार्टीभित्रको आन्तरिक विवाद चर्कंदै गएपछि सहमति खोज्नका लागि पटक पटक स्थगित गर्दै आएको बैठक सुरू भएको एक महिनाभन्दा बढी समय हुन लागेको छ । पटक पटक गरिएको प्रयासबाट पनि सहमति हुन नसकेपछि बहुमतको आधारमा स्थायी कमिटीबाटै निर्णय गरेर अघि बढ्ने तयारी भएको स्रोतले जनाएको छ।

सोमबार बिहान भएको छलफलमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत केही स्थायी कमिटीको सदस्यहरुको समेत सहभागिता रहेको थियो।

पार्टीभित्रको विवाद चलिरहेको बेलामा प्रधानमन्त्री ओलीको सक्रियतामा नेकपा एमाले दर्ता प्रक्रिया अघि बढएको अध्यक्ष दाहालले सार्वजनीक रुपमै बताइसकेको छन्। पार्टीलाई विधि र पद्धतिमा चलाउनका लागि ओलीले एक पद छाड्नैपर्ने प्रचण्ड-नेपाल समूहको माग छ।

तर, प्रधानमन्त्री ओली दुवै पदबाट राजीनामा नदिने पक्षमा छन्। यही विवादलाई लिएर पार्टी फुटको संघारसम्म पुगेको छ। प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद समाधान गर्नका लागि मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।