अब खोपको व्यवस्था सरकारले नगर्ने: प्रवक्ता गौतम - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

अब खोपको व्यवस्था सरकारले नगर्ने: प्रवक्ता गौतम



काठमाडौं- सरकारले अहिले पहिलो डोज फोप लगाउनेहरूलाई दोस्रो डोजको व्यवस्था नगर्ने बताएको छ । यसअघि पहिलो डोज खोप लगाएका नागरिकलाई मात्र अहिले दोस्रो डोज खोप लगाउन निर्देशन समेत दिएको छ ।

अहिले कसैलाई पनि पहिलो डोज खोप नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई निर्देशनसमेत दिएको छ। बुधबार मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले अब दोस्रो डोजको व्यवस्था नहुन सक्नेतर्फ सचेत गराए।

कोरोनाविरुद्ध खोप अभियान चलिरहेका बेला सरकारले यसअघि पहिलो डोज लिएकालाई मात्र दोस्रो डोज लिन आग्रह गरेको छ। ‘अहिले चलिरहेको खोप अभियान यसअघि पहिलो डोज लिएकाहरुका लागि मात्रै हो’ उनले भने, ‘अहिले कसैले पनि पहिलो डोज नलिनुहोला। स्वास्थ्यकर्मीहरुले पनि कसैलाई पहिलो डोज नदिनुहोला। सरकारले दोस्रो डोजको व्यवस्था नगर्न पनि सक्छ।’

नेपालले हालसम्म भारत सरकारले अनुदानमा दिएको १० लाख डोज, सिरमबाट खरिद गरेको १० लाख डोज, चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज र कोभ्याक्सबाट ३ लाख ४८ हजार गरी कुल ३१ लाख ४८ हजार डोज भ्याक्सिन प्राप्त गरेको छ।

हालसम्म २८ लाख ४० हजार डोज खोप लगाइएको छ। जसमा ७ लाख २८ हजारले दुबै डोज लगाएका छन्।

तर, नेपालले सिरमबाट खरिद गरेको २० लाख मध्ये १० लाख डोज खोप अझै प्राप्त गर्न सकेको छैन। नेपालले भुक्तानीसमेत गरिसकेको कोरोनाविरुद्धको खोप सिरमले पुसअघि दिन नसक्ने जनाएको छ।