खुल्न थाले भारत र पाकिस्तानका विद्यालयहरू - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

खुल्न थाले भारत र पाकिस्तानका विद्यालयहरू



काठमाडौं- कोरोना (कोभिड– १९) महामारीका कारण करिब ६ महिनादेखि बन्द रहेका भारत र पाकिस्तानका विद्यालयहरू खुल्ने भएका छन् । पाकिस्तानले स्कुल र उच्च शिक्षादेखि सबै शैक्षिक संस्था खोल्ने तयारी गर्दा भारतले भने तत्काललाई कक्षा नौदेखि १२ सम्मको पढाइका लागि मात्रै विद्यालय खोल्न अनुमति दिइएको जनाएको छ ।

पाकिस्तानले यही १५ सेप्टेम्बर ( ३० भदौ) र भारतले २१ सेप्टेम्बर (५ असोज) बाट चरणबद्ध रूपमा विद्यालय खोल्ने तयारी गरेका हुन् ।

भारत सरकारले कक्षा नौदेखि १२ सम्मको पढाइका लागि विद्यालय खोल्न अनुमति दिने निर्णय गरे पनि पढाइका लागि विद्यालय जाने निर्णय विद्यार्थी र अभिभावकमा भर पर्ने उल्लेख छ । भारतको इन्डिटिभीले जनाएअनुसार अभिभावकले लिखित अनुमति दिएपछि मात्रै विद्यार्थी पढाइका लागि विद्यालय आउन पाउनेछन् ।

विद्यालय र विद्यार्थीले सरकारले तय गरेको सुरक्षा उपाय पनि गम्भीरताका साथ पालना गर्नुपर्ने भारत सरकारले जनाएको छ । त्यसका लागि भारतको शिक्षा मन्त्रालयले विद्यालय र विद्यार्थीले पालना गर्नुपर्ने सुरक्षा उपाय तय गरेको छ । जसअनुसार कक्षाकोठामा विद्यार्थीलाई ६ फिटको दूरीमा राख्नुपर्नेछ । मास्क र प्रत्येक २० मिनेटको अन्तरमा ह्यान्ड ‘स्यानिटाइजर’ प्रयोग गर्नु अनिवार्य गरिएको छ । यस्तै, खोक्दा मुख छोप्नुपर्ने, थुक्न नपाइनेजस्ता नियम लागू गरिएको छ ।

नौ कक्षाभन्दा तलको पढाइ भने अनलाइनबाटै गर्न निर्देशन दिएको छ । ‘भारत सरकारले विभिन्न चरणमा विभिन्न क्षेत्रको गतिविधि सुरु गर्न अनुमति दिँदै छ । विद्यालय पनि यसरी नै चरणबद्ध तरिकाले खुल्नेछन्’, जागरण डटकमले स्वास्थ्यमन्त्री हर्षवर्धनलाई उद्धृत गर्दै लेखेको छ, ‘२१ सेप्टेम्बरबाट कक्षा नाैदेखि १२ कक्षाको पढाइ सुरु हुनेछ । विद्यार्थी स्वेच्छिक रूपमा विद्यालय आउन सक्नेछन् ।’

भारतमा गत मार्चदेखि नै विद्यालय बन्द गरिएको थियो । कोभिड– १९ महामारीका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत २५ मार्चमा लकडाउनको घोषणा गर्नु दुई दिनअघिबाटै देशभरका शैक्षिक संस्था बन्द भएका थिए । सरकारले कक्षा नौ र १२ को पढाइका लागि विद्यालयसँगै ट्युसन सेन्टर पनि सुरक्षाका उपायसहित सञ्चालन गर्न अनुमति दिएको छ ।

पाकिस्तानले भने देशभरको विद्यालयदेखि कलेज, विश्वविद्यालय र सबै खालका शैक्षिक संस्था खोल्न दिने निर्णय गरेको छ । पाकिस्तानले सबै प्रदेशका शिक्षामन्त्रीसँगको छलफलपछि सबै शैक्षिक संस्था खोल्ने निर्णय गरेको हो ।

बैठकपछि पाकिस्तानको संघीय शिक्षामन्त्री शाफ्कत मोहम्मदले १५ सेप्टेम्बरबाट विभिन्न चरणमा झन्डै तीन सय विद्यालय, कजेल र विश्वविद्यालयले पुनः आफ्नो गतिविधि सञ्चालन गर्ने बताए । उनका अनुसार पहिलो चरणमा १५ सेप्टेम्बरबाट देशभरको उच्च शिक्षाका केन्द्रहरू खुल्नेछन् । त्यही दिनबाट कक्षा नौदेखि १२ सम्मका विद्यार्थी पनि पढाइका लागि विद्यालय फर्कनेछन् ।

‘अवस्था सामान्य बन्ला भन्ने आशाका साथ यी निर्णय गरिएको छ,’ मन्त्री मोहम्मदले भने, ‘सोचेजस्तै भए कक्षा ६ देखि आठसम्मका विद्यार्थी पनि २३ सेप्टेम्बरबाट विद्यालय फर्कने छन् । यस्तै, ३० सेप्टेम्बरबाट नर्सरीदेखि कक्षा पाँचसम्मका विद्यार्थी पनि पढाइका लागि विद्यालयमा हुनेछन् ।’

मन्त्री मोहम्मदले विद्यार्थी र संलग्न सबैलाई भाइरस संक्रमणबाट सुरक्षित राख्न कडा नियम जारी गरिने जनाएका छन् । ती नियम उल्लंघन गर्नेलाई कडा कारबाही गरिने पनि उनले जनाए । त्यसमध्ये विद्यार्थी र शिक्षक सबैका लागि मास्क अनिवार्य गरिएको छ ।

पछिल्लो समय पाकिस्तानमा अभिभावकहरू पनि विद्यालय खोल्नुपर्ने पक्षमा देखिएका छन् । हालै गरिएको एक सर्भे रिपोर्टले पछिल्लो दुई महिनामा विद्यालय खोल्नुहुन्न भन्ने अभिभावकको संख्या ७३ प्रतिशतबाट घटेर ३७ प्रतिशतमा पुगेको देखाएको छ ।

पाकिस्तान कोरोना भाइरस संक्रमणको संख्या नाटकीय रूपमा घटाउने देशमध्ये परेको छ । कुनै समय दैनिक सात हजारको हाराहारी संक्रमित देखिएको पाकिस्तानमा पछिल्लो समय तीन सयको हाराहारीमा झरेको छ । त्यससँगै पाकिस्तानले संवेदनशील मानिएको शैक्षिक संस्थाहरू पनि खोल्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको धेरै संक्रमण देखिएको छिमेकी देश भारतसँगै पाकिस्तानमा शैक्षिक संस्था खोल्ने तयारी हुँदा नेपालमा भने त्यसतर्फ कुनै योजना हालसम्म देखिएको छैन । दैनिक संक्रमितको संख्या बढिरहेको अवस्थामा नेपालमा विद्यार्थी पढाइका लागि विद्यालय फर्कन भने अझै समय लाग्ने देखिएको छ ।