चीनको दाबी कोरोनाविरुद्धको खोप परिक्षण सफल भयो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चीनको दाबी कोरोनाविरुद्धको खोप परिक्षण सफल भयो



काठमाडौं- चीनले विकास गरेको कोरोनाभाइरसविरुद्ध खोप मानिसमा परिक्षण गर्दा सफल भएको छ ।

गएको १७ मार्चदेखि क्लिनिकल ट्रायल शुरुगरिएको खोपको नतिजा एकदमै सकारात्मक रिपोर्ट आएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

चीनले यो भ्याक्सिनको क्लिनिकल ट्रायलको लागि १०८ स्वयंसेवकलाई छानेको थियो । यो परीक्षणका लागि छानिएका स्वयंसेवकमध्ये १४ जनाले खोपको परीक्षण अवधि पूरा गरिसकेका छन् ।

१४ दिनसम्म क्वारेन्टाइनमा राखिएपछि उनीहरुलाई आ–आफ्नो घर पठाइसकिएको बेलायती पत्रिका डेलिमेलले लेखेको छ । यी सबै परीक्षण चीनको वुहान शहरमा गरिएको छ जहाँबाट कोरोनाभाइरस फैलिन सुरु भएको थियो ।

कोरोनाभाइरस संक्रमणले विश्वमै महामारीको रुप लिएको अवस्थामा अब भने भाइरस नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ ।

मार्च २२ मा ऊहान इभिनिङ न्यूजले जनाएअनुसार कोरोनाविरुद्धको खोप परीक्षणका लागि ४ हजार ६ सय ६७ स्वयंसेवकले नाम दर्ता गराएका थिए । तीमध्ये १ सय ८ जनालाई परीक्षणमा सामेल गराइएको हो ।

परीक्षणमा सामेल गरिएका १ सय ८ जनालाई तीन समूहमा विभाजन गरि क्वारेन्टाइनमा राखिएको थियो । तीन समूहमध्ये एउटा समूहलाई खोपको सामान्य डोज दिइएको छ भने अर्को समूहलाई मध्यम डोज दिइएको छ । यस्तै तेस्रो समूहलाई भने हेभी डोजमा खोप दिएर परीक्षण गरिएको अधिकारीहरुको भनाइ छ ।

परीक्षणमा १८ देखि ६० वर्ष उमेर समूहका मानिसलाई सहभागी गराइएको छ ।

भ्याक्स्निको परीक्षणपछि घर पठाइएका १४ जना नै पूर्ण रुपमा सुरक्षित र स्वस्थ पाइएका छन् । यीसबै जना अझै पनि मेडिकल निगरानीमै छन् । यो भ्याक्सिनलाई चीनको पिपुल्स लिबरेशन आर्मीकी सबैभन्दा बरिष्ठ वैज्ञानिक चेन वी र उनको टिमले विकास गरेको हो ।

परीक्षण गर्नका लागि छानिएका १०८ स्वयंसेवकहरु १८ वर्षदेखि ६० वर्ष उमेर समूहका छन् । यी सबैलाई तीन समूहमा बाँडिएको छ । तीनै समूहका स्वयेंवकहरुलाई भ्याक्सिनको फरक फरक मात्रा दिइएको छ । यी सबैलाई वुहान स्पेसल सर्भिस हेल्थ सेन्टरमा क्वारेन्टाइनमा राखिएको छ ।

यी सबैलाई फरक फरक दिन खोप दिइएकोले क्वोन्टाइन समय पूरा हुँदासम्म त्यहीँ बस्नुपर्नेछ र क्वारेन्टाइन अवधि पूरा भएपछि घर जान पाउनेछन् । आगामी केही हप्तामा सबै १०८ जना नै घर जान पाउनेछन् ।

क्वारेन्टाइन अवधि पूरा गरेर घर गइसकेका १४ जनालाई अझै ६ महिनासम्म मेडिकल निगरानीमा राखिनेछ । हरेक दिन उनीहरुको मेडिकल टेस्ट हुनेछ । यो ६ महिनामा यदि उनीहरुको शरीरमा कोरोनाभाइरसको संक्रमण भएमा उनीहरुको शरीरले कसरी प्रतिक्रिया दिन्छ भन्ने हेरिनेछ ।

जब उनीहरुको शरीरमा कोरोनाभाइरससँग लड्ने क्षमता विकास हुनेछ अर्थात उनीहरुको शरीरमा भाइरससँग लड्ने एन्टिबडी बन्न थाल्नेछ त्यसपछि उनीहरुको रगतको नमूना लिएर भ्याक्सिनलाई बजारमा पठाइनेछ ।

वैज्ञानिक चेन वीका अनुसार पहिलो परीक्षण लगभग सफल भएको छ । उनले यो भ्याक्सिनको क्षमता पूर्ण रुपमा थाहा भएपछि अन्तर्राष्ट्रिय स्तरमा सम्झौता गरेर विश्वभर पठाउने बताइन् ।