किम जोङको आदेशमा कोरोना लागेका उत्तर कोरियालीको हत्या - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

किम जोङको आदेशमा कोरोना लागेका उत्तर कोरियालीको हत्या



काठमाडौं- चीनबाट फर्किएका एक उत्तर कोरियाली नागरिकको हत्या गरिएको छ ।

कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएका उनको हत्या गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

कोरियाली अधिकारीले चीनबाट फर्किएका एक सरकारी अधिकारीको हत्या गरेको दोङ–ए इल्बो पत्रिकालाई उदृत गर्दै डेलीमेलले जनाएको छ।

ती सरकारी अधिकारी हालै चीनबाट फर्किएका थिए। कोरोनाभाइरसको आशंकामा उनलाई क्वारेन्टाइनमा राखिएको थियो।

तर ती व्यक्ति सार्वजनिक स्थलमा नुहाउन गएपछि भाइरस फैलने त्रासका कारण गोली हानी उनको हत्या गरिएको बताइएको छ।

सर्वोच्च नेता किम जोङ उनको आदेशमा ती व्यक्तिको हत्या गरिएको दक्षिण कोरियाली पत्रिकाले दाबी गरेको छ।

उत्तर कोरियामा सूचनाको पहुँच कम भएकाले हालसम्म उत्तर कोरियामा कति कोरोनाभाइरसबाट संक्रमति भए भन्नेबारे तथ्यांक प्राप्त भएको छैन।

चीनको हुपेइ प्रान्तको वुहान शहरमा पहिलोपटक नयाँ कोरोनाभाइरस देखिएको थियो। २५ भन्दा बढी शहरमा फैलिएको यस भाइरसलाई विश्व स्वास्थ्य संगठनले कोभिद–१९ नाम दिएको छ।

बिहीबारसम्मको तथ्यांकअनुसार यस भाइरसबाट मृत्यु हुनेको संख्या १३ सयभन्दा बढी पुगेको छ। चीनबाहिर २ जनाको मृत्यु भएको छ।

यसको संक्रमण ६० हजारभन्दा बढीमा देखिएको छ। चीनबाहिर ५ सयको हाराहारीमा संक्रमित छन्। कोरोनाको खतरा मध्यनजर गर्दै डब्लुएचओले स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरेको छ।

विश्व एक भएर यस भाइरसविरुद्ध लड्नुपर्ने डब्लुएचओको भनाइ छ।