किन खोलियो विश्व सञ्जाल यसो भन्छन केसी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

किन खोलियो विश्व सञ्जाल यसो भन्छन केसी



भारतमा रहेका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरू सङ्गठित गर्न प्रजातन्त्रका संवाहक तथा नेपाली काँग्रेसका संस्थापक नेता र पहिलो जन निर्वाचित प्रधान मन्त्री महामानव विपी कोइरालाले नेपाली काँग्रेसको लोकत्रान्त्रिक आन्दोलनका गतिविधि हरूको अभियानलाई गतिशील रूपमा अगाडी बढाउन नेपाली जनसम्पर्क समिति भारतको गठन गर्नु भएको थियो। विदेशमा रहेका नेपाली काँग्रेसका नेता र कार्यक्रता तथा शुभेक्ष्यकहरुलाई सङ्गठित गर्ने हेतुले स्थापना गरिएको नेपाली जनसम्पर्क समिति अहिले विश्वका चार दर्जन मुलुकहरूमा सक्रिय छन्।

लोकतन्त्र, राष्ट्रियता र समाजवाद नेपाली जनताका हक अधिकारहरूका आधारभूत सेवा र सुविधाहरूको आवश्यकतालाई सम्बोधन गर्ने तमाम देश प्रेमी तथा राष्ट्र भक्त लोकतान्त्रिक बिचारको शक्ति नेपाली काँग्रेसको चार तारे झन्डा मुनि गोल बन्द छन्। नेपालीहरूको हक,हित र मानव अधिकारको रक्षार्थ र पार्टीको मजबुत बनाउने जिम्मेवारी सहित अन्तर्राष्ट्रिय नेपाली जनसम्पर्क समन्वय समिति विश्व सञ्जालको अहिले गठन गरिएको छ। उक्त  विश्व सञ्जालका एक जना अगुवा तथा अभियन्ता उपसभापति चित्र केसी संग हिमाल पोस्टले गरेको कुराकानी जस्ताको तस्तै :

विश्व सञ्जालका उपसभापति  बाग्लुंगमा जन्मी बुटवलमा स्थाई बसोबास रहेका केसी अबुधाबी, युएईलाई आफ्नो कर्म भूमि बनाएका छन्। समाजशास्त्रमा स्नातकोत्तर गरेका केसी नेविसंघको बिधार्थीको राजनीतिक पृष्ठभूमि भएको चित्र केसी नेपाली जनसम्पर्क युएईको संस्थापक सभापति र १३ औ महाधिवेशनको महासमिति सदस्य हुन। युएईका विभिन्न नेपाली सङ्घ संस्थाहरूमा सक्रिय केसी गैर आवासीय नेपाली सङ्घ युएईका आईसीसी सदस्य निर्वाचित भएका छन्।

अहिले नेपाली जनसम्पर्क समितिको के महत्त्व छ?

नेपाली जनसम्पर्क समितिले नेपालको लोकतान्त्रिक आन्दोलनमा ठुलो बलिदानसहितको योगदान र समर्पण गरेको नेपाली काँग्रेस पार्टीको भातृसंगठन हो। त्यसैले नेपाली काँग्रेस पार्टीले विदेशमा रहने नेता कार्यक्रता र शुभेक्ष्यकहरुको कार्य अनुसारको जिम्मेवारीलाई कदर गर्दै ऐतिहासिक भातृसंगठनलाई एक नेपाली जनसम्पर्क समितिलाई, एक निर्वाचन क्षेत्र बाराबारको हैसियत प्रदान गरी १२ औ माहधिबेसन देखि केन्द्रीय नेतृत्व चयन र बिधिबिधान निर्माणमा सहभागी गरी पार्टीको अभिन्न अङ्गको रूपमा जिम्मेवारी दिई मार्ग निर्देश गर्दै आइरहेकोमा विदेशमा रहने सबै लोकतन्त्रवादीहरूको माउ पार्टी नेपाली काँग्रेस प्रति धेरै आभारी छौ।

 नेपाली जनसम्पर्क समिति हुँदा हुँदै अन्तर्राष्ट्रिय समन्वय समिति विश्व सञ्जाल किन आवस्यक भयो अहिले? यसको मुख्य उद्देश्य के हुन ?

जन नायक विपी कोइरालाद्वारा भारतबाट स्थापना भएको नेपाली जनसम्पर्क समिति अहिले विश्वको ४ दर्जन मुलुकहरूमा समितिको सञ्जाल फैलिएको छ। यी समितिहरूलाई समन्वय गर्न र पार्टी भित्र भएको गुट उपगुट बन्दीलाई खतम गर्न विश्व सञ्जालको महत्त्व पूर्ण भूमिका हुन्छ। विश्व भरी छरिएर रहेका आम नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता एवम् शुभचिन्तकहरूलाई सङ्गठित गरी नेपाली काँग्रेस पार्टीलाई मजबुत र बलियो बनाई सहयोग गर्नु नै विश्व सञ्जालको मुख्य जिम्मेवारी हो । पार्टीको मजबुदिको लागी आपसी सद्भाव र भाइचाराको सम्बन्धले सकारात्मक रूपमा सङ्गठित हुनु नै अर्को विकल्प छैन। विश्व सञ्जालको प्रमुख काम र कर्तव्य भनेको पार्टीको नीति र निर्देशन भित्र रहेर पार्टीका हरेक गतिविधिलाई सक्रिय रूपमा सहयोग गर्ने हुने छ। पार्टीको संस्थागत विकास गर्न आर्थिक, भौतिक , राजनैतिक,वैधानिक र संगठानिक सबै पक्षलाई सहयोग गर्न विश्व सञ्जालले पुरा मद्दत पुराउने छ। नेपाली जनसम्पर्क समितिका सक्रिय नेता तथा कार्यकर्तालाई काम गर्ने खुला मैदानको स्वच्छ वातावरण निर्माण गर्ने छ । नेपाली जनसम्पर्क समितिको कामको क्षेत्र धेरै फराकिलो हुनेछ। अहिलेको पार्टी कमजोर भएको अवस्थामा विश्व सञ्जालले नेपाली काँग्रेसको एक मेरुदण्डको रूपमा कार्यक्रताहरुको उच्च मनोबल र भरोसा प्रदान गरी पार्टीलाई थप सशक्त बनाउन गर्ने काममा अहमद भूमिका निर्वाह गर्ने छ।यसै कारण हामीले विश्व सञ्जाल गठन गरेका छौ।

के विश्व सञ्जाल गठन गर्न घनिभुत छलफल भएको थियो ?

नेपाली जनसम्पर्क समितिहरूमा विश्व सञ्जालको आवश्यकताको महसुस सबै देशका जनसम्पर्क समितिका साथीहरूले गर्नु भएको थियो। तर कसरी गठन गर्ने भन्ने विधि र प्रक्रिया अलि नमिलेको थियो। विगत केही समय अघि देखिबाट यसको गठन गर्नु पर्दछ भनेर विभिन्न पक्षहरूमा अनौपचारिक छलफल र बहस पनि चली रहेको थियो। संसारको विभिन्न मुलुकमा बस्ने मानिसको समय फरक हुने भौगोलिक रूपमा एकै ठाउँमा हुन कठिनाइ भएकोले भौतिक रूपमा एकै ठाउँमा हुन सकिएन। तर पनि छल फल भएको छ। हुँदै छ। यो हाम्रो सङ्गठनको आन्तरिक कुरा भएकोले सबैको भावना मर्म र नेपाली काँग्रेसका आदर्शको बारेमा सधैँ छलफल बहस हुँदै जान्छन्।

के पार्टीको अनुमतिले विश्व सञ्जाल गठन गरेको हो?

यो सुरुवादको प्रक्रिया भएकोले नेपाली काँग्रेसले हरेक देशको राष्ट्रिय नेपाली सम्पर्क समितिलाई मात्र प्रतिनिधि सभाको एक निर्वाचन क्षेत्र बराबर मानेको छ तर विश्व सञ्जालको बारेमा कुनै व्यवस्था विधानले गरेको छैन। पहिला राष्ट्रिय जनसम्पर्क समितिलाई पनि विधानले मान्यता दिएको थिएन तर पछि २००९ सालमा विधानले व्यवस्था गरेको थियो। अहिले विश्व सञ्जाल पनि विधानमा नभएकोले पार्टीको अनुमति भन्दा पनि शीर्ष र मुख्य नेता तथा जनसम्पर्क समितिका अग्रज तथा सभापति, महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्य, सुभेक्ष्यकहरुको सल्लाह सुझावले गठन गरेका हौ।

यो विश्व सञ्जालमा सबै समेटिएका छन् त? प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

यो अहिले हामीले गठन गरेको तदर्थ समिति भएकोले एकै ठाउँमा भेला हुने सम्भावना न्यून भएको भौगोलिक दृष्टिले पनि हो।सुरुको गठन प्रक्रियामा सबै साथीहरूलाई एकै चोटि पहिलो चरणमा समेट्न सकिएको छैन तर हाम्रो अभियान निरन्तर जारी छ। छुटेका साथीहरूलाई समायोजन गर्ने र सञ्जाललाई मजबुत बलियो बनाउने। जुन साथीहरू छुट्नु भएको छ। छुटेका सबै साथीहरूलाई समेटेर एक साथ जाने छौ। सुरुको चरणमा केही छुट फुट भएकोले सामान्य विरोधका स्वरहरू आए पनि अहिले सञ्जालको आवाश्कता र औचित्यको पुष्टि साथीहरूलाई हुँदैछ। त्यसैले सबै साथीहरू सकारात्मक नै हुनुहुंछ।

यो तदर्थ समिति हो भने यसको महाधिवेशन कहिले हुन्छ त?

अहिले हामीले गठन गरेको विश्व सञ्जाल तदर्थ समिति नै भएकोले पार्टीका नेता ज्यूहरू सँग मौखिक रूपमा छलफल धेरै नै भएकै छ। यस बारेमा उहाँहरू सकारात्मक हुनुहुंछ। यसको गठन प्रक्रिया र पार्टीले सम्बोधन गर्ने विधानले स्पष्ट गर्ने छ। त्यसको लागी केही समय पछि पार्टीको महासमितिको बैठक हुँदैछ। त्यस बैठकमा विश्व सञ्जालको उद्देश्य र आवश्यकताको बारेमा महासमिति बैठकमा हाम्रो एजेन्डा राख्ने छौ। किन कि यस सञ्जालमा आबद्ध अधिकतम महासमिति सदस्यहरू छौ।