मसँग हार्छु भन्ने डरले प्रकाशमान र रवीन्द्रले भ्रम फैलाए: किरण पौडेल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मसँग हार्छु भन्ने डरले प्रकाशमान र रवीन्द्रले भ्रम फैलाए: किरण पौडेल



राप्रपाका रविन्द्र मिश्रलाई समर्थन दिन लौरोधारी डम्बर साहुले उम्मेदवारी निस्क्रिय पार्दैगर्दा एमालेका किरण पौडेल आज नयाँ बानेश्वरको अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै थिए ।

काठमाडौं- १ का उम्मेदवार पौडेलले आफ्नाबारे प्रतिस्पर्धीहरूले कुप्रचार गरेको आरोप लगाए । उनले नामै त किटेनन् तर संकेतचाहिँ कांग्रेसका प्रकाशमान सिंह र राप्रपाका मिश्रतिरै थियो ।

बिहानसम्म काठमाडौं महानगरपालिका- ३१ मा भोट माग्दै घरघर डुलिरहेका पौडेलले मिश्रको समर्थनमा मैदान छोड्न लागेको हल्ला एकाएक फैलिएकाे थियाे । यसलाई उनले प्रतिस्पर्धीले महसुस गरेको ‘थ्रेट’का रूपमा व्याख्या गरे ।

‘मसँग हार्छु भन्ने डरले उहाँहरूले भ्रम फैलाइरहनुभएको छ तर जति नै कुप्रचार गरे पनि जित्ने मैले नै हो’, उनले भने ।

आफू युवा पुस्ताको आधिकारिक प्रतिनिधि भएको भन्दै उनले १५ वर्षदेखि बारम्बार एउटै व्यक्ति र शून्यप्राय उपलब्धिका कारण मतदाताले आफूलाई रोज्ने विश्वास उनले व्यक्त गरे । ‘म जति ठाउँमा पुगेँ, सबै ठाउँमा दिल खोलेर मतदाताले मलाई स्वागत गरे र शुभकामनासाथ मत दिने वाचा पनि गरे’, उनले भने, ‘म एकाएक यो क्षेत्रमा आएको पनि होइन । हाम्रो पूर्वतयारी थियो । त्यसैले त विपक्षीहरू आत्तिएका छन् ।’

राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्षसमेत रहेका पौडेलले १५ वर्षदेखि प्रकाशमान सिंहले जिते पनि काठमाडौं- १ मा मतदाताको भावनाअनुसार काम नगरेको आरोप लगाए । भने, ‘भोट माग्न जाँदा धेरैको गुनासो थियो- पहिला जितेका सांसद हालखबर सोध्न फर्केरै आएनन्, हामीले आफ्नो गुनासो सुनाउनै पाएनौँ । प्रकाशमान दाइले १५ वर्षमा मतदाताको चाहनाअनुसार काम गर्नुभएन ।’

आफू निर्वाचित भएको भोलिपल्टैदेखि जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने उनले बताए । ‘त्यसपछि आधाभन्दा बढी जनगुनासो सम्बोधन हुने छ’, पौडेलले भने ।

उनले आफू टिकटक र फेसबुकबाट नभएर युवा पुस्ताबाट उदाएको नेता भएको बताए । ‘त्यसैले म प्रकाशमान सिंहलाई चुनौती दिन चाहन्छु, मंसिर ४ को चुनाव जितेर देखाउनुहोस्, अनि तपाईंले फैलाएका हल्लामा दम छ भन्ने मानौँला ।’

उनीभन्दा अगाडि बोलेका काठमाडौं- १ (ख) का उम्मेदवार गणेश दुलालले गल्लीगल्ली डुलेर रविन्द्र मिश्र र कांग्रेसीहरूले किरण पौडेलबारे भ्रम फैलाएको आरोप लगाए । जेजस्ता भ्रम फैलाए पनि मंसिर ५ पछि किरण पौडेल नै विजयी हुने उनको दाबी थियो । उनी प्रदेशसभा (ख) का निवर्तमान सांसद पनि हुन् ।