प्रकाशमानसँग मतदाता असन्तुष्ट, के काठमाडौं १ मा किरणले जित्दैछन् ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रकाशमानसँग मतदाता असन्तुष्ट, के काठमाडौं १ मा किरणले जित्दैछन् ?



काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिदैं जाँदा काठमाडौं १ मा चुनावी राप–ताप बढिरहेको छ । ४५ हजार १८ मतदाता रहेको काठमाडौं क्षेत्र नं. १ लाई देशभरमै सबैभन्दा महत्वको क्षेत्र मानिन्छ । किनभने, यही क्षेत्रमा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए ।

त्यसबाहेक काठमाडौं १ ले सबैको ध्यान सधैं तान्नुको कारण यो क्षेत्रमा वौद्धिक र पढेलेखेका मतदाता बढी छन्, जसले निर्वाचनमा विवेकको प्रयोग बढी गर्छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई जिताउनका लागि यो क्षेत्रको युवा मतदाताको उल्लेखनीय भूमिका छ ।

तर, यो पटक प्रतिनिधिसभाको निर्वाचनमा भने काठमाडौं १ ले सबैलाई फरक नतिजा दिनसक्ने आँकलन गरिएको छ । यो क्षेत्रबाट पछिल्ला केही निर्वाचनहरुमा लगातार जित्दैं आएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहप्रति मतदाताहरुमा असन्तुष्टि छ ।

संसदमा सिंहको भूमिकालाई लिएर यो क्षेत्रका मतदाता निराश छन् भने महाधिवेशनमा आफू सभापतिको उम्मेदवारबाट ब्याक भएर शेरबहादुर देउवालाई समर्थन गरेकोमा एकथरि कांग्रेसजनहरु रुष्ट छन् । ‘उहाँले शिखर पुरुष गणेशमान सिंहको राजनीति आदर्शलाई पनि कायम गर्न सक्नुभएन्,’ लामो समयदेखि कांग्रेसमा सक्रिय रहेका शंखमुलका एक कार्यकर्ताले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘पार्टीलाई राजनीति बाटोमा डोर्याउने अवसर आएका बेला उहाँले पूरानै असफल नेतृत्वलाई समर्थन गरेर पार्टीलाई गतिहीन बनाउन भूमिका खेल्नुभयो ।’

काठमाडौं १ का धेरै कांग्रेस मतदाता प्रकाशमानबाट रुष्ट देखिन्छन् । उनीहरुको मत अन्य उम्मेदवारमा बाँडिने प्रष्ट संकेतहरु फिल्डमा पाइन्छन् । अझ कांग्रेसका मतदाताको भोट राप्रपाका उम्मेदवार रवीन्द्र मिश्र, सुशासन पार्टीका रमेश खरेल, स्वतन्त्र उम्मेदवार पुकार बमसम्म बाँडिने देखिन्छ । ३१ जना उम्मेदवार रहेको यो निर्वाचन क्षेत्रमा बाहिर त्यति चर्चा नभएपनि भित्र–भित्र आँधी ल्याउने गरी तयारी गरिरहेका छन्,–एमाले प्रतिनिधिसभा उम्मेदवार किरण पौडेल । २० वर्षदेखि संखमुलमा बस्दैं आएका उनी स्थानीयका मर्दापर्दाका साथी पनि हुन् । विसं २०७२ को महाभूकम्प, कोभिड–१९ ,काठमाडौँमा चुलिएको फोहरमैलाको बिकराल समस्या विरुद्ध दबाबमूलक सरसफाई अभियान र डेंगी सचतेना तथा लामखुट्टे नियन्त्रण अभियानमा उनले खेलेको भूमिकाले पनि धेरैको मन जितेको छ ।

एमालेको भातृ संगठन युवा संघ, नेपालका अध्यक्ष रहेका किरण पौडेल मतदातामाझ आफूलाई एमाले पार्टीको मात्रै नभएर युवाहरुको सोचको प्रतिनिधीत्व गर्ने उम्मेदवारका रुपमा चिनाइरहेका छन् ।

बालेनलाई भोट दिएका बबरमहलका एक युवाको घरमा भोट माग्न पुग्दा प्रतिनिधिसभा काठमाडौं क्षेत्र नं. १ उम्मेदवार किरण पौडेललाई ती युवाले जवाफ दिए, ‘म राजनीतिमा युवा अनुहार आउनुपर्छ । उनीहरुले मात्रै समाज बदल्न सक्छन् भन्नेमा विश्वास गर्छु । त्यही कारण म तपाईको बारेमा सकारात्मक छु । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति भने अरुलाई गाली गरेकोजस्ता कुराहरुलाई लिएर आलोचना गरे ।

मतदाताका प्रतिक्रियाहरुले डेमोक्र्याट मत बाँडिने निश्चित जस्तै छ । जुन मत प्रकाशमान, रवीन्द्र, रमेश र पुकार बमसम्मले बाँडिनेछ । काठमाडौं १ मा स्थानीय तहमा वडाध्यक्षले पाएको मतका आधारमा पहिलो स्थानमा रहेको नेपाली कांग्रेसको ९ हजार ८ सय ९५ भोट छ । जुन एमालेभन्दा ३५४ मतले मात्रै बढी हो । एमाले वडाध्यक्षहरुले यो क्षेत्रमा ९ हजार ५ सय ४१ मत पाएका थिए । यो निर्वाचन क्षेत्रमा राप्रपा वडाध्यक्षले पाएको मत १ हजार ३ सय ७६ र माओवादी केन्द्रका वडाध्यक्षहरुले १ हजार १ सय ५९ मत मात्रै पाएका थिए ।

स्थानीय तहको मतदानको आँकडालाई विश्लेषण गर्ने हो भने गठबन्धनको मत जोड्दा पनि प्रकाशमान कन्फर्ट जोनमा देखिदैनन् । किनभने, एमालेसँग कांग्रेस नेतृत्वको गठबन्धनको मत १ हजार ७ सय ३० ले मात्रै बढी छ । रोचक त के भने नेपाली कांग्रेसको यही मतको विभाजन रवीन्द्र मिश्र, पुकार बम र रमेश खरेलसम्म हुनेछ । यी उम्मेदवारलाई एमालेको पनि केही मत जान सक्छ । यदि एमाले उम्मेदवार पौडेलले स्थानीय तहमा आफ्नो वडाध्यक्षले पाएको मत मात्रै इन्ट्याक्ट राख्न सकेमा उनी विजय नजिक देखिन्छ ।

बढी मत भएर पनि प्रकाशमानलाई लगभग आफ्ना मतदाताहरुलाई कायम राख्न गाह्रो निश्चितप्रायः देखिन्छ । किनभने, यसमा उनले लामो समयदेखि जित्दै आएपनि संसदको नीति निर्माण तहमा खेलेको कमजोर भूमिका, काठमाडौंमा रहेको गगन भर्सेस प्रकाशमान फ्याक्टर र उनको आन्तरिक पार्टी राजनीतिमा महाधिवेशनको भूमिकालाई कारक मानिएको छ । गत निर्वाचनमा प्रकाशमानका मुख्य प्रतिस्पर्धी रहेका रवीन्द्रलाई कतिपयले पछिल्लो समय उनको विवेकशील साझा हुँदैं राप्रपामा पुगेर राजा बोक्ने यात्रालाई रुचाएका छैनन् ।

यो ढुलमुलबीच काठमाडौं क्षेत्र नं. १ उम्मेदवार किरण पौडेल युवा मतदाताहरुलाई आफू युवाहरुको सिर्जनशील प्रतिभा भएको भन्दैं मत मागिरहेका छन् । पार्टीको मात्र नभएर युवाको उम्मेदवार भएको उनको राजनीति फर्मुलाले थोरै मात्र काम गरेमा र स्थानीय तहमा एमाले वडाध्यक्षलाई खसेको भोट कायम राख्न सकेमा उनले जित्ने सम्भावना प्रबल देखिन्छ ।