कलाकारितामा सङ्घर्ष गर्दै किरण - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कलाकारितामा सङ्घर्ष गर्दै किरण



-केशर सिंह ठकुरी

अभिनय क्षेत्रमा परिचित नाम हो किरण शर्मा । बुवा हरिहर शर्मा र आमा तिलकुमारी शर्माको पहिलो सन्तानको रूपमा २०५४ सालमा जन्मेका किरण अभिनयमा आफ्नो भविष्य देख्ने गरेको बताउँछन् ।

रुकुम जिल्लाको रुकुमकोटमा जन्मेका किरण भौगोलिक विकटताको बाबजुद पनि अभिनयमा निरन्तर लागिरहेका छन् । स्कुले जीवन देखि नै कलाकारितामा विशेष रुचि भएका किरण आर्थिक र जन्मस्थानको भौगोलिक विकटताले गर्दा अलि पछाडि परेको बताउँछन् ।

“घर परिवारबाट आर्थिक सहयोग नहुने, कलाकारिताका लागी काठमाडौँ बस्नु पर्ने अर्को बाध्यताले गर्दा पनि सोचे अनुसार प्रगति गर्न सकेको छैन !” किरणले बताए । उनले कलाकारिता प्रवेशको समय सम्झँदै भने” बा आमा पढोस् मात्र भन्ने सोच्नुहुन्थ्यो, मलाई पढाइमा भन्दा अभिनयमा रुचि थियो । बा आमाको रहरलाई भुल्न नि सक्दैनथे अनि आफ्नो रुचिलाई मार्न नि सक्दैनथे ।”

उच्च शिक्षा अध्ययनका लागी रुकुम बाट दाङको घोराही झरेका किरण साथी बामदेवको सहयोगले गर्दा नै आज अभिनयमा फड्को मार्न सकेको बताउँछन् । “पढाइ भनेर घोराही आफन्तको घरमा बसियो, तर पढाइमा मनै नभएसी साथी बामदेवको सहयोगमा काठमाडौँ गए, उनकै कोठामा बसे अनि उनकै सहयोगमा मण्डला थिएटरमा अभिनय सम्बन्धी दस महिने तालिम लिए ।”

पुराना सङ्घर्षका दिन सम्झँदै उनले भने” तालिम लिनको लागि पनि कम्ता आर्थिक सङ्कट बेहोर्नु परेन मलाई , कहिले ज्यामीको काम गरे भने कहिले चौकीदार ।”

मण्डला थिएटरमा हुने नाटकहरू अन्धो बुवा , आरोप जस्ता बहुचर्चित नाटकमा अभिनय गरेका किरण हास्य टेलिसिरियल खलबलमा पनि अभिनय गरेका छन् । करिब आधा दर्जन सर्ट मुभीमा आफ्नो कुशल अभिनय पस्केका किरण अभिनय क्षेत्रका आसलाग्दा कलाकार भएको बताउँछन् वामदेव गौतम । ” उ भित्र भएको अभिनयको क्षमतालाई देखेर नै मैले उसलाई काठमाडौँ आउन प्रेरित गरेको हु । ”

किरण अभिनीत कर्णाली प्रदेशको दुख वेदना अनि नेपाली समाजको कुंसस्कारहरुलाई चिर्ने उद्देश्यले निर्माण भएको चलचित्र अधुरोको प्रदर्शन बाट अझ धेरै हौसला मिलेको पनि उनले बताए । “बाल बिबहा , गरिबी अनि सामाजिक कुरीतिका समस्या लाई दर्शाउन बनेको चलचित्र अधुरो बाट मलाई धेरै हौसला मिलेको छ । दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ । ” किरणले बताए ।