विप्लव नेकपा र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

विप्लव नेकपा र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुने



काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच पार्टी एकता हुने भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किरातीले अब व्यापक ध्रुवीकरणमा जाने बताउँदै यस्तो खुलाएका हुन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष किराँतीले एकताको लागि नेत्रविक्रम चन्द ‘विप्लवसँग’ छलफल भैरहेको जानकारी दिए । ‘आगामी बैशाखमा राष्ट्रिय सम्मेलन हुँदैछ, त्यतिवेलासम्म वातावरण बन्छ ।’ उनले भने ।

गएको यही मंसिर ८ गतेदेखि मंसिर १० गतेसम्म काठमाडौं बसेको पार्टीको केन्द्रीय समितिको छैठौं बैठकले ध्रवीकरणमा जाने निर्णय गरेको उनको भनाई थियो ।

देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने पनि निर्णय गरिएको पार्टीले जनाएको छ । उक्त पार्टीद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ–‘देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्न, एमसीसी र भूमि अतिक्रमण जस्ता इण्डो–अमेरिकन आतंक विरुद्ध जनप्रतिरोध आन्दोलन सशक्त बनाउन, डवल नेकपा सरकारका भ्रष्टाचारी, फासिवादी, राष्ट्रघाती हर्कतको विरोध गर्न, एकल रुपमा देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने निर्णय गरियो ।’

कार्यक्रममा पार्टीका उपाध्यक्ष विनोदकुमार उपाध्यायले धन्यवाद मन्तव्य राखेका थिए । उनले नयाँ ढंगको विचारको विकास गरिराखेको सुनाउँदै एकजुट भएर क्रान्तिकारी विचारको विकास गर्नुपर्नेमा जोड दिए । उनले देशभक्तिपूर्ण आन्दोलन गर्नुको पनि बताए । कार्यक्रममा पार्टीका महासचिव राजन तिमल्सिनाले विज्ञप्ती वाचन गरेका थिए ।