को हुन् कांग्रेसको पहिलो जित निकाल्ने योगेश गौचन ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

को हुन् कांग्रेसको पहिलो जित निकाल्ने योगेश गौचन ?



नेपाली कांग्रेसले मुस्ताङबाट पहिलो जित निकालेको छ । मुस्ताङबाट कांग्रेस उम्मेदवार २९ वर्षीय योगेश गौचन थकालीले एमालेका उम्मेदवार प्रेमबहादुर तुलाचनलाई पराजित गरेका हुन् ।

गौचनले ३ हजार ९९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे । कांग्रेस नेता रोमी गौचन थकालीका २९ वर्षीय छोरा योगेशले इन्ट्रीमै बाजी मारेका छन् । अघिल्लो चुनावमा एमालेका तुलाचनले कांग्रेसका रोमी गौचनलाई पराजित गरेका थिए । कांग्रेसले उम्मेदवार बनाएका ९१ जनामध्ये सम्भवतः थकाली सबैभन्दा कम उमेरका उम्मेदवार हुन् ।

उनी होटल व्यावसायदेखि पर्यटन व्यवसायमा जोडिएका थिए ।थकालीले जिल्लामा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए । नेविसंघको राजनीतिसँगै भूगोलमा पनि जोडिएका थकाली जिल्ला कार्यसमिति सदस्य पनि सानै उमेरमा भएका थिए ।

अहिले कांग्रेसको महासमिति सदस्य रहेका उनी गण्डकी प्रदेश कार्यसमितिमा समेत छन् । आफ्ना छोरालाई राजनीतिमा अघि सारेका रोमी राजनीतिमा युवामार्फत परिवर्तनको सन्देश दिन खोजेको बताउँछन् ।

राजनीतिसँगै पर्यटन व्यवसायमा रहेका योगेशले लामो समय निर्माण व्यवसायसँगै राजनीतिमा रहेका तुलाचनलाई पराजित गरेका छन् । स्थानीय स्तरमा बलियो संगठन रहेको एमालेका उम्मेदवार भएका कारण पनि तुलाचन बलिया मानिन्थे ।

३० वैशाखमा भएको स्थानीय चुनावमा पनि एमाले हावी भएको थियाे । एमालेले मुस्ताङका ५ स्थानीय तहमध्ये ४ पालिकाको अध्यक्ष जितेको छ । कांग्रेस एउटा पालिकाको अध्यक्ष र २ उपाध्यक्षमा सीमित रहेको छ । पालिका अध्यक्षको मतभार हेर्दा एमाले करिब ४ सय मतले अगाडि छ भने उपाध्यक्षको मत हेर्दा करिब ५० मतले कांग्रेस अगाडि छ ।