एक ओभरले विराट कोहलीको वाहवाही - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

एक ओभरले विराट कोहलीको वाहवाही



काठमाडौं । पूर्वकप्तान विराट कोहलीले अर्को एक अविस्मरणीय इनिङ्स खेलेपछि भारतले आइतबार आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–१२ मा चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानमाथि चार विकेटको रोमाञ्चक विजय हासिल गरेको छ । जितपछि भावुक बनेका कोहलीले आफूसँग व्यक्त गर्नका लागि शब्द नभएको बताए ।

कोहलीले ५३ बलमा ६ चौका र ४ छक्कासहित अविजित ८२ रन बनाएका थिए । उनले हार्दिक पाण्ड्यासँग पाँचौँ विकेटका लागि ११३ रनको साझेदारी गरेका थिए । पाण्ड्याले ३७ बलमा ४० रन बनाए । रोमाञ्चक बनेको अन्तिम ओभरको अन्तिम बलमा भारतलाई एक रन आवश्यक थियो । रविचन्द्रन आश्विनले मोहम्मद नावाजको बललाई मिडअफमा पठाएर एक रन लिएर भारतलाई जिताए ।

जितपछि भारतका खेलाडीले कोहलीलाई घेरेका थिए । र, मैदानबाट बाहिरिँदा कोहलीलाई काँधमा बोकेका थिए ।

“यो एक अविस्मरणीय क्षण हो । यतिबेला मसँग बोल्नका लागि कुनै शब्द छैन । थाहा छैन यो कसरी भयो । म साँच्चै शब्दहरूको लागि हराएको छु,’’ खेलपछि कोहलीले भने ।
कोहलीले अन्तिम ओभरतिर लक्ष्य पूरा गर्नका लागि पाण्ड्यासँग बनाएको योजनाबारे पनि भने, ‘‘हार्दिकलाई हामीले लक्ष्य पूरा गर्न सक्छौँ भन्ने विश्वास थियो । यदि हामी अन्तिमसम्म क्रिजमा रह्यौँ भने जित्छौँ । शाहीनले पभेलियन इन्डबाट बलिङ गरे । हामीले उनीमाथि हाबी हुने योजना बनायौँ । त्यसपछि ह्यारिस पाकिस्तानको मुख्य बलर थिए । मैले उनकै बलमा दुई छक्का प्रहार गरे । त्यसपछि नवाजको एक ओभरमात्र बाँकी रह्यो । हामी नवाजमाथि हाबी हुन सक्यौँ भने पाकिस्तान दबाबमा हुन्छ भन्ने थियो । ८ बलमा २८ रन आवश्यक थियो । ६ बलमा १६ रन आवश्यकता पर्ने अवस्थामा पुग्यौँ ।’’

३३ वर्षे कोहलीको यो ट्वान्टी–२० अन्तर्राष्ट्रिय करियरकै सबैभन्दा राम्रो इनिङ्स बन्यो । सम्भवतः मोहालीमा अस्ट्रेलियाविरुद्ध खेलेको इनिङ्स भन्दा पनि राम्रो ।

‘‘आज यहाँ उभिँदा मलाई गर्व महसुस भएको छ । अहिलेसम्म मोहालीमा अस्ट्रेलियाविरुद्धको मेरो इनिङ्स सबैभन्दा उत्कृष्ट थियो । आजबाट म यस इनिङ्सलाई उच्च गणना गर्नेछु । हार्दिकले मलाई साथ दिए । दर्शकको साथ अभूतपूर्व थियो । तपाईंहरूले (समर्थकहरू) मलाई समर्थन गरिरहनुभयो । र म तपाईंको समर्थनको लागि आभारी छु,’’ कोहलीले भने ।