सिरहाको सभापतिमा सिरहा क्षेत्र नं ४ का सांसद रामचन्द्र यादव विजयी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सिरहाको सभापतिमा सिरहा क्षेत्र नं ४ का सांसद रामचन्द्र यादव विजयी



लहान, पुस १७ गते । नेपाली काँग्रेस सिरहाको सभापतिमा सिरहा क्षेत्र नं ४ का सांसद रामचन्द्र यादव विजयी हुनुभएको छ । गएराति सम्पन्न मतगणनाअनुसार सांसद यादवले आफ्ना प्रतिद्वन्द्वी नरेशकुमार यादवलाई २०८ मत अन्तरले पराजित गर्दै विजय प्राप्त गर्नुभएको हो ।

सांसद यादवले ५६९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नरेशकुमार यादवले ३६१ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्र कोइरालाले जानकारी दिनुभयो । सभापतिमा विजयी हुनुभएका सांसद यादव पार्टी सभापति शेरबहादुर देउवा निकट मानिनुहुन्छ भन्ने उहाँका प्रतिद्वन्द्वी नरेशकुमार यादव पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिनुहुन्छ ।

गत शुक्रबार भएको निर्वाचनमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि सभापति पदका लागि पुनः शनिवार निर्वाचन भएको थियो । यस्तै सांसद यादव प्यानलकै उपेन्द्रकुमार यादवले ५५८ मत प्राप्त गरी पार्टीको सचिव पदमा विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी रामकुमार यादवले ३०३ मत प्राप्त गर्नुभएको छ ।

पार्टी कोषाध्यक्षमा पनि सांसद यादव प्यानलकै सूर्यनारायण मण्डलले ४८९ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी कपलेश्वर साहले २६८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । रासस