दुई नेपालीको बयान: सोचेजस्तो रहनेछ कोरिया - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

दुई नेपालीको बयान: सोचेजस्तो रहनेछ कोरिया



काठमाडौं- मरिन गाउँपालिका सिन्धुलीका अर्जुन परियार र तिमाल काभ्रेका विमलसिंह लामा दक्षिण कोरियाको खाङवन्दोस्थित छङसनगुन नाम्यन पुग्दा फुरफुर हिउँ परिरहेको थियो।

गाडीबाट ओर्लिएर बस्ने होस्टेलसम्म पुग्दा उनीहरूको कपाल सेताम्मे भइसकेको थियो। बाहिरी तापक्रम माइनस २५ डिग्री थियो।

उनीहरूले काम गर्ने र बस्ने ठाउँ जंगलको बीचमा अग्ला रुखमुनि थियो। कोठाभित्र भने न्यानो थियो। कोठामा खाट थिएन। उनीहरूलाई एक एकवटा ब्लाङ्केट, डसना र सिरक दिइयो।

होस्टेलअगाडिका रुख पनि सेताम्य थिए। हिउँका डल्ला पातझैं रुखमा अड्किएर बसेका थिए। अलि पर टिनले छाएका १० वटा एकपाखे झुपडी थिए।

‘कोरियामा बस्ने साथीले हिउँ खेलेको फोटो देखाउँदा लोभ लाग्थ्यो तर आफैं काम गर्ने ठाउँमा हिउँको थुप्रो देख्दा त अत्यास लाग्दोरहेछ,’ विमलले भने, ‘मैले तस्बिरमा देखेको कोरिया र आफैंले भोगेको कोरिया एउटै थिएन।’

कोठामा पुगेको एकैछिनमा बम पड्केजस्तो ठूलो आवाज आयो। ‘हामी तर्सियौं, कहाँ आइपुगियो जस्तो लाग्यो, पछि बुझ्दा हाम्रो कम्पनीले सुरुङभित्र माइन विस्फोट गराएको रहेछ,’ अर्जुनले भने, ‘त्यहाँबाट ढुंगा निकाली पेलेर मैदानजस्तो धुलो बनाउँदोरहेछ।’ यो खबर आजको कान्तिपुरमा होम कार्की र गोकुल थोकर मिलेर विस्तृत रूपमा लेखेका छन्।

‘लगातार एउटै खालको आवाज सुन्दा एकोहोरो बनिँदोरहेछ, दिमागले केही सोच्नै सक्तैन, दैनिक १० घण्टाभन्दा बढी बिताउँदा शरीर शून्यजस्तै हुन्छ,’ अर्जुनले भने, ‘बेलुका कोठामा पुग्दा नाकभरि धुलो छिरेको हुन्छ। मेरो त ढाड दुख्न थालिसेकेको छ।

श्वासप्रश्वाससम्बन्धी रोगले भेट्टाउँछ कि भन्ने डर छ। अहिले कमाएको पैसा नेपाल फर्केपछि उपचारमै सकिन्छ कि भन्ने चिन्ता लाग्न थालेको छ।’