जापान, थाइल्याण्ड र कोरियामा पनि 'कोरोना' भाइरसको आतंक - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जापान, थाइल्याण्ड र कोरियामा पनि ‘कोरोना’ भाइरसको आतंक



काठमाण्डाै – चीनमा देखिएको नयाँ भाइरस अरु देशमा पनि फैलिएको पुष्टि भएको छ । याे भाइरसबाट तीन जनाकाे ज्यान गइसकेकाे छ ।

चीनभन्दा बाहिर जापान, थाइल्याण्ड र दक्षिण कोरियामा पनि यो भाइरसबाट संक्रमित भएका व्यक्तिहरुकाे घटना सार्वजनिक भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ वर्षको लागि लाखौँ चिनियाँ नागरिक घुम्न गएका बेला यो भाइरस फैलिएको अनुमान छ । चीनमा मात्रै एक हप्तामै यो भाइरसका बिरामी तेब्बर सङ्ख्याले बढेकाे पाइएको छ ।

हुवान शहरमा मात्र देखिएको यो भाइरसको सङ्क्रमण अरु शहरमा पनि फैलिएको हो । हुवानमा मात्रै अहिले दुई सयभन्दा धेरै बिरामी रहेका र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी बेइजिङ, शङ्घाई र सेनजेनमा समेत भेटिएकाे बताइएकाे छ ।

निमोनिया गराउने कोरोनोभाइरसको नयाँ प्रजाति मानिसबाट मानिसमा सर्ने चीनले यसअघि नै पुष्टि गरिसकेको छ । अहिलेसम्म उपचारमा संलग्न १४ जना स्वास्थ्यकर्मीलाई पनि यो भाइरस सरेको स्थानीय सञ्चारचारमाध्यमले जनाएका छन् ।

‘सि फुड’ पाइने बजारबाट यो भाइरस मानिसमा सरेको भनिए पनि यसबारे वैज्ञानिकले अनुसन्धान गरिरहेका छन् ।

कोरोनाभाइरसका कारण सामान्यतया सङ्क्रमित व्यक्तिहरुमा रुघा, खोकीको लक्षण देखिन्छ र यसको असर गम्भीर हुँदै जाँदा ज्यान पनि जान सक्छ ।

एडिनबर्ग विश्वविद्यालयका प्राध्यापक मार्क वुलहाउस भन्छन्, ‘यो नयाँ भाइरस देखिने बित्तिकै हामीले यसको असरका बारेमा थाहा पाउने प्रयास गर्‍याैँ । याे सामान्य रुघा, खोकीको जस्तो लक्षण देखाउने भाइरस होइन, जुन चिन्ताको कुरा हो ।’