नेपाल विदेशीहरुको प्रयोगथलो भयो : अध्यक्ष ओली - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपाल विदेशीहरुको प्रयोगथलो भयो : अध्यक्ष ओली



बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल विदेशीहरुको प्रयोगथलो भएको बताएका छन्। बुटवलमा वाम गठबन्धनको चुनावी सभामा उनले कांग्रेस नेतृत्वको सरकारतर्फ इंगित गर्दै भने, ‘यस्तै सरकारहरुका कारण मुलुक विदेशीहरुको प्रयोगथलो भइरहेको छ।’

सम्बोधनको अधिक समय सरकार र कांग्रेसको आलोचनामा खर्चिएका उनले कांग्रेसले अनेक भ्रमहरु छरेर वामपन्थीको विपक्षमा जनमत बनाउन खोजेको आरोप लगाए। ‘वाम गठबन्धनको सरकार बन्यो भने लोकतन्त्र खतरामा पर्छ, अधिनायकवाद आउँछ भनेर हल्ला गर्नेहरुलाई सोध्न चाहन्छु, ०४६ सालमा लड्दा को थियो? रामपुरमा, पाल्पामा, गुल्मीमा, बुटवलमा लँड्दा उहाँहरु कहाँ हुनुहुन्थ्यो?

एकपल्ट सम्झना राखेर बोल्न अनुरोध गर्न चाहन्छु, गोरखपुर गएर सही गराउनुपथ्र्यो’ उनले भने ‘लोकतन्त्रको सवालमा कसैसँग सर्टिफिकेट लिनुपर्ने जरुरी छैन।’ अध्यक्ष ओलीले एमालेको इतिहासलाई चुनौती दिन सक्ने शक्ति नेपालमा नरहेको भन्दै आह्वान गरे, ‘कोही छ भने आओस्।’ ‘उद्योग बन्द गराएर, बेचेर खाएर युवाहरुलाई विदेश जान बाध्य पार्नेहरुले मुलुक बनाउँछौं भनेर विश्वास गर्न सकिँदैन, उनले थपे ‘मेडिकल कलेजमा विद्यार्थी पठाउने एजेन्सीसँग मिलेर देशभित्र मेडिकल कलेज खोल्न दिँदैनन्।’

आगामी निर्वाचनले नेपाल कता जाने भन्ने टुंगो लगाउने भएकाले देशको राष्ट्रियता र स्वाधीनताको संरक्षण गर्ने शक्तिलाई जिताउन उनले आह्वान गरे । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले निर्वाचनले पुँजीवादी गणतन्त्र र समाजवादी गणतन्त्रबीचको फैसला गर्ने बताए। उनले निर्वाचनमा हरेक मतदाताले मुलुकको भविष्यको लागि परीक्षा दिने भन्दै मुलुकको भविष्य सम्झेर मतदान गर्न आह्वान गरे ।

चुनावपछि वामपन्थी नेतृत्वको सरकार बन्ने भन्दै उनले पुँजीवादी एकाधिकारको अन्त्य पनि चुनावले गर्ने बताए। एमाले उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसालले समृद्धि र विकासका लागि वाम गठबन्धनलाई जिताउन आह्वान गरे। माओवादी केन्द्रका नेता डिलाराम आचार्यले श्रमजीवि र समाजवादी शक्तिको पक्षमा मतदान गर्न आह्वान गरेका थिए।

सिपि खनालकाे सहयाेगमा