केपी ओलीले केक काट्दा ताज होटलमा ६ लाख ऋण,एक साता पहिला मात्र तिर्यो दुताबासले - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

केपी ओलीले केक काट्दा ताज होटलमा ६ लाख ऋण,एक साता पहिला मात्र तिर्यो दुताबासले



२ असोज, नयाँदिल्ली । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दिल्लीको ताज होटलमा केक काटेर बर्थ डे मनाउँदा करिब ६ लाख रुपैयाँ ऋण लागेको खुलेको छ ।

kp oli birth day_delhi

भारतको राजकीय भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ६५औँ जन्म दिनको अवसरमा नयाँदिल्लीस्थित होटल ताजमा केक काटदै

ओलीको भारत भ्रमणका बेला लागेको सो ऋण बेलैमा ऋण नतिर्दा होटलले प्रचण्डको भ्रमण टोलीका सदस्यलाई बास नदिने चेतावनी दियो । तर, नेपाली दूतावासले प्रचण्डको दिल्ली आउनुभन्दा एकसाता पहिले मात्र ओली सरकारले लगाएको ऋण तिरेको छ ।

ओलीको भ्रमणका बेलामा ताज होटलको भोजका लागि १६ लाख रुपैयाँ बजेट छुट्याइएको थियो, दूतावासका एक अधिकारीले अनलाइनखबरसँग भने, तर, उहाँको बर्थडे केक काट्ने भएपछि पाहुनाहरु थपिए र थप ५ लाख ६० हजार खर्च भयो ।

त्यसबेला केक काट्दा थपिएको ऋण तिर्ने बजेट अभावका कारण ६ महिनासम्म पैसा तिर्न नसकिएको ती अधिकारीले बताए । उनले भने, ६ महिना नबित्दै फेरि अर्का प्रधानमन्त्रीको स्टेट भिजिट हुने भएपछि हामीले होटल बुक गर्न खोज्दा उसले पुरानो पैसा नतिरी बस्न नदिने भनेपछि हामीले हालै त्यो पैसा तिरिदियौं । ओलीका पालामा ताज होटलमा कुल २१ लाख ६० हजार रुपैयाँ तिरिएको दूतावास स्रोतको भनाइ छ ।

भोज भतेरमा दलीय कोटा

नेपालबाट प्रधानमन्त्री भारत भ्रमणमा आँउदा एक करोडभन्दा बढी खर्च हुने गरेको छ । यसमध्ये दूतावासले भोज भतेर गराउनुपर्ने र त्यसमा मात्रै १५ देखि २० लाखको हाराहारीमा खर्च हुने गरेको छ । यस्तो भोज भतेरका केही रोचक पक्षहरु पनि देखिने गरेका छन् ।

यसपालि प्रचण्डको भ्रमणका बेला नेपाली दूतावासले दिल्लीको डी मेरिडियन होटलमा पार्टीको आयोजना गर्ने तयारी गरेको थियो । तर, त्यस्तो पार्टी गर्ने होटलको  सेक्युरिटी भेरिफिकेशन भारत सरकारले दिनुपर्नेमा समयमै उपलब्ध नगराएपछि दूतावासले डी मेरिडियनको साटो ताजमान होटल नै रोज्न बाध्य भयो ।

हामीले ताजलाई नै भोजको प्रस्ताव गर्यौं र पहिलोको पैसा तिर्यौं, दिल्लीस्थित नेपाली दूतावास स्रोतले अनलाइनखबरसँग भन्यो, त्यसपछि हामीले ५ सय वटा निमन्त्रणा कार्ड छपायौं ।

तर, नेपालबाट आउने भीआइपीहरुको भ्रमणका बेला आयोजना गरिने पार्टीमा छिर्नका लागि विभिन्न पार्टीहरुले कोटा माग्ने गरेको दूतावासका अधिकारीको गुनासो छ ।

यसबारे थप स्पष्ट पार्दै स्रोतले भन्यो, यहाँ कांग्रेस, एमाले र माओवादीका भातृ संगठनहरु छन्, तिनका नेताले आफ्नो भागमा १५ देखि २५ वटासम्म निमन्त्रणा कार्ड माग्छन् र आफ्ना नातेदारलाई लिएर भोजमा आउँछन् । दिएन भने उनीहरु रिसाउँछन् ।

प्रवासी नेपालीका नेताले मात्रै होइन, कतिपय भारतीयले समेत धेरैवटा कार्ड मागेर लैजाने गरेका छन् । यसपटक सुदेन्द्र भदौनियाले १० वटा कार्ड मागेको दूतावास स्रोतले बतायो ।

प्रचण्डको सम्मानमा विहीबार ताज होटलमा आयोजना गरिएको पार्टीमा प्रतिव्यक्ति २३ सय भारुमा खाना खुवाउने गरी होटल र दूतावासवीच सम्झौता भएको थियो । यसमा रक्सी र हि्वस्कीको खर्च बेग्लै हो । रक्सीमा ६० देखि ७० हजारसम्म लागेको अनुमान छ ।

प्रधानमन्त्रीको सम्मानमा गरिने यस्तो भोजमा आफूलाई नेपाल मामिलाका जानकार बताउने सानो तहका भारतीय नेताहरु आउने गरेका छन् । त्यसैगरी व्यापारी र प्रवासी नेपालीका नेताहरु आउने गरेका छन् । विहीबार प्रचण्डको सम्मानमा आयोजना गरिएको भोजमा डीबी त्रिपाठी लगायतका नेताहरु थिए । त्रिपाठीलाई नेपालका सीपी मैनाली वा चित्रबहादुर केसीजस्तै सानो पार्टीका ठूला नेताका रुपमा हेर्ने गरिन्छ ।

Prachanda and modi meet (2)

दूतावासलाई रकमान्तरको अधिकार

यसैवीच प्रचण्डको भारत भ्रमणका लागि मन्त्रिपरिषदले १ करोड १० लाख खर्च स्वीकृत गरेको भए पनि टोली दिल्ली पुग्दा सो रकम आइपुगेको छैन ।

दूतावासका अधिकारी भन्छन्, क्याबिनेटले रकम स्वीकृत गरेको सुनेपछि हामी ढुक्क छौं, अहिले दूतावासकै खाताबाट चेक काटेर काम चलाइएको छ ।

यद्यपि बिहीबारसम्म दूतावासले चेक साटेको थिएन । शुक्रबार मात्रै चेक भँजाइएको स्रोतले बतायो । भ्रमणका बेला सरकारले दरुतावासलाई जुन शीर्षकमा खर्च गर्न भनेर रकम पढाउँथ्यो, त्यसैमा खर्च गर्नुपथ्र्यो । यसपटक भने दूतावासले एउटा कामबाट अर्कोमा सो रकम लगाउन पाउनेगरी स्थानान्तरणको अधिकार सरकारले दिएको स्रोतले बतायो ।

जस्तो कि प्रचण्ड सरकारले निकासा गरेको भ्रमण खर्चबाट केपी ओलीका पालामा लागेको भोजको ऋण तिर्न दूतावासले अब स्वीकृति लिनु नपर्ने भएको छ । त्यसैगरी प्रधानमन्त्रीको भ्रमणका लागि छुट्याएको बजेटबाट दूतावासले प्रवासी नेपालीको कार्यक्रममा खाजा खर्च प्रदान गर्न सक्ने छ ।

साभार अनलाईन खबर