किसानको पिडा : कहिलै उचित मूल्य पाएनन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

किसानको पिडा : कहिलै उचित मूल्य पाएनन



गाईघाट, असोज १

मासु बजारको उचित व्यवस्थापन हुन नसक्ता उदयपुरका ग्रामीण क्षेत्रका किसानले परम्परागत रूपमा पाल्दैआएका खसीबाट उचित मूल्य लिन सकेका छैनन् ।

गाउँघरका किसानले पालेका खसीबोकाको तौल गरेर बिक्री वितरण गर्ने माध्यम नहुँदा बर्सेनि किसानले मोलमोलाइमा बेचेर घाटामा पर्ने गरेको किसान बताउँछन् ।

ताप्ली गाउँपालिका–५ का स्थानीय किसान हर्कबहादुर खड्काले भने, व्यापारी आउँछन्, हचुवाकै भरमा मोलमोलाई गर्छन् किसानलार्ई पैसाको खाँचो परिरहेको हुन्छ अनि त्यही मोलमोलाइमा जति दाम निर्धारण हुन्छ त्यतिमै दिनुपर्छ । यसरी आफुले घरमा पालेको खसी हचुवाकै भरमा बेच्नुपर्ने बाध्यता उनको मात्र होइन, उदयपुरका पहाडी क्षेत्रमा पराम्परागत रूपमा खसी पाल्ने किसान सवैको पीडा यस्तै छ ।

गाउँमा हचुवामा खसी किन्ने व्यापारी यसपालि पनि नआएका होइनन्, ताप्ली गाउँपालिका–५ कै हीरादेवी थापाले भने, दसैँको मुखमा आफ्नो घरमा भएका २१ वटा खसी बेचेर चाडबाड मान्ने खर्चको जोहो गर्नुपर्ने छ गाउँमा किलोकाँटामा लगाएर तौलिने चलन नै छैन पैसाको गर्जाे नटारी भकोछैन त्यसैले त्यही हचुवाको भरमा बेच्ने तयारी गरिरहेकी छु ।

अहिले उदयपुरको ग्रामीण क्षेत्रमा खसीको मासुको मूल्य प्रतिकिलो पाँचसय रुपियाँ छ भने गाईघाट, कटारी, बेल्टार लगायतको क्षेत्रमा काटेर मासु बिक्री गर्दा दुई सय बढी पाइन्छ । पहाडी क्षेत्रका गाउँमा पनि विभिन्न समूह तथा कृषक सहकारीले मासुको मूल्य पाँच सय रुपियाँदेखि छ सय रुपियाँसम्म तोकेका छन् थापाले भने, त्यसैको आधारमा मूल्य निर्धारण गरेर जिउदो खसी बिक्री गरिन्छ ।
गाउँका किसान सोझा हुन्छन् । उनीहरू दसैँको गर्जो टार्न त्यही खसी बेच्ने गर्दछन् । बिकेन भने दसैँ मान्न पाउँदैनन् । अनि व्यापारीकै मूल्यमा दिनुपर्छ । सस्तो महँगोभन्दा पनि किन्नेले अनुमान गरेको तौलका आधारमा व्यापारीले लैजाने गरेको किसानकोे गुनासो छ ।

हचुवाको भरमा बेच्दा एउटै खसीमा कम्तीमा तीन चार हजार रुपियाँसम्म घाटा हुने गरेको स्थानीय किसान गोविन्द कार्कीले भने ।
गत सालको दसैँमा १७ वटा खसी स्थानीय व्यापारीलाई बिक्री गरेकाउदयपुरगढी गाउँपालिका–२ का मनोज कार्कीले भने खसीबाट १८ हजार नाफा गरेछन्, मैले हचुवाको भरमा एक लाख ९० हजार रुपियाँमा दिएको खसी व्यापारीले १८ हजार नाफा गरी बिक्री गरेको देख्दा म जस्ता गाउँका सोझासाझा किसान कति घाटामा परिरहेका छन् भन्ने कुरा सहजै थाहा पाउन सकिन्छ ।

उदयपुरका पहाडी क्षेत्रका अधिकांश किसानकोे दसैँ खर्च टार्ने माध्याम खसी नै हो । पछिल्लो समय वैदेशिक रोजगारीमा गएका छोराछोरीको भरथेग हुन थालेको बताउने सर्वसाधरण पनि दसैँ मान्ने आम्दानीको स्रोतका रूपमा खसी बोकालाई नै बनाउने गरेको बताउँछन । पराम्परागत रूपमा खसी पालेरै पहाडी क्षेत्रमा बर्सेनि एक लाखदेखि तीन लाखसम्म पैसा लिने किसान पनि भेटिन्छन् ।
तर हचुवाकै भरमा बेच्ने र किन्ने गरेकाले किसानले मात्र होइन व्यापारी समेतले घाटा व्यहोर्नुपरेको छ ।

स्थानीय रूपमा हामीले पनि तौल गर्ने ठाउँ नभएकाले हचुवाकै भरमा किन्नुपर्छ, कटारी बजारका खसी व्यापारी हुमबहादुर रानाले भने, कहिले हामीले घाटा व्योहोर्ने हो, कहिले किसानले । रानाका अनुसार गाउँमा खसी लगायत घर पालुवा बस्तु बिक्री गर्दा जोख्ने किलोकाँटा नभएकोले समस्या भएको छ ।

जिल्ला कृषि विकास कार्यालय उदयपुर तथा विभिन्न गैरसरकारी संस्थामार्फत सञ्चालनमा आएका कृषि बजारमा समेत खसी बोका तौल गर्ने किलोकाँटा नभएको बताइन्छ । गाउँमा त परै जावस, कृषि बजारमा समेत धेरै ठाउँमा पशुजन्य वस्तु बिक्री गर्दा तौल नै व्यवस्था नभएको देखेको छु, राष्ट्रिय कृषक समूह महासङ्घ, उदयपुरका अध्यक्ष सोमबहादुर दनुवारले भने, यसको व्यवस्था अब जनप्रतिनिधिले गर्नुपर्छ र पहाडी क्षेत्रका किसानको ठूलो समस्यालाई समाधान गरिनुपर्छ ।
जिल्ला पशु सेवा कार्यालय उदयपुरका अनुसार जिल्लामा भेडापालन व्यवसाय छैन तर जमुनापारी, लाम्काने, वर्णशङ्कर लगयतका उन्नत जातका तथा स्थानीय जातका खसी बोका पालिने गरिएको छ । किसान तथा तथा पशु कार्यालयसँग उदयपुरमा कति खसी बोका उत्पादन हुन्छ भन्ने यकिन तथ्याङ्क भने छैन । उदयपुरका किसानले पालेका खसी बोका दसँको लागि विराटनगर, काठमाडाँ लगातको सहरमा पुग्ने गरेको व्यापारीको भनाइ छ ।