उपत्यकामा कोरोनाले ठूलो दुर्घटना निम्तिन सक्ने विज्ञको चेतावनी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

उपत्यकामा कोरोनाले ठूलो दुर्घटना निम्तिन सक्ने विज्ञको चेतावनी



काठमाडौं- बाक्लो जनसंख्या भएको राजधानीमा कतै नगएका व्यक्तिमा संक्रमण बढ्न थालेकाले स्वास्थ्य सतर्कता नअपनाए ‘ठूलो जोखिमको सामना गर्नुपर्ने’ चेतावनी विज्ञहरूले दिएका छन् । राजधानीका करिब ३० जनाभन्दा बढी कतै नगएका व्यक्तिमा कोरोना भाइरस देखिएपछि सरकारले स्थानीय संक्रमण भए/नभएको यकिन गर्न शनिबारदेखि नमुना संकलन सुरु गरेको छ ।

‘आज (शनिबार) हामीले तीनकुनेमा १ सय १८ जनाको र नख्खुमा १ सय १० जनाको घाँटीको र्‍यालको नमुना संकलन गरेका छौं,’ स्वास्थ्य मन्त्रालयको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा.वासुदेव पाण्डेले कान्तिपुरसँग भने, ‘दुई–चार दिनभित्रै वडाध्यक्षसँगको समन्वयमा अन्य १० ठाउँसमेत गरी १ हजार २ सय नमुना संकलन गर्नेछौं ।’ धेरै भिडभाड हुने र संक्रमितहरु घुलमिल हुनसक्ने सम्भावित स्थानमा आवतजावत गर्नेहरुको स्वाब परीक्षण गरिने उनले बताए ।

उनका अनुसार काठमाडौंका तीनकुने, शंखमुल, कपन, टोखा, ललितपुरका खुसिबु, नख्खु र भक्तपुरका केही स्थानमा समुदायमै गएर अनुसन्धान गर्नुपर्ने अवस्था देखिएको छ । उनका अनुसार काठमाडौंमा १ सय ९, भक्तपुरमा २८ र ललितपुरमा १७ जना संक्रमित छन् ।

भैंसेपाटीमा साढे दुई वर्षे बालकमा कोरोना पोजिटिभ देखिएको थियो । ती बालक र उनका आफन्तको भ्रमण इतिहास थिएन । ‘कतै नगएकामा कोरोना देखिएपछि हामीले ती व्यक्तिको विस्तृत अध्ययन गर्नैपर्छ’, डा.पाण्डेले भने, ‘आखिर कतै न कतै त उहाँहरू संक्रमित व्यक्तिको सम्पर्कमै आएर यो भाइरस बोक्नुभएको होला ।’ उनले संक्रमणको अवस्था थाहा पाउन कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्ने बताए । ‘हामीले ‘स्थानीय तहमा संक्रमण’ अवस्थाबारे थप जान्न स्क्रिनिङ सुरु गरेका छौं, अहिलेसम्म राजधानीमा मात्र होइन, मुलुकभर नै समुदायमा संक्रमण नगएको अवस्था हो ।’

केही विज्ञले उनको दाबीलाई अस्वीकार गरेका छन् । एक अध्ययनअनुसार हाल राजधानीको ढलमा समेत कोरोना भाइरस देखिएको दाबी गर्दै जनस्वास्थ्यविद् डा.राजेन्द्र बीसीले भने, ‘ढलमा कोरोना भाइरस देखिनु भनेको संक्रमण भित्रभित्रै सल्केको अवस्था हो ।’ अमेरिका, युरोपलगायत मुलुकबाट हवाईजहाजमा आएका पहुँचवालाहरू एयरपोर्टबाट सिधै घर गएको औंल्याउँदै उनले भने, ‘उनीहरूले घरमै क्वारेन्टाइनमा बस्छु भने तर घरमा बसे/बसेनन् थाहा छैन । यो सरकारको कमजोरी हो ।’

राजधानीमा हालसम्म करिब १० देखि १५ हजार व्यक्तिको पीसीआर परीक्षण भइसकेको डा. पाण्डेले जानकारी दिए । कतै भ्रमण इतिहास नभएका संक्रमित व्यक्तिलाई कोबाट रोग सर्‍यो भन्ने पहिचान हुन नसक्दा सरकारले स्थानीय व्यक्तिहरूको नमुना संकलन गर्न थालेको हो ।

विदेशबाट दैनिक जहाजमा राजधानी आउनेहरू १४ दिनसम्म सरकारको निगरानीमा बसेको भन्ने कुनै आधारसमेत नरहेको डा. बीसीले बताए । अझ होटलका क्वारेन्टइनमा बस्नेहरू दुई–तीन दिन बसेपछि कुनै निगरानी नहँुदा आफ्नो घर पुगेको अवस्थासमेत देखिएको छ । ‘विदेशवाट आउनेप्रति सरकारले देखाएको उदासीनताले गर्दा राजधानीमा संक्रमण बढिरहेको छ,’ उनले भने, ‘कोरोनाको हटस्पट अमेरिकाबाट आएकाहरू कहाँ छन् ? उनीहरूको स्वास्थ्य अवस्था, क्वारेन्टाइनको नियमलाई पालना गरे वा गरेनन् सरकारलाई केही थाहा छ ?’

उनका अनुसार विदेशबाट हवाईजहाजमा आउने नेपालीको निगरानीमा सरकार चुकेकाले राजधानीमा कोरोना संक्रमण बढेको हो । ‘बोर्डरबाट आउने मजदुरहरूलाई सरकारले जेलजस्तै क्वारेन्टाइनमा राख्यो तर उडेर आउने पहुँचवाला एयरपोर्टबाट सोझै घर गए, होटलमा बस्ने भनिएकाहरू समेत एक–दुई दिन बसेर घर गए,’ डा.बीसीले भने, ‘यस्तो स्थितिमा काठमाडौंमा कोरोना संक्रमण नबढेर के हुन्छ ।’

विदेशबाट पीसीआर जाँच गरेर आएका र नगरी आएकालाई राख्ने होल्डिङ सेन्टर फरक–फरक नभएकाले संक्रमण विस्तारको सम्भावना रहेको डा.पाण्डेले बताए । त्यस्तै राजधानी बाहिरबाट आउनेहरूको उचित निगरानी नभएकाले संक्रमणको जोखिम बढेको छ । राजधानीबाहिरको हटस्पटबाट काठमाडौं आउनेहरूलाई पनि उचित निगरानी गरिएको छैन ।

सरकारले विदेशबाट आउने ‘पहुँचवालाहरू’ को निगरानी गर्न नसक्दा संक्रमणको विस्तारमा सघाउ पुगेको विज्ञहरूको भनाइ छ । स्थानीय बासिन्दामा समेत नेपालीमा इम्युनिटी (रोग प्रतिरोधक क्षमता) बढी रहेको भ्रमले समेत संक्रमणको विस्तारमा सहयोग पुगेको उनीहरूको तर्क छ ।

डा. पाण्डेका अनुसार राजधानीमा बसोबास गर्ने अधिकांश मानिसहरुमा उपत्यकामा बाहिरबाट आएका मानिसमा मात्रै कोरोनाको संक्रमण छ र आफू सुरक्षित छौं भन्ने भ्रम छ । त्यसले गर्दा पनि यहाँ छिटो संक्रमण फैलिनसक्ने जोखिम छ । ‘मानिसहरुलाई कसरी कोरोना सर्छ भन्ने थाहा छ तर उनीहरूले बच्नलाई गर्नुपर्ने केही पनि उपाय अवलम्बन गरिरहेका छैनन् । सबैभन्दा डरलाग्दो विषय नै यही हो,’ उनले भने, ‘त्यसैले सबै सजग रहन आवश्यक छ ।’

राजधानीवासी कोरोना संक्रमणको विस्तार रोक्न व्यक्तिगत रूपमा जिम्मेवार हुनैपर्ने उनले बताए । ‘यहाँ स्वास्थ्य सतर्कतामा छाडापन देखिएको छ,’ डा.पाण्डेले भने, ‘यहाँका मान्छे त्यति चिन्तित छैनन्, मेरो घरअगाडि अहिले (साँझपख) सयौं व्यक्ति खेलिरहेका छन्, कुरा गरिरहेका छन्, धेरैजसोले मास्क लगाएका छैनन्, यहाँका रेस्टुरेन्ट सबै प्याक छन् ।’

अत्यावश्यक काम भए मात्र मास्क लगाएर, दुई मिटरको सामाजिक दूरी कायम गरेर घरबाहिर निस्किने, बेलाबेलामा हात साबुनपानीले धुने वा सेनिटाइजर प्रयोग गर्नेजस्ता स्वास्थ्य सुरक्षाको उपाय अपनाउनमा राजधानीवासीले हेलचेक्र्याइँ गरिरहेको उनले बताए । विशेषज्ञहरूले राजधानीवासीले स्वास्थ्य सतर्कतासँगै बाँच्ने अभ्यास नगरे बढी जनसंख्या भएको उपत्यकामा ठूलो दुर्घटना निम्तिन सक्ने चेतावनी दिएका छन् ।

काठमाडौंको ढलमा देखियो कोरोना भाइरस

सेन्टर फर मोलिक्युलर डायनामिन नेपालले राजधानीको ४ वटा ढलको नमुना लिएर परीक्षण गर्दा दुईवटा नमुनामा कोरोना भाइरस देखिएको जनाएको छ । यो अनुसन्धानले संक्रमित व्यक्तिको दिसामा कोरोनाको भाइरस देखिन्छ । यो परीक्षणको अनुसन्धानकर्ता डा.दिवेश कर्माचार्यका अनुसार घना मानवबस्ती भएको ठाउँको ढलबाट नमुना संकलन गरिएको थियो । नमुना संकलन गरिएको हरेक ढलमा १०० देखि ५०० घरको ढल मिसिने गरेको थियो । नमुना संकलन गरिएको ढलबीच खास दूरीसमेत कायम गरिएको थियो ।

‘हामीले ४ मध्ये दुईवटा ढलको नमुनामा ‘कोभिड–१९’ संक्रमण उत्पन्न गर्ने भाइरस पायौं,’ डा.कर्माचार्यले कान्तिपुरसँग भने, ‘उक्त दुवै नमुनामा चीनको वुहानमा पाइएको प्रजातिकै भाइरस पाइयो ।’ अनुसन्धानकर्ताहरूले यसको सूचना स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई समेत दिएका छन् । हाल उपत्यकामा व्यापक स्क्रिनिङको आवश्यकता देखिएको छ । लक्षणविहीन कोरोनाको संक्रमण (एसिम्प्टोम्याटिक) भएकाहरू राजधानीमा हुन सक्ने विज्ञहरूले बताएका छन् । अतुल मिश्रले कान्तिपुर दैनिकमा खबर लेखेका छन् ।