काठमाडौंमा महामारी फैलिनसक्ने चेतावनी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

काठमाडौंमा महामारी फैलिनसक्ने चेतावनी



काठमाडौं- काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठ्न नसक्दा झाडापखालाका बिरामी बढेका छन् । समयमा सडकपेटीमा थुप्रिएको फोहोर बिग्रिएर दूषित हुँदा झाडापखालाको प्रकोप बढेको छ भने महामारी फैलिनसक्ने चेतावनी चिकित्सकहरूले दिएका छन्।

सरुवा रोग अस्पताल टेकुका अनुसार दैनिक औसतमा १० जना झाडापखालाका बिरामी अस्पताल पुग्ने गरेका छन् । अस्पतालका अनुसार दिनप्रतिदिन बिरामी बढ्न थालेको बताइएको छ । अहिले अस्पतालमा उपचार गर्न भर्ना भएका बिरामीमध्ये अधिकांश झाडापखालाका भएको बताइएको छ।

अस्पतालको तथ्यांकअनुसार जेठमा ८४ जना सर्पले टोकेका र १२९ जना झाडापखालाका बिरामी छन् । राजधानीमा फोहोर थुप्रिएको केही दिनदेखि झाडापखालाका बिरामी बढ्न थालेका हुन् । सरुवा रोगविज्ञ डा. शेरबहादुर पुनका अनुसार झाडापखालाका बिरामी आउने क्रम बढेको छ ।

नयाँ प्रकारको झाडापखाला देखिएकाले लक्षणका आधारमा उपचार गरिएको चिकित्सकहरूको भनाइ छ । सडकमा थुप्रिएको फोहोरबाट निरन्तर दूषित पानी बगिरहेको र उक्त पानी फलफूल वा खानेपानीमा मिसिएका कारण यस्तो समस्या आएको हुन सक्ने चिकित्सकहरूको अनुमान छ ।