काठमाडौंको फोहर व्यबस्थापन गर्न नयाँ सहमतिमा हस्ताक्षर - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

काठमाडौंको फोहर व्यबस्थापन गर्न नयाँ सहमतिमा हस्ताक्षर



काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका र सिसडोलवासीबीच सहमति भएको छ।

बिहीवार राति अबेर भएको सहमतिमा फोहोर व्यवस्थापन रातको समयमा मात्र गर्ने समझदारी भएको छ। आजदेखि नै फोहोर व्यवस्थापन गर्न दिने गरी दुवै पक्षबीच १८ बुँदे सहमति भएको छ। 

सहमतिमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह‚ सुनिता डंगोल‚ प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल प्रभावित क्षेत्रका ककनी गाउँपालिका-१ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठ‚ वडा नम्बर २ का वडाध्यक्ष तिलकबहादुर लामा‚ धुनीवेशी नगरपालिका १ का वडाध्यक्ष श्रीमानबहादुर तामाङ र वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन्।

फोहोर उठाउनेबारे जेठ २३ गते पनि शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको सहजीकरणमा सहमति भएको थियो। उक्त सहमतिपत्र हुँदा प्रभावित क्षेत्र ककनीका अध्यक्ष सुमन तामाङ‚ उपाध्यक्ष मिठुमाया तामाङ र धुनीवेशीका मेयर बालकृष्ण आचार्यको रोहवरमा भएको थियो। 

तर‚ उक्त सहमति स्थानीयले अवज्ञा गरी फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका थिए। यस पटकको सहमति भने प्रभावित क्षेत्रका वडाध्यक्ष र काठमाडौं महानगरका मेयर‚ उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले ‍गरेका छन्।