काठमाडौं ५ का एमाले उम्मेदवार पैसा बाँड्दा बाँड्दै समातिए - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

काठमाडौं ५ का एमाले उम्मेदवार पैसा बाँड्दा बाँड्दै समातिए



काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार दीपक निरौलासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

काठमाडौं प्रहरी परिसरले निरौलासहितको टोलीलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।निरौला नेकपा (एमाले)का उम्मेदवार हुन्।

उनको टोलीले रकम बाँडेको भन्दै नेपाली कांग्रेस समर्थित समूहले नाराबाजी गर्दै घेराउ गरेपछि प्रहरीले निरौलासहित बुढानिलकण्ठ ६ का वडाअध्यक्ष रवि खड्का र अर्का एकजनालाई पक्राउ गरेको बताएको छ।

उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको प्रहरीले जानकारी दिएको छ। पैसा बाँडेको विषय भने पुष्टि नभएको प्रहरीले जनाएको छ ।  

प्रहरीले नियन्त्रणमा लिएको गाडी निर्वाचन आयोगको प्रतिनिधिको रोहवरमा खानतलासी गर्ने भएको छ। निरौलाले मौन अवधिमा मतदातालाई प्रभावित तुल्याउन गाडीमा रकम लिएर हिँडेको कांग्रेसलगायतका प्रतिस्पर्धी दलको आरोप छ।

तर त्यसको स्वतन्त्र पुष्टि भईसकेको छैन। तर सामाजिक सञ्जालमा भने एमालेले रकम बाँडेको आरोपमा निरौलासहितको टोलीलाई प्रहरीले गिरफ्तार गरेको भन्दै भिडियो भाईरल बनाइएको छ। 

जिल्ला निर्वाचन आचारसंहिता उल्लंघन अनुगमन समितिको प्रतिनिधि आएपछि गाडीको खानतलासी गरिने भएको छ। त्यसपछि घट्नाको यथार्थ विवरण आउने जनाइएको छ।

निरौलाले पनि आफू क्यान्सरका रोगका विरामी तोकमान लामालाई भेट्न जाँदा निराधार आरोप लगाएको भन्दै पुष्टि गर्न चुनौति दिँदै फेसबुकमा स्ट्याटस लेखेका छन्।