काठमाडौंमा ५ जनाभन्दा बढी जम्मा भए जेल र जरिवाना - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

काठमाडौंमा ५ जनाभन्दा बढी जम्मा भए जेल र जरिवाना



काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको भन्दै निषेधित क्षेत्र घोषणा गरिएको छ । भोलिदेखि काठमाडौंमा ५ जनाभन्दा बढी मानिस एकै ठाउँमा जम्मा हुन नपाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा थप कडाइ गर्दै आज राति १२ बजेदेखि १५ भदौ मध्यरातसम्मका लागि काठमाडौं जिल्लाभर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम गतिविधिहरू निषेध गर्ने निर्णय गरेको छ ।

‘कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि तत्काल थप सतर्कता अपनाउनका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने/गराउने सन्दर्भमा मिति २०७७/०४/३० गते राति १२ बजेदेखि मिति २०७७/०५/१५ राति १२ बजेसम्मका लागि काठमाडौं जिल्लाभरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम देहायबमोजिमका गतिविधिहरू गर्ने निषेध गर्ने गरी आदेश गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको आदेशमा भनिएको छ ।

उक्त दफामा प्रमुख जिल्ला अधिकारीले क्षेत्र र समय तोकी सो क्षेत्र र समयमा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी आदेश जारी गर्न सक्ने उल्लेख छ । त्यस्तै, आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले ५ सय रुपैयाँसम्म जरिमाना वा १ महिनासम्म कैद वा दुवै सजाय गर्न सक्ने व्यवस्था रहेको छ ।

‘कुनै ठाउँमा हुलदङ्गा वा अशान्ति भएमा वा हुनसक्ने पर्याप्त आधार भएमा सो परिस्थितिलाई दृष्टिगत गरी प्रमुख जिल्ला अधिकारीले क्षेत्र र समय तोकी सो क्षेत्र र समयमा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी आदेश जारी गर्न सक्नेछ ।

त्यस्तो आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले ५ सय रुपैयाँसम्म जरिबाना वा एक महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ’ स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) मा भनिएको छ ।’