कुलमानले भने: 'समृद्ध नेपाल सुखी नेपाली’ अभियानको सारथि बन्न पाउँदा खुसी छु ।’ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कुलमानले भने: ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको सारथि बन्न पाउँदा खुसी छु ।’



काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समृद्ध नेपाल सुखी नेपाली’ अभियानको सारथि बन्न पाउँदा खुसी भएको बताएका छन् । आइतबार चारवर्षे कार्यकाल पूरा गरी बिदा हुने क्रममा उनले यस्तो बताएका हुन् ।

मुलुकमा १८ घन्टासम्मको लोडसेडिङ हुने गरेको समयमा प्राधिकरणको नेतृत्व सम्हाल्न आइपुगेका घिसिङले आफ्नो कार्यकालमा मुलुकलाई लोडसेडिङमुक्त बनाए । तत्कालीन समयमा जनताले कल्पना नै नगरेको काम गरेपछि उनी एकाएक उज्यालोको प्रतीक बन्न पुगेका थिए । तर, उनलाई दोस्रो कार्यकालका लागि नियुक्ति दिन सरकार तयार नभएपछि उनले अवकाश प्राप्त गरे ।

उनले मुलुकलाई लोडसेडिङमुक्त बनाउने मात्रै होइन, चरम घाटामा रहेको प्राधिकरणलाई सञ्चित नाफामा लैजान भूमिका खेलेकोलगायतका कारणले उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्न तीव्र जनदबाब भए पनि सरकारले त्यसो गरेन । देशलाई उज्यालो बनाउने कामको एकलौटी जस कुलमानले प्राप्त गरेपछि त्यसबाट राजनीतिक नेतृत्व खुसी थिएन । २९ भदौ ०७३ मा कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानले ३१ ०७५ मा देशलाई लोडसेडिङमुक्त बनाएका थिए ।

प्राधिकरणको व्यवस्थापनमा उनले देखाएको अर्को सकारात्मक नतिजा विद्युत् चुहावट नियन्त्रण हो । कुलमान प्राधिकरणमा कार्यकारी निर्देशकका रूपमा छिर्दा वार्षिक विद्युत् चुहावट २५ दशमलव ७८ प्रतिशत थियो । यसलाई पनि नियन्त्रण गरेर ०७७ भदौसम्ममा १५ दशमलव २७ प्रतिशतमा ल्याएको प्राधिकरणको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

उनी नियुक्त हुँदा आर्थिक वर्ष ०७२÷७३ मा प्राधिकरणको सञ्चित घाटा ३४ अर्ब ६१ करोड रुपैयाँ थियो । कुलमान प्राधिकरण छिरेको पहिलो वर्ष एक अर्ब ४७ करोड खुद नाफा भयो । त्यसपछि ०७४÷७५, ०७५÷७६ र ०७६÷७७ मा क्रमशः दुई अर्ब ८५ करोड, नौ अर्ब ९१ करोड र ११ अर्ब खुद नाफा कमाउन सफल भयो । निरन्तर नाफामा गएपछि प्राधिकरणले सञ्चित घाटाको ब्याजसहित ३५ अर्ब रुपैयाँ भुक्तानी गर्न सफल भयो ।

त्यति हुँदाहुँदै पनि विद्युत् प्राधिकरण र सहायक कम्पनीहरूले निर्माण गरिरहेका आयोजना सम्पन्न गर्न ध्यान नदिएको भनेर कुलमानको आलोचना भइरह्यो । पहिल्यै सम्पन्न हुनुपर्ने चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुन सकेन । त्यस्तै, एक सय दुई मेगावाटको मध्यभोटेकोसी, एक सय ११ मेगावाटको रसुवागढी, माथिल्लो र तल्लो गरी ५७ मेगावाटका सान्जेन जलविद्युत् आयोजनाहरू पनि पूरा हुन सकेनन् ।

तर, उनको कार्यकालमा लामो समयदेखि रुग्ण माथिल्लो त्रिशूली ३ ए, चमेलिया र कुलेखानी ३ आयोजनाहरू सम्पन्न भएको र निजी क्षेत्रकासहित जम्मा चार सय ५७ मेगावाटका जलविद्युत् आयोजना सञ्चालनमा आए ।

मंगलबार प्राधिकरणका कर्मचारीले गरेको बिदाइ कार्यक्रममा घिसिङले लोडसेडिङ इतिहासमा विलय भएको बताए । उनले भने, ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानको सारथि बन्न पाउँदा अत्यन्त खुसी लागेको छ ।’ साथै, नियमित विद्युत् आपूर्ति भएपछि मुलुकको आर्थिक क्षेत्र उत्साहजनक रहेको उनले बताए ।

उनले आयोजना निर्माणलाई तीव्रता दिन लामो समयदेखि अलपत्र परेको विद्युत् प्रसारण र वितरणतर्फका केही आयोजनाहरूको ठेक्का रद्द गरी नयाँ ठेक्का लगाइएको र निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्न नियमित निरीक्षण एवं अनुगमन गरिएको बताए । पछिल्लो वर्ष भूमिगत तार बिछ्याई काठमाडौं उपत्यकालाई तार र पोलरहित बनाउने, स्मार्ट मिटर जडान गर्ने, ग्रिडलाई स्वचालित बनाउने कार्यको थालनी गरिएको उनले उल्लेख गरे ।