मोहम्मद गल्लीको मुहब्बत « Himal Post | Online News Revolution
Logo

मोहम्मद गल्लीको मुहब्बत



कुनै दिन थिए जतिबेला मोहम्मद गल्लीको एक छेउदेखि अर्को छेउ म लुखुरलुखुर हिँडिरहन्थेँ। आज कैयन् वर्षपछि त्यही मोहम्मद गल्लीमा घण्टा दुएक बिताउन आइपुगेँ। अचम्मै लाग्दछ जीवनको गति। कहाँबाट कहाँ पुगिने। आफू जिन्दगीलाई एक तरिकाबाट डोऱ्याउन खोज्यो, उसले लैजान्छ तानेर अर्कैतिर।

वर्षौँ पहिले बुबासँग हात समाउँदै हिँड्दा मोहम्मद गल्लीमा भुटेका चनाहरूको बास्नाले मुख रसाउँथ्यो। बुबाले पनि मन बुझेर पच्चीस पैसाको एक सोली तात्ताको चना किनिदिनुहुन्थ्यो। दार्जीलिङको जाडामा तातो चना चबाउँदै हिँड्दा अचम्मकै सन्तुष्टि र सुख प्राप्त हुन्थ्यो। लाग्थ्यो चना खानुभन्दा अर्को सुख के खानुमा छ र ?

घिर्लिङ मुन्तिरका कोइला दोकानहरूबाट अलिअलि उकालो लागेर मोहम्मद गल्ली छिरेपछि देब्रेपट्टि लहरै भुटेका चना, मटर, मकै, भटमास, बदाम आदि बेच्ने दोकानहरू थिए। कोइलाका चुल्हामा ठूल्ठूला काला कराहीमा खस्रो बालुवामा मिसाएर कोही चना भुटिरहेका हुन्थे भने कोही बदाम भुटिरहेका। किन्ने  मानिसहरू पनि कोही सोलीमा, कोही ससाना कागजका थुँगामा तात्तातो चना वा मटर, भटमास वा बदाम किनेर कोही झोलामा राख्थे भने कोही चपाउँदै हिँड्थे। उसबेलाका सातआठवटा दोकानहरू घटेर अहिले दुईवटामा झरेछन्। ती दोकानका ठाउँहरू कुनै कस्मेटिक दोकानले, कुनै फेन्सी कपडा पसलले र कुनै मिठाइ पसलले लिएछन्। आफ्नो जीवनसँग कतै एउटा प्रेमको धागो गाँसिएको मोहम्मद गल्ली करिब तीस वर्षपछि छिर्दा लाग्यो मोहम्मद गल्लीले पनि आफ्नो काँचुली फेरेछ। म पनि त त्यही दुब्लो पातलो पिलन्धरे कुमुद कहाँ छु र !

मेरा आँखाहरूले मोहम्मद गल्ली छिर्दाको देब्रे पट्टिको पहिलो दोकान खोजिरहे। तर त्यहाँ खटियामा फिँजाइएका पुराना किताब र पत्रिकाहरू केही थिएनन्। रिडर्स डाइजेस्टका मनमोहक पृष्ठहरू, कादम्बिनीको कालचिन्तन, धर्मुयुगका विश्लेषणहरू, सारिकाका कथाहरू, सरिता र मुक्ताका सामयिक विचारहरू केही थिएनन्। मेरो बालापनको साथी विस्डम, नन्दन, र लोटपोटको अत्तो पत्तो थिएन। अमर चित्रकथाका जातक कथाहरू, पञ्चतन्त्रका प्रेरक प्रसङ्गहरू, बेतालका मायावी कथाहरू केही थिएनन्। ती शालीन र सुन्दर लाग्ने अक्षरहरू भएका किताब र पत्रपत्रिकाका ठाउँमा थिए, नुहाउने साबुनहरू, स्याम्पोहरू, लिपस्टिकहरू, फेसवासहरू र केके केके। मैले खोजेको दोकान कतै सरेको छ कि भनी मेरा आँखाहरूले आसलाग्दो दृष्टिले यताउती हेरे। खुट्टाहरू मोहम्मद गल्लीको पल्ला छेउसम्म पुगे। तर कहीँ त्यो दोकान देखिएन। खुट्टाहरू फेरि पहिलेकै ठाउँमा फर्केर आए। आँखाका आशाहरू कतै भेटिएलान् भनी मुखले जान्न खोज्यो तर, उत्तर दिने आँखाहरूले यसरी हेर्थे मानौँ कुनै अठारौँ शताब्दीको मानिस आएर सोधिरहेको छ – इतिहासमा बिलाइसकेको एउटा पुराना पत्रपत्रिका बेच्ने दोकान। मैले बुझेँ, मेरो मुख नै धेरै बाठो भएको हो।

निकै बेर अल्मलिएँ पनि। किन म त्यस ठाउँमा तीस वर्षअघिको दोकान खोजिरहेको छु। किन तिनै आदरणीय चाचाजीलाई खोजिरहेको छु जसले मलाई गनगन नगरी, अलिकति पनि दिक्क नमानी, आफ्नै सन्तानलाई झैँ लोटपोटको पढ्न दिन्थे। नन्दन पढ्न दिन्थे। दिनमानका पन्ना पल्टाउन दिन्थे। रिडर्स डाइजेस्टका पन्ना पल्टाउन दिन्थे। मलाई यति थाहा थियो मेरो बुबाले यही पसलबाट रिडर्स डाइजेस्ट, कादम्बिनी, धर्मयुग किन्नुहुन्थ्यो र आफ्नो सानो तर समृद्ध घरेलु पुस्तकालयमा सजाउनुहुन्थ्यो। हुनसक्छ म त्यही बाबुको छोरो भएकाले मलाई उनको स्नेह प्राप्त भएको हो कि ! अन्यथा अरू कुनै बालबालिकाले नपाउने सुविधा मैले किन पाउँथे र ? म तिनीसँगको साइनो अहिले आएर बुझ्ने भएको छु, उनलाई बताउन चाहन्छु, श्रद्धा व्यक्त गर्न चाहन्छु,  तर के गर्नु ती छैनन्। भएका भए सबैभन्दा पहिले तिनलाई आदरसहित प्रणाम गर्थेँ र भन्थेँ – “हेर्नुहोस् चाचाजी, तपाईँले पढ्न र किन्न दिएका किताब पढेरै म यत्तिको भएको हुँ नि। हैन त ?”   

तर मेरो दुर्भाग्य ती चाचा छैनन्। न त तिनको दोकान नै छ। छन् त केवल सोकेसमा सजाइएका शृङ्गारका सामान। मनको सजावट गर्ने जिनिसको ठाउँ तनको सजावट गर्ने जिनिसले लिएछ। राम्रै होला। यसो सोच्दा लाग्छ तीस वर्ष पहिलेका बुबालाई “बडे भैया नमस्कार! कैसे हैं ?” भन्दै पुराना किताबहरूको ठेली अघि सारिदिने ती चाचाजीलाई अहिले खोजेर कहाँ पाउनु ? तर मन न हो, कहाँ मेरो नियन्त्रणमा बस्छ र ?

ती चाचाजीको दोकान पर्तिर हुने गर्थ्यो एउटा घरेलु हातहतियारको दोकान। त्यस पर्तिरबाट सुरु हुन्थे लहरै भुटेका चना, मटर, मकै, भटमास र बदाम बेच्ने दोकान। हामीले चना किन्ने गरेको चाहिँ तेस्रो दोकान हुने गर्थ्यो। एकजना दाह्री पालेका बूढा मानिस गल्लामा बस्थे र भित्र पट्टि एउटा धुवाँ र धुलोले बुट्टा पनि चिन्न नसकिने गरि मैलिएको ढाका टोपी लगाएको मानिस ठूलो कराहीमा कहिले चना त कहिले मकै त कहिले बदाम भुटिरहेका हुन्थे। दाह्री पालेका बूढा मानिस बडो विचित्र स्वभावका थिए।साह्रै कम बोल्थे। उनको दृष्टि कतै अनन्ततिर सोझिएको भान हुन्थ्यो। ध्यानमा बसेका योगीजस्ता देखिन्थे। पहिले बुबासँग त्यता जाँदा पर हामीलाई देख्ने बित्तिकै सोलीमा चना भर्न थाल्थे। पछि कलेज जाने भएपछि म एक्लै मोहम्मद गल्लीमा जान थालेँ। चाचाजीको किताब दोकानमा निकैबेर अलमलिएपछि चनाको दोकान अगाडि पुग्थेँ। दाह्रीवाला हजुर्बाकहाँ चनाको सोली तयार हुन्थ्यो। कहिले पच्चीस पैसा दिन्थेँ, कहिले गोजीमा सुको हुँदैनथ्यो। तर ती हजुर्बाले मलाई कहिल्यै भोकै पठाएनन्। कलेजबाट एक घण्टे बाटो हिँडेर चार बजे फर्किँदा भोकले र थकाइले लखतरान हुन्थेँ। उनलाई मेरो फर्किने बेला थाहा भैसकेको थियो। मेरो चना सोलीमा तयार हुन्थ्यो। थुप्रै पल्ट सित्तैमा चना खाएपछि मलाई साह्रै सकस भयो र उनलाई भनेँ – “दादाजी, कतिन्जेल मलाई सित्तैमा चना खुवाउनु हुन्छ ? मैले पैसा दिन सकिनँ भने, तपाईँलाई घाटा लाग्ला नि !”

उनका चाउरी परेका हातहरू उनका दाह्रीमा पुगे, उनले दाह्री मुसारे र भने – “बाबु, व्यापार सधैँ पैसाका लागि मात्र गरिँदैन। तिमीजत्रै मेरो नाति छ, अनि मैले मेरो नातिलाई खुवाएको पैसाको म कसरी ताकेता गर्छु र ? छ भने देऊ, छैन भने म मेरै नातिले खाएको सम्झिन्छु।”

अनि त्यसपछि मलाई लाग्यो, व्यापार गर्ने मानिसहरूले ग्राहकमा आफन्त पनि खोज्दा रहेछन्। बडो विचित्रको अनुभूति भयो। मोहम्मद गल्लीमा छिर्नु र ती दादाजी(हजुर्बा)को दोकान जान छुटाउनु भनेको असम्भवप्राय कार्य भयो।

चना आदिका दोकानहरूको पल्लो छेउमा एउटा किराना पसल हुने गर्थ्यो। त्यो अझै पनि रहेछ। त्यस्को विपरित दाहिनेपट्टि एउटा मिठाइ पसल थियो “मधुर मिलन मिष्टान्न भण्डार।” त्यो पनि अझै पनि रहेछ। तीस वर्ष अघि खाएका लालमोहनले मुख रसायो। भित्र पसेँ र बसेँ। काउन्टरमा बसेको मानिसलाई सोधेँ – “भाइ तीस-पैँतीस वर्ष अगाडि यहाँ को बस्नुहुन्थ्यो ?”

तिनले मलाई विस्फारित नेत्रले हेरे र सोधे – “किन ?”

मैले भनेँ – “त्यसबेला हप्तामा एकपटक म मेरो बुबासँग यहाँ लालमोहन खान आउँथे।”

तिनलाई के लाग्यो कुन्नि, काम गर्ने केटालाई भने – “ए भाइ, उहाँलाई एक प्लेट लालमोहन देऊ त ।”

एक प्लेट लालमोहन मेरा अगाडि आइपुग्यो। चम्चाले काटेर एक गाँस खाँदा, मेरो दृष्टि आफ्नै झोलामा पुग्यो जसमा मैले बुबाको मृत्यु दर्ताको प्रमाणपत्र बोकेको थिएँ। मैले मेरो मुखको लालमोहन निल्न सकिनँ, र त्यहाँबाट फुत्त निस्किएर चोकबजारतिर हान्निएँ।

कुमुद अधिकारी