कुन नेताले कसले कसरी मनाए दशैँ ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कुन नेताले कसले कसरी मनाए दशैँ ?



काठमाडौं– दशैं हिन्दु नेपालीहरुको महान चाड भए पनि पछिल्लो समय क्रान्तिकारी नेताहरुलेसमेत सांस्कृतिक रुपमा अथ्र्याउँदै मनाउन थालेका छन् ।
प्रमुख दलका सबैजसो नेताहरुले शनिवार विजया दशमीको टीका जमरा ग्रहण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमै परिवारसँग दशैंको टीकोटालो गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, उच्च पदस्थ कर्मचारी, सेना प्रहरीदेखि सर्वसाधारणलाई टीका लगाइदिइन् ।

प्रमुख राजनीतिक दलका नेताहरुले पनि आ–आफ्नो परिवारसँग बसेर टीका जमरा ग्रहण गरी आर्शिवाद थापेका छन् ।

–प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठस्थित निवासमा मान्यजनको हातबाट टीका लगाएपछि राष्ट्रपतिसँग टीका लगाउन शितल निवास पुगेका थिए ।

– एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित निवासमा दशैं मनाए । झापाबाट शनिवार नै आइपुगेका बाबु मोहनप्रसाद ओलीको हातबाट अध्यष ओलीले टीका जमरा ग्रहण गरे ।

– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दशकपछि आफ्नो मामा ससुराको हातबाट टीका लगाए । परिवारका सबै सदस्यलाई टीका लगाएर निकै खुशीका साथ सामुहिक तस्विर खिचाए ।

– नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरे । परिवारका अन्य सदस्यलाई टीका लगाइदिएर सामुहिक तस्विर सार्वजनिक गरे । भट्टराईले पनि अघिल्लो दशैमा पनि टीका लगाउने गरेका थिए । माओवादीमा हुँदा टीका लगाएको भन्दै आलोचनासमेत खेपेका थिए ।

–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा दाजु नेत्रबहादुर थापा र भाउजु अनिता थापाको हातबाट टीका ग्रहण गरे । उनले परिवारका अन्य सदस्यलाई टीका लगाइदिए । उनी परिवारका सदस्यसँग चंगा उडाएर समेत रमाइलो गरेका थिए ।

– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि हिन्दु संस्कारअनुसार शनिवार दशैंको टीका जमरा ग्रहण गरेका छन् । उनले आफ्ना दाजु बन्धुराज पौडेलको हातबाट टीका ग्रहण गरे ।

– नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पनि शनिवार परिवारका साथमा रहेर दशैं मनाए । उनले आफ्नो दाजुभाउजुको हातबाट टीका थापेका थिए ।

– –नेपाली कांग्रेसका युवा नेता गगन थापाले ससुरा अर्जुन नरसिंह केसीको हातबाट टीका ग्रहण गरे । उनी पनि परिवारसँग खुशी भएर दशैं मनाएका थिए ।

– नेकपा एमालेका नेता योगेश भट्टराईले दशैं भब्य पर्वका रुपमा मनाएका छन् । उनले भाउजुको हातबाट टीका ग्रहण गरे ।

– नेकपा एमालेका नेता रविन्द्र अधिकारीले पनि आफ्नै घरमा दशैं मनाएका छन् । दशैं मनाएपछि टीका ग्रहण गरी परिवारसँग सामुहिक तस्विर खिचाए ।