रंगशालाको हिसाब सोधेपछि 'अक्क न वक्क' भइन सुन्तली - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

रंगशालाको हिसाब सोधेपछि ‘अक्क न वक्क’ भइन सुन्तली



काठमाडौँ- चितवनमा बन्दै गरेको गौतमबुद्ध क्रिकेट रंगशाला आर्थिक अभाव देखाउँदै अलपत्र छोडेपछि धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली अहिले जवाफविहिन भएका छन् ।

देश विदेशबाट पैसा उठाएर रंगशाला अलपत्र पारेका उनीहरूसँग अहिले सर्वत्र हिसाव माग्न थालिएको छ । रंगशालामा अहिलेसम्म गरेको काम र खर्च भएको रकमबारे पनि गोलमटोल जवाफ दिएर उम्किन खोजेका उनीहरू अहिले थाल खाउँ कि भात खाउँको अवस्थामा पुगेका छन् ।

देश विदेशबाट करोडौँ रकम उठाएर भ्रष्टाचार गरेको आरोप सहित उनीहरूविरुद्ध अख्तियार अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । उनीहरूले पैसा उठाएर खाएको भन्दै पक्राउ गर्न समेत माग गरिएको छ । यस्तै विभिन्न आरोप लागिरहेका बेला फाउण्डेसनकी उपाध्यक्ष कुन्जना घिमिरे (सुन्तली)सँग हिसाबको प्रश्न सोध्दा अक्क न वक्क बनेकी छन् ।

आफूले अभिनय गरेको ‘जाला जोवन’ बोलको म्युजिक भिडियोबारे फेसबुक लाइभमार्फत जानकारी दिने क्रममा सुन्तलीलाई रंगशाला निर्माणको आर्थिक पक्ष र ऋणबारे धेरैजसोले प्रश्न गरेका थिए । सुरुमा अक्क न वक्क बनेकी सुन्तलीले पछि भने सरकारका तर्फबाट जाँचबुझ र मूल्याङ्कन भइरहेको भन्दै गोलमटोल जवाफ दिइन्।

लाइभमा सहभागी सबै जसोले रंगशालाबारे प्रश्नको वर्षा गरेका थिए । उनीहरूको प्रश्नको जवाफमा उनले केही दिनपछि पत्रकार सम्मेलन गर्न लागेको भन्दै कुरा मोडिन ।

म्युजिक भिडियोको प्रचार गर्न फेसबुक लाइभ गरेकी उनलाई कमेन्टमा रंगशालाबारेको मात्रै प्रश्न गरेपछि उनी अस्वाभाविक बनेकी थिइन् । त्यसपछि उनले रंगशालाबारे सबैजसोले सोधेको र यसबारे केहिदिनमा जानकारी दिने बताइन ।

उनले सरकारबाट एक किसिमको मूल्याङ्कन हुँदै गरेको र सरकारी नीति, नियमअनुसार चल्नुपर्ने भएकाले केही समय लाग्ने बताईन । ‘तपाईंहरूलाई जे हो त्यो स्पष्ट पार्नेछौँ । हामी सबै कुरा जानकारी गराउने छौँ । हामी प्रेस मिटमार्फत नै सबै विवरणबारे जानकारी दिने नै छौँ’, उनले भनिन् ।

करिब ३५ प्रतिशत काम भएपछि १७ करोड ऋण लागेको र अपेक्षाअनुसार रकम नउठेको भन्दै गत साउनयता फाउण्डेसनले रंगशाला निर्माणको काम रोकेको छ । तर सरकारले गरेको प्रारम्भिक अध्ययनमा भने उनीहरूले भनेको जति काम पनि नभएको र खर्च पनि नभएको भेटिएको छ ।

फाउण्डेसनले रंगशाला बनाउँदा लागेको ऋण तिरेर यसको स्वामित्व लिन लिखित आग्रह गरेपछि सरकारले भरतपुर महानगरपालिकामार्फत रंगशालाको आर्थिक पक्षबारे अध्ययन गरिरहेको जनाइएको छ । भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले फाउण्डेसनले देखाएको आर्थिक विवरण सरकारी निकायबाट बुझ्ने काम भइरहेको बताए ।

रंगशाला निर्माणका क्रममा भएको आर्थिक विवरण पारदर्शी नभएको भन्दै धुर्मुस सुन्तलीविरुद्ध अख्तियारमा उजुरीसमेत परेको छ ।