खुरुक्क राजीनामा फिर्ता लिनुस्, कुरा पछि गरौँला भन्दै निस्किए माधव नेपाल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

खुरुक्क राजीनामा फिर्ता लिनुस्, कुरा पछि गरौँला भन्दै निस्किए माधव नेपाल



काठमाडौं- एमाले वरिष्ठ नेता माधव कुमार नेपालको साथ छोडेर ओली समुहमा लागेको भनिएका नेता भीम रावललाई नेता नेपालले भेट गरेका छन् । एमाले मदह्व समुहको बैठकमा अनुपस्थित भएपछि रावललाई भेट्न नेता नेपाल उनकै निवास टोखा पुगेका थिए ।

सम्वन्ध टाढिएको भनिएका नेता रावललाई भेट्न नेता नेपाल उनकै निवासमा गएपछि अनेक चर्चा भएको थियो । रावल निवासमा पुगेका नेता नेपालले खुरुक्क राजीनामा फिर्ता लिन आग्रह गरेको बताइएको छ ।

गत आइतबार सांसद पदबाट राजीनामा दिएका नेता रावललाई राजीनामा फिर्ता लिन नेपालले आग्रह गरेका छन् । राजीनामा फिर्ता लिन रावललाई चौतर्फी दवाव परेका बेला नेता नेपाल निवासमै पुगेर यस्तो आग्रह गरेको स्रोतले बतायो ।

स्रोतका अनुसार नेता नेपालले धेरै केहि नभनी पहिला आफ्नो आग्रह मानेर खुरुक्क राजीनामा फिर्ता लिन भनेका थिए । नेपालको आग्रहमा नेता रावलले केहि प्रतिक्रिया भने जनाएनन् । दुई नेताबीच लामो कुरा नभएको र राजीनामा फिर्ता गरेपछि मात्र थप छलफल गर्ने भन्दै नेपाल बाहिरिएको बताइएको छ ।

केहीदिनअघि नेता रावलले शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै सांसद पदबाट राजीनामा दिएका थिए ।

नेपालसँग रावल रुष्ट

एमालेका उपाध्यक्ष समेत रहेका रावलले भने वरिष्ठ नेता नेपालमाथि हिजोमात्रै गम्भीर आरोप लगाएका थिए । उनले माधव नेपालकै कारण आफू लज्जित हुनुपरेको समेत बताएका थिए । उनले आफू राजनीतिक रूपमा बेबकुफ बनेको भन्दै बेवकुफ बनाउने काम माधव नेपालले गरेको बताएका छन् ।

रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएपछि रावल निकटका सुदूरपश्चिम प्रदेशका मन्त्री र सांसदहरू राजीनामा फिर्ता गराउन काठमाडौं आएका छन् । राजीनामा फिर्ता लिन दवाव दिन आएका नेताहरूसँग ब्रिफिङ गर्दै रावलले राजनीति नै सिध्याउनेगरी आफूलाई बेवकुफ बनाउन खोजिएको बताएका थिए ।

पछिल्लो समय रावलले ओलीलाई साथ दिएको र नेपाललाई गलाउन खोजेको आरोप लागिरहेका बेला रावलले आफू निकटसँग यस्तो ब्रिफिङ गरेका हुन् । सुदूरपश्चिमका नेताहरूले भने प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका थिए।

रावलले आफूलाई लज्जित पार्ने काम गरेपछि माधव नेपाल समुहले नै ओलीपक्षमा लागेको प्रचार गरेको समेत बताएका थिए । रावलले आफ्नो राजनीति सिध्याउने मनसायले नै कार्यदलको संयोजक बनाइएको बताएको एक नेताले बताए । पार्टी विवाद समाधान गर्न गठित कार्यदलले आफ्नो सम्योजनामा १० बुँदे सहमति गरिसकेको बेला नेपालले भने त्यसलाई अस्विकार गरेको उनले आरोप लगाएका थिए ।

‘मलाई संयोजक बनाइयो तर संयोजकले गरेको सहमति अस्विकार गरेर अपमान गरियो’ उनले नेताहरूसँग भनेका थिए । नेता रावलले त्यसै कारण पनि आफू राजिनामा दिने अवस्थामा पुगेको बताएका थिए । तर नेताहरूले भने राजिनामा फिर्ता लिन दवाव दिएका थिए । नेताहरूले आग्रह गर्दा रावलले यो राजीनामा फिर्ता लिन नसकिने बताएका थिए ।

रावलले आफूलाई संयोजक बनाएर पठाइसकेपछि कार्यदलले गरेको सहमति नेपालले मान्नुपर्ने भन्दै असन्तुष्टि ब्यक्त गरेका थिए । उनले नेता नेपाललाई पटकपटक मस्यौदा समेत देखाएर सहमति गरिएको र त्यसलाई पनि अस्विकार गर्दा झनै पिडा भएको बताएका थिए । नेताहरूसंग उनले अहिले नयाँ पार्टी बनाउने अवस्था पनि नभएको बताएका थिए ।

उनले पछिल्ला केहिदिनमा आफूलाई ओलीसंग मिलेको आरोप लगाउन थालिएको भन्दै असन्तुष्टि ब्यक्त गरेका थिए । उनले सरकारलाई समर्थन गरे माधव नेपाल पक्ष भइने र नगरे केपी शर्मा ओली पक्ष भइने अवस्था सिर्जना भएकाले आफूले राजीनामा दिएको बताएका थिए।

यसअघि नेता नेपाललाई उचालेर पार्टी बिभाजन गर्नुपर्छ भनेका रावलले अहिले भने सहमति पालना गरेर एमाले एकतामा जानुपर्ने बताएका छन् ।