कूरी कूरी ! भाले संस्कृति ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कूरी कूरी ! भाले संस्कृति !



हेमन्त गिरी

केन्या सँग खेलिएका दुई खेल मध्ये एकमा हार बेहोर्यो भने एकमा जीत निकाल्यो नेपाली क्रिकेट टिमले । आफ्नो देशले जित्दा खुसी नहुने नेपाली को होलान् र ? अघिल्लो खेलको तुलनामा दोस्रो खेलमा सुधार गर्दै सम्मानजनक जीत निकालेकोमा नेपाली क्रिकेट टिमलाई बधाई । परदेशमा भएको कारण प्रत्यक्ष हेर्न त सकिएन,तर सञ्चार र सञ्जालमा व्याप्त दृश्य र तस्बिर हरुमा देशले जितेको हेर्न छुटाइएन । जितेको हेर्दै गर्दा केही नमिठा दृश्य पनि नजरमा आए,जुन दृश्यलाई नजरअन्दाज गर्ने हो र यहाँ चर्चा नगर्ने हो भने हाम्रा हरेक राष्ट्रिय जीतहरु फितला साबित हुनेछन आगामी दिनमा । हेर्नोस यो तस्बिर ।

(पिसाब गर्दै गरेको सामूहिक तस्बिर)

तस्बिरले धेरै कुरा बोल्छ । नेपाल पुरुषप्रधान समाज हो । महिलाको तुलनामा पुरुषलाई धेरै कुरामा छुट छ । यहाँ सम्म कि लाजको ममिलामा समेत पुरुषलाई स्वच्छन्दता छ । बाटोघाटो,सार्वजनिक स्थल जहाँ पायो त्याहाँ ठिंग उभियो अनि पिसाब गर्‍यो । यो पुरुष-प्रवृत्ति नेपालमा खुब देख्न पाइन्छ । ‘पुरुषलाई लाज नलागे पनि फरक पर्दैन तर महिला लजाउनु पर्छ’ भन्ने मान्यता स्थापित गरिदिएको छ समाजले । त्यसैले पनि भिडभाड़ युक्त सार्वजनिक स्थलहरुमा भित्तोतिर फर्केर सामूहिक मूत्र त्याग गर्दै गरेका पुरुष हामीले असरल्लै जताततै देख्न सक्छौँ नेपालमा ।

यो तस्बिर देखेकै दिनदेखि मेरो दिमागमा अनेक प्रश्न आइरहे । म त्याहाँ भएको भए के गर्थें होला ? सायद त्यही गर्थें जे सबैले गरे । पिसाब रोकेर रोकिने चीज़ हो ? होइन । त्यसो भए किन नगर्ने त ? त्यसको लागि त निश्चित ठाउँ हुन्छ नि ! सरकारले कहाँ बनाइदिएको छ त सार्वजनिक शौचालयहरु ? सरकारले शौचालय बनाउन नसकेको होला,जङ्गल झाड़ी अनि भिड भाड़ नभएका ठाउँ त प्रशस्त छन् त नेपालमा । त्यहीँ क्रिकेट स्टेडियम भएको त्री बि परिसरमै पनि अछट्ट ठाउँ छन् त खोज्ने हो भने ! फेरि अन्तर्राष्ट्रिय खेल भइरहेको स्थान जहाँ राष्ट्रिय अन्तर्राष्ट्रिय क्यामेरा हुन्छन्,त्यहीँ किन त ?

जवाफ एउटै छ । “हामी पुरुष हौँ,नेपाली समाजमा पुरुषले पाउँदै आइरहेको छुट हामी सबैको हकमा सबै ठाउँमा लागू हुन्छ त्यो हक पाए पछि लाज भाग्छ,दम्भ जाग्छ । हामीलाई कसैले केही भन्दैन र भने पनि हामीले नटेरे पुग्छ । यो हाम्रो सनातन पुरुष हक हो “।
केही हक-अधिकारहरू यस्ता हुन्छन् जसले मान्छेलाई हदै सम्मको निर्लज्ज बनाइदिन्छन । त्यस्तै हक हो नेपालमा स्थापित ‘भाले संस्कृति’ ।

सुन्दा धेरै पुरुष साथीहरूलाई अप्रिय लाग्ला,नेपाली समाज अनुशासन हीन हुनुमा धेरै हद सम्म यिनै भाले प्रवृत्ति कारण बनेका छन् । त्यही स्थानमा महिला भएको भए के त्यस्तो दृश्य देखिन्थ्यो ? सायद देखिदैनथ्यो । मैले यही प्रश्न यहाँ केही साथीभाई सँग पनि सोधेँ । के महिलाहरू क्रिकेट/फुटबल हेर्न गएका भए त्यसरी लहरै सार्वजनिक स्थलमा मूत्रत्याग गर्न सक्दा हुन ? “महिलालाई बढ़ी लाज लाग्छ नि त” भन्ने जवाफ हरू आए । त्यसो भए पुरुषलाई लाज नै नलाग्ने हो त ? वा पुरुषलाई लाज नमाने पनि पुग्ने हो त ? मैले भनेँ,”पुरुष पनि लजाउँछन,नलजाउने भए त भित्तो तिर फर्किनुको सट्टा भिडतिर फर्किनुपर्ने अनि शिवरात्रीका नांगेले जस्तै सबैलाई गुप्तांग देखाउनु पर्ने ” !
हामीले निष्कर्ष निकाल्यौं,’नेपाली समाजमा पुरुषहरू नलजाउने होइनन लजाउँछन तर लाज पचाउँछन’ । यही लाज पचाउने प्रवृत्तिलाई ‘भाले संस्कृति’ भनिएको हो ।

भाले संस्कृतिमा भालेलाई धेरै कुरामा छुट हुन्छ । भाले शारीरिक रूपमा बलियो हुन्छ,त्यसैले शान्त सँग बसिरहेका अरू कुखुरालाई खोर भित्र ठूँगिरहन्छ,दमन गरिरहन्छ । बास्ने अधिकार पनि उसलाई मात्र छ । भाले संस्कृतिमा भाले नै बास्नु पर्छ,पोंथी बास्नु अनौठो हुन्छ,अपराध हुन्छ । बास्यो भने काटिन्छ । नेपाली समाज यही मान्यतामा अगाडी बढेको समाज हो । यही मान्यता सामान्य घर देखि समाज हुँदै राज्यसंचालनको तह सम्म व्याप्त छ । सायद पुरुषका लागि पनि लाजको सीमा हुन्थ्यो भने राज्य र राजनीति पनि यति निर्लज्ज हुँदैनथ्यो ।

‘जाबो एउटा पिसाब गरेको दृश्यलाई लिएर के रडाको मच्चाएको लेखकले’? भन्ने प्रश्न पनि तपाईँको मनमा आउला,तर मूल कुरो हाम्रो प्रवृत्तिको हो, हाम्रो मनोविज्ञानको हो । म ठोकुवा दिएर भन्छु त्रीबि मैदानमा लहरै पिसाब गररेको देखिने त्यो भिडमा अधिकांश पढेलेखेकै युवा नै छन् । हामी साना साना नानी बाबुलाई त “शौचालयमै दिसापिसाब गर्नु पर्छ,लाज हुन्छ,फोहोर हुन्छ,कुरीकुरी !” भनेर सिकाउँछौं भने त्यो पढेलेखेको शिक्षित युवा पुरुष जमातले यो कुरो के नबुझेको होला ? बुझेको छ तर बुझ पचाउँछ । किनकि समाजको बनोट अनुसार ऊ भाले हो,उसले जे गरे पनि हुन्छ ।

प्रकृतिक सत्य हो,भालेहरु शारीरिक रूपमा बलिया हुन्छन् । बलियोले निर्धोलाई दबाउँछन । तर यो सत्य ती पशुपंक्षीमा लागू हुनु पर्ने हो जसको बोल्ने कुनै भाषा छैन,जसको अभिव्यक्त गर्ने कुनै माध्यम छैन,जो शिक्षित छैनन् । विडम्बना ! सबथोक जानेको,प्रकृतिलाई विज्ञानले चुनौती दिन सक्ने चेतना बोकेको शिक्षित मानव जातीमै यो सत्य बढ़ता लागू छ ।

कुरा बलकै आए पछि प्रश्न अर्को पनि छ । के भाले प्रवृत्तिका पुरुषहरू साँच्चै बलिया हुन्छन् त ? मलाई चाहिँ त्यस्तो लाग्दैन । बलियो त त्यो हो, जसले आफ्ना सोंच र व्यवहारलाई नियंत्रणमा राख्न सक्छ । बलियो त त्यो हो, जो व्यक्तिगत र सार्वजनिक अनुशासनमा प्रतिबद्ध हुन्छ । बलियो त त्यो हो, जसले निर्धालाई दबाउनुको साटो आफू जस्तै बलियो बनाउन खोज्छ अनि बलियो त त्यो हो जसले सार्वजनिक ‘कूरीकूरी’ हरुमा लाज मान्छ ।

साझा सवालको ४८४ औँ अङ्कमा सुदूर पश्चिमान्चल विश्वविद्यालयकी उपकुलपति भूषण श्रेष्ठको कुरा सुने पछि हामी औसत नेपाली पुरुषहरू बलिया हैन,धेरै नै कमजोर रहेछौं भन्ने अनुभूति भयो । उहाँको भनाइ थियो, “श्रीमती मरेको १३ दिन बित्न नपाउँदै अब मैले बालबच्चा स्याहार्दै काम गर्न सक्दिन भनेर पुरुषहरू बिहे गर्नको लागि अर्को महिलाको खोजीमा लाग्छन । त्यही ठाउँमा पुरुष मरेको भए सम्पूर्ण ज़िम्मेवारी उठाएर बाल बच्चालाई पढ़ाउने बढ़ाउने हुर्काउने हिम्मत एकल महिलाले गर्न सक्छिन र गरेका उदाहरण पनि छन्” । उहाँका यी सत्य वाणी सुनेपछि मैले एक पटक आफूलाई भित्रै देखि छामे,अत्यन्त कमजोर पाएँ । अनि आफू बसेको,हुर्केको र आफूले भोगेको पुरुष प्रधान समाजलाई छामें,समाज नै अत्यन्तै कमजोर पाएँ ।

पुरुष प्रधान समाजले गजब तरिकाले एउटा बठ्याइं गरिरहेको हुँदोरहेछ । दोस्रो लिंगीको शारीरिक तागतलाई आधार बनाएर ‘तिमी कमजोर छौ,तिमीले यो सक्दिनौ’ भन्दोरहेछ । ललाइ-फकाइ गर्दो रहेछ । कहीँ कहीँ त डर धम्की पनि देखाउँदो रहेछ । अनि उनीहरूको त्यही शारीरिक निर्बलता नै अन्तिम सत्य हो भन्ने भ्रम फैलाएर आफ्ना तमाम कमजोरीको बड़ो चलाखी पूर्वक ढाकछोप गर्दोरहेछ ।

त्री बि मैदानमा पिसाब गर्नेहरुको उदाहरणलाई नै हेरौं । महिला भएको भए ( चाहे लाजले भन्नोस वा अरू कुनै कारण दिनोस) त्यसो गर्दैनथे,लहरै बसेर सबको सामु मूत्रत्याग गर्दैनथे । उनीहरू एक छिन धैर्य गरेर सुरक्षित र मर्यादित स्थानको खोजी गर्थे । यो मानेमा महिला कमजोर कि पुरुष कमजोर ? जाबो पिसाब केही बेरलाई रोक्न नसक्ने मान्छे कसरी समाजको बलियो ? धैर्य गर्न नसक्ने आफ्नो कमजोरीलाई समाजले पुरुषलाई दिएको छुट भित्र लुकाएर भित्तो भिजाएका हुन त्री बि का ती शिक्षित पुरुषहरूले । त्योभन्दा बढ़ी केही होइन ।

क्रिकेट मैदानमा देखिएको एउटा दृश्यलाई लिएर यो चर्चा अवस्यक थियो त ? मेरो लागि थियो र सायद तपाईँ हजारौँ सचेत वर्गको लागि पनि थियो । मलाई यस्तो परेको छ । त्यसैले म यस्ता दृश्यले बढ़ी पिरोलिन्छु । कुनै समय नेपाल घुम्न गएको एक जापानी नागरिक (हामीले काम गर्ने ठाउँको ग्राहक) ले बाटोमा त्याग गरिएको दिसालाई आफ्नो क्यामेरामा कैद गरेको रहेछ । केही समय अगाडी हामीलाई तस्बिर देखाएको थियो । तत्काललाई त रमाइलो मानेर सबै हाँसियो । तर त्यो तस्बिरले धेरै समय सम्म कता कता मलाई चिमोटिरह्यो,”तिमीहरू जताततै फोहोर गर्ने, सामान्य चेतना सम्म नभएका देशका नागरिक हौ” भनेर हेला गरेको अनुभूति भइरह्यो ।

नेपाली समाज पछाडि पर्नुका धेरै कारण मध्ये प्रमुख कारण हाम्रो सनातन पुरुष दम्भ र भाले संस्कृतिद्वारा सिर्जित सामाजिक कूरीकूरी हो भन्न खोज़िएको हो यहाँ । पिसाब गर्नेले गरे,प्रशासनले केही गरेन,त्रीबि मैदानको धर्तीले पिसाब सबै सोंस्यो,सकियो । यतिबिधि चर्चा नगरेको भए पनि हुन्थ्यो । तर हाम्रा केही प्रवृत्ति भित्र हामीले थाहा नै नपाई सभ्यतालाई दिएका चुनौतीहरू र एक्काइसौं सताब्दीमा आइपुग्दा सम्म पनि बटुलिरहेको कूरीकूरीको उजागर नगरी मेरो मनले मानेन । पिसाब धेरै बेर रोक्न सकिँदैन,रोक्नु पनि हुँदैन । सार्वजनिक स्थानहरुमा सरकारले यथोचित शौचालयको व्यवस्था गर्न पनि सकेको छैन । अफ़्टेरा हरू छन् । त्यसको मतलब के अन्तर्राष्ट्रिय खेल चलिरहेको मैदानकै प्याराफ़िटमा त्यसो गर्नु शोभनिय हो त ? देश विदेशका पत्रकारको क्यामेराले सजिलै कैद गर्ने दृश्य बाट सजग हुनु पर्छ कि पर्दैन ? पुरुष हुँ,शारीरिक रूपमा अनुकूल छ भन्दैमा जहाँ पायो त्यहीँ खड़ा भएर भित्तो भिजाएर हुन्छ त ? आफ्नो र देशको इज्जतको सामान्य हेक्का राख्नु पर्छ कि पर्दैन ?

तस्बिर आफैमा बिम्ब पनि हो । माथिको तस्बिरले देशको अवस्था पनि प्रतिबिम्बित गर्छ । पर्खाल बाहिरबाट हेर्नेलाई अन्तर्राष्ट्रिय समुदाय मान्नोस । भित्तो तिर फर्केर भित्तो भिजाउनेहरुलाई हाम्रा दल र नेता मान्नोस । पछाडि पालो कुरिरहेका र तमाशा हेरिरहेक़ा हरुलाई जनता ठान्नोस । अनि त्री बि क्रिकेट मैदानलाई नेपाल देश ठान्नोस । २०४६ साल यता नेपाली राजनीतिमा निरन्तर यसै किसिमको सार्वजनिक कूरीकूरी समारोह चलिरहेको छ । देशलाई केही थान भालेहरु र केही भाले प्रवृत्तिका मान्छेहरूले बन्दी बनाइरहेक़ा छन् । हामी दास हुनुमै गर्व गरिरहेक़ा छौँ । विकास र समृद्धिमा तीव्र अघि बढिरहेको अंतरष्ट्रिय जगतले हामीहरुलाई कूरीकूरी भनिरहेको छ ।
यो भाले संस्कृतिको जगेर्ना गरेर कहिले सम्म राष्ट्रिय-अन्तर्राष्ट्रिय कूरीकूरी बटुलिरहने ??

[email protected]

लेखकका अन्य लेख

प्रिय काठमाडौं ३

प्रिय काठमाडौंप्रिय काठमाडौं २

प्रिय काठमाडौं

‘प्रष्टोक्ती’….अनि म कायर भागेर विदेश आएँ !

आऊनोस,प्रचण्डको मृत्युको कामना गरौं

ट्रम्पलाई चिठ्ठी