१५ वर्षका कुशल मल्ल: एकै खेलमा चार कीर्तिमान - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

१५ वर्षका कुशल मल्ल: एकै खेलमा चार कीर्तिमान



काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्ध खेल जिताउने प्रदर्शन गरेका कुशल मल्लका नाममा एक विश्व कीर्तिमानसहित चार राष्ट्रिय कीर्तिमान बनेका छन् ।

रोहित पौडेलको स्थानमा अन्तिम ११ मा मौका पाएका उनले पौडेलकै एकदिवसीय अन्तराष्ट्रिय (ओडीआई) मा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छो खेलाडीको कीर्तिमान तोडे ।

किर्तिमान मैदानमा अमेरिकाविरुद्ध ४९ बलमा नै अर्धशतक पूरा गर्दा मल्ल १५ वर्ष ३४० दिनका छन् । उनी ५१ बलमा ५० रन बनाएर बाहिरिए ।

यसअघि यूएईविरुद्धको तीन ओडीआई श्रृङ्खला अन्तर्गत २६ जनवरी २०१९ मा यूएईविरुद्ध भएको दोस्रो ओडीआईमा रोहितले यो कीर्तिमान आफ्नो नाममा बनाएका थिए । उनी अर्धशतक बनाउँदा १६ वर्ष १४६ दिनका थिए ।

पौडेलको नाममा रहेको नेपालबाट कम उमेरमा ओडीआईमा डेब्यूको कीर्तिमान भने कायम छ । ३ अगष्ट २०१८ मा नेदरल्याण्डविरुद्ध ओडीआई डेब्यू गर्दा पौडेल १५ वर्ष ३३५ दिनका थिए । उनी ओडीआई खेल्ने विश्वका पाचौँ र मल्ल छैठौँ कान्छो खेलाडी हुन् ।

पौडेलको नाममा कम उमेरमा ओडीआईमा चौका हान्ने नेपाली खेलाडीको कीर्तिमान छ । उनले डेब्यू खेलमा एउटा चौका हिर्काउँदै १५ बलमा ६ रन बनाएका थिए ।

तर, कम उमेरमै ओडीआईमा छक्का हान्ने नेपाली खेलाडीको कीर्तिमान भने मल्लकै नाममा रह्यो । उनले अमेरिकाविरुद्ध तीन छक्का प्रहार गरे ।

मल्लले कम उमेरमा विकेट लिने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाए । १० ओभर बलिङ गरेका उनले ३० रन दिएर एक विकेट लिए ।

उनी डेब्यू खेलमा अर्धशतक बनाउने र विकेट पनि लिने पहिलो नेपाली खेलाडी समेत बने ।

पोष्ट म्याच कन्फरेन्समा निकै लजालु देखिएका मल्लले आफू टिमलाई संकटबाट बचाउन आएकाले शतककै लागि खेलेको बताए । उनले भने, “आशा त शतककै थियो, त्यही भएर धेरै ब्याट नउठाएको ।”