क्वात्रासँगै अमेरिकी उच्च अधिकारी पनि नेपाल आउने, के छ सेड्युल ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

क्वात्रासँगै अमेरिकी उच्च अधिकारी पनि नेपाल आउने, के छ सेड्युल ?



भारतीय विदेशसचिव विनयमोहन क्वात्रासँगै आज अमेरिकी अधिकारी पनि नेपाल आउने भएका छन् । क्वात्रा बिहानै नेपाल भ्रमणमा आउँदैछन् भने अमेरिकी अधिकारी त्यसको केहि बेरमै काठमाडौं आइपुग्ने छन् ।

परराष्ट्र सचिव भरतराज पौड्यालको निम्तामा नेपाल आउन लागेका भारतीय विदेश सचिव क्वात्राले उच्चस्तरीय राजनीतिक भेटघाट गर्दैछन् । अमेरिकी अधिकारीको पनि यस्तै सेड्युल छ ।

पछिल्लो समय नेपालमा अमेरिकी अधिकारीहरू बाक्लो भ्रमणमा रहेका छन् । एक महिनाको बीचमा चार जना अधिकारी नेपाल भ्रमणमा आएका छन् । अमेरिकी अधिकारीको भ्रमण बाक्लो भएपछि भारत र चीन पनि संशकित भइरहेका छन् । त्यही क्रममा क्वात्राको भ्रमण हुन लागेको हो ।

क्वात्रा काठमाडौं ओर्लिएकै दिन अर्का अमेरिकी अधिकारी काठमाडौं आइपुग्दैछन् । अघिल्लो सातामात्रै अमेरिकी अधिकारी सामन्थ पावर नेपाल भ्रमणमा आएकी थिइन् । उनी फर्केको एक सातामै अमेरिकाकी दक्षिण एसियाली मामिला उपमन्त्री अफ्रिन अख्तर नेपाल आउन् लागेकी हुन् ।

४ मंसिरको चुनावपछि भारतीय पक्षबाट हुन लागेको यो नै उच्चस्तरीय भ्रमण हो । क्वात्रा चुनावपछि बनेको सरकारसँग सहकार्यको मनोविज्ञान बुझ्न आउन लागेका बताइन्छ । क्वात्राले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो दिनेछन् । साथै, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका लागि एजेन्डाहरू तय गर्नु पनि क्वात्राको जिम्मेवारी रहेको बताइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार क्वात्राले राजनीतिक भेटघाटमा कनेक्टिभिटी, विद्युत् व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृतिलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल गर्नेछन् ।

क्वात्राले आज नै परराष्ट्रमन्त्री विमला राई पौड्यासँग शिष्टाचार भेट गर्नेछन् । परराष्ट्रमन्त्रीसँगको भेटघाटपछि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम छ । मन्त्रालयका अनुसार विदेशसचिव क्वात्राले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट्ने कार्यसूची रहेको छ ।