विश्व बैंकले बनाएको ल्याब खत्तम पारेर, रोग परीक्षण गर्न दैनिक एक हजार नमुना भारत पठाईदै « Himal Post | Online News Revolution
Logo

विश्व बैंकले बनाएको ल्याब खत्तम पारेर, रोग परीक्षण गर्न दैनिक एक हजार नमुना भारत पठाईदै



काठमाडौं- उदाहरण १ इबोला परीक्षण गर्न अमेरिका पठाइयो, एक महिनासम्म परिवारलाई तनाव तर, रिपोर्ट आयो– इबोला होइन ।

दुई वर्षअघि कंगोबाट फर्किएका एक नेपाली सिपाहीलाई ज्वरो आएपछि काठमाडौंको एक अस्पतालमा भर्ना गरियो । इबोलाको आशंका गरी अस्पतालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा खबर गर्‍यो ।

सरकारले तत्काल बिरामीलाई सुरक्षित वातावरण मिलाएर गोप्य रूपमा छुट्टै राख्यो । इबोला भए–नभएको पत्ता लगाउन नमुना अमेरिका पठाइयो । एक महिनासम्म बिरामी र परिवारलाई तनाव भयो । रिपोर्ट आयो– इबोला होइन ।

उदाहरण २– श्वासप्रश्वास समस्याले मृत्यु भएकाको नमुना जापान पठाइयो, एक महिनापछि आएको रिपोर्टमा बर्डफ्लु भेटियो

०७५ चैतमा काभ्रेका २१ वर्षीय एक युवक बिरामी भए । ती युवकलाई १० चैतमा खोकी र ज्वरो आएपछि उपचारका लागि अस्पताल भर्ना गरियो । खोकी तथा श्वासप्रश्वासको समस्या भएकाले बर्डफ्लु संक्रमण भएको आशंका गरियो । उपचार गर्दागर्दै पाँच दिनपछि उनको मृत्यु भयो ।

बर्डफ्लु हो कि होइन भन्ने निश्चित गर्न नेपालमा सम्भव नभएकाले उनको नमुना परीक्षणका लागि जापान पठाइयो । एक महिनापछि रिपोर्ट आयो– उनलाई बर्डफ्लु लागेको थियो । नेपालमा मानिसमा बर्डफ्लु संक्रमण भएको यो नै पहिलो घटना थियो । त्यो संक्रमण एक महिनासम्म धेरैमा फैलिन सक्थ्यो, त्यो विषयमा यहाँ कुनै व्यवस्था थिएन ।

उदाहरण ३ – सप्तरीमा एकैपटक एउटै फार्ममा ६१ बंगुर मरे, तर नेपालमा परीक्षण हुन सकेन, नमुना विदेश पठाइएन ।

सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्रबजारमा सञ्चालित एक बंगुर फार्ममा अज्ञात रोगका कारण गत २३ मंसिरमा एक साताभित्र ६१ वटा बंगुर मरे । ज्वरो आउने, थरथर काम्ने, र्‍याल निकाल्ने बंगुरहरू धमाधम मर्न थाले ।

बंगुरमा फैलिएको रोग पत्ता नलागेपछि पशुपक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगर र राजविराजस्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिराहा र सप्तरीबाट टोलीसमेत गए । तर, त्यति धेरै बंगुर एकैपटक किन मरेका थिए भन्ने अहिलेसम्म पत्ता लागेको छैन । किनकि, यो विषय परीक्षण गर्ने व्यवस्था नेपालमा छैन, बंगुरको नमुना विदेश पठाउन सरकारले आवश्यक ठानेन ।

यी तीन प्रतिनिधि उदाहरणले नेपालमा महामारी र संक्रामक रोगको परीक्षण सम्भव छैन भन्ने सन्देश दिन्छ, जब कि विश्व बैंक र विश्व स्वास्थ्य संगठनले यस्ता धेरै संक्रामक रोगको परीक्षण नेपालमै होस् भनेर ६ वर्षअघि टेकुमा प्रयोगशाला बनाइदिएका थिए । इबोला, निपा, प्लेग, सार्स, इन्फ्लुएन्जा, टोगाभाइरस, हेजमोराइज फिभर, क्यु फिभर, एन्थ्रक्स रिक्लिट सिनलगायतका संक्रामक रोग मात्र होइन, क्यान्सर, क्षयरोग, हर्मोन, प्रजनन, स्नायु रोगको समेत नमुना परीक्षण हुन सक्छ ।

तर, यो प्रयोगशाला बन्द छ । नेपालमै सुविधा नहुँदा यस्ता रोगको आशंकामा दिनमा हजारभन्दा बढी बिरामीको नमुना भारत पठाउनुपर्ने बाध्यता छ । तीन वर्षअघि प्रयोगशालाले केही नमुना परीक्षण पनि गरेको थियो । तर, त्यसपछि ठप्प छ । जब कि, बन्द रहेको ल्याबमा पनि सरकारले पैसा खर्च गरिरहेको छ ।

ल्याब बन्द भए पनि नियमित मर्मत गर्नुपरिरहेको छ । बायो सेफ्टी लेभल–३ ल्याब (बिएसएल थ्री) नामक सो ल्याब मर्मतमा वार्षिक १० देखि १२ लाख रुपैयाँ खर्च हुने गरेको छ । ‘विश्व स्वास्थ्य संगठनको प्राविधिक र विश्व बैंकको आर्थिक सहयोगमा पाँच करोड लागतमा ल्याब स्थापना गरिएको हो,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी तत्कालीन निर्देशक डा. गीता शाक्यले भनिन्, ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्थापना गरिएको ल्याबलाई कडा रोगको परीक्षण गर्न विश्व स्वास्थ्य संगठनले सन् २०१५ मा मान्यता दिएको थियो ।’ तर, सरकारी उदासीनताका कारण अहिलेसम्म ल्याब सञ्चालनमा आउन सकेको छैन ।

प्रयोगशालाका तत्कालीन उपनिर्देशक डा.विष्णु उपाध्यायका अनुसार नेपालबाट विभिन्न प्रकारका दैनिक एक हजार नमुना परीक्षण गर्न विदेश पठाउनुपर्ने बाध्यता छ । ‘हामी आफैँ स्वदेशमा उच्च प्रविधिको ल्याबमार्फत परीक्षण गर्न सक्छौँ । तर, भारतमा पठाएको नमुनाको रिपोर्ट आउन एक सातादेखि २० दिनसम्म लाग्छ,’ उनले भने ।

बाहिरबाट रिपोर्ट समयमै नआउँदा गम्भीर रोग लागेका बिरामीको उपचारमा ढिलाइ हुने त छँदैछ, तर आफ्नै देशमा भएको अत्याधुनिक ल्याबसमेत अलपत्र अवस्थामा छ । नेपालमा १० देखि १५ हजार रुपैयाँमा गरिँदै आएको नमुना विदेश पठाउँदा २५ देखि ३० हजार रुपैयाँसम्म शुल्क तिर्न बिरामीहरू बाध्य छन् ।

अब भने चाँडै सञ्चालनमा ल्याउने गरी तयारी अघि बढाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. रुणा झाले विज्ञहरूसँग छलफल गरी बन्द ल्याब सञ्चालनबारे सुझाब लिएकी छिन् । उनका अनुसार ल्याब सञ्चालन गर्न उपकरणका केही भाग मर्मत गर्नुपर्ने भएको छ ।

देशका लागि अति आवश्यक भएकाले ‘बिएसएल थ्री’ जसरी पनि चलाउनुपर्ने विज्ञहरूले सुझाब दिएका छन् । यो स्तरको ल्याब (प्रयोगशाला) स्थापना गर्ने नेपाल दक्षिण एसियामा भारतपछि दोस्रो देश हो । हाल प्रमाणित नभएका रोगको नमुना परीक्षण गर्न भारतलगायतका देश पठाउने गरिन्छ ।

‘नेपालीलाई लाग्ने, तर पत्ता लगाउन नसकेका संक्रमणजन्य रोग धेरै छन्, त्यस्ता परीक्षण हुन नसकेका रोग पत्ता लगाउन ‘बिएसएल थ्री’ अत्यन्तै आवश्यक छ,’ टेकु अस्पतालका सरुवा रोगविज्ञ डा. अनुप बास्तोलाले भने । नयाँ पत्रिका दैनिकमा खबर छ