प्रहरीले भन्यो: लामिछाने सहित ३ जनालाई पक्राउ गर्छौ - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

प्रहरीले भन्यो: लामिछाने सहित ३ जनालाई पक्राउ गर्छौ



काठमाडौं:पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएको छ ।

पुडासैनीले न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने र दीपक बोहोराका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका छन् ।

त्यस्तै, पुडासैनीले युवराज कँडेल र अस्मिता कार्कीको नामसमेत लिएका छन् । उनीहरुकै कारण आफू आत्महत्या गर्न बाध्य भएको भिडियोमा खुलासा गरेका छन् । यो भिडियोसँगै पुडासैनी आत्महत्याले गम्भीर मोड लिएको छ ।

नुवाकोट स्थायी घर भएका पत्रकार पुडासैनीले २१ साउनमा चितवनको कंगारु होटलको कोठामा झुन्डिएर आत्महत्या गरेका थिए ।

न्युज २४ टेलिभिजनका सिधा कुरा जनतासँग कार्यक्रमका लागि रिपोर्टिङ गर्दै आएका पुडासैनीले एक महिनाअघि माउन्टेन टेलिभिजनमा ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए ।

किटानी जाहेरी आए पक्राउ गर्छौंः प्रहरी

पुडासैनीलाई आत्महत्या गर्न बाध्य पार्नेलाई कारबाही हुने चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लको भनाइ छ ।

‘हामीले भिडियोबारे घटना भएदेखि नै अनुसन्धान गरिरहेका छौं । आत्महत्या गर्न बाध्य पारिएको फेला परेको छ । अब पीडित परिवारले किटानी दिए नाम लिएका माथि पक्राउ गरेर अनुसन्धान हुन्छ,’ मल्लले भने ।

यो भिडियोसँगै अब न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, दीपक बोहोरा, युवराज र नर्स अस्मिता कार्कीमाथि प्रहरीले अनुसन्धान गर्ने जनाएको छ ।