यमपञ्चकको तेश्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

यमपञ्चकको तेश्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदै



कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी यमपञ्चकको तेश्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदैछ ।

आजका दिन घर वरीपरी सरसफाई गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ । यसै विश्वासका कारण आज घर–घरमा दीपमालिकासहित दीपावली गरिन्छ ।

घरमा लक्ष्मी प्रवेश गरुन् भनी आँगन वा चोकदेखि ढुकुटीसम्म लक्ष्मीको पाइला अङ्कित गरिन्छ । यसरी अङ्कित गरिएको पाइलामा कमलको फूलको शय्या बनाइदिएमा त्यस घरलाई लक्ष्मीले कहिल्यै छोड्दिनन् भन्ने विश्वास रहेको छ ।

लक्ष्मी पूजा गरिसकेपछि मध्यरातमा महिलाले आँगनबाट भित्रसम्म दुःख, दरिद्र हटेर सुख, शान्ति भित्रियोस्, लक्ष्मी स्थीर भइरहुन् भन्ने उद्देश्यले नाङ्लो ठटाउँदै प्रवेश गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद्हरू बताउँछन् ।

“विधिअनुसार लक्ष्मी पूजा गरिसकेपछि श्रीसुक्त पाठ गरिन्छ, लक्ष्मीलाई नरिवल प्रिय लाग्ने भएकाले लक्ष्मी पूजामा जटानरिवल विशेष रूपमा चढाइन्छ, यसबाट श्रीऐश्वर्य प्राप्त हुन्छ भन्ने विश्वास छ”, उनले भने ।

आजको रात्रिलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजा गरिसकेपछि आजैदेखि देउसी भैलो खेल्ने परम्परा रहेको छ । लक्ष्मी पूजाका दिन बिहानै गाई पूजा गर्ने प्रचलन नेपालका केही भागमा भए पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजाको विधान शास्त्रमा रहेको समितिले जनाएको छ । गाई नेपालको राष्ट्रिय जनावर हो ।

आजैका दिन नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटा एक सय आठौँ जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइन्छ । १९६६ कात्तिक कृष्ण औँसी अर्थात् आजैका दिन महाकवि देवकोटाको जन्म भएको थियो । लक्ष्मी पूजाका दिन जन्मिएकाले नै उनको नाम लक्ष्मीप्रसाद राखिएको थियो ।

यस अवसरमा विभिन्न साहित्यिक संस्थाले विविध कार्यक्रमको आयोजना गरी देवकोटा जयन्ती मनाउने गर्दछन् ।